Comments Add Comment

सत्तारूढ दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेः देउवा

Sher Bahadur Deuba

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रको आवरण ओढेर सत्ता साझेदार दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाएका छन् ।

उनले प्रश्न गरे, स्थानीय निकाय पुनःसंरचना आयोगले अगामी फागुन महिनामा आफ्नो काम पूरा गर्दैछ, सरकार मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्छु भनेर फलाक्दैछ, के निर्वाचनका लागि निर्वाचन मात्र गर्ने हो कि साँच्चैको निर्वाचन ?

प्रजातान्त्रिक विचार समाजको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राष्ट्रिय सहमति कायम गरेर मात्र संविधानका प्रावधानअनुरुप तिनै तह (स्थानीय, प्रदेश र संसद्)को निर्वाचनको तिथिमिति तय गर्नुपर्ने बताए । उनले भने, ‘गत संविधानसभाको दोस्रो निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याए, जनताको यो अभिमतलाई कांग्रेसले जनचाहनाअनुरुपको संविधान जनतालाई दिई कार्यभार पूरा गरेको छ, अब पार्टी संविधान कार्यान्वयनमा लाग्नेछ ।’

कांग्रेस सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रमा अटुट विश्वास राख्ने कांग्रेस निर्वाचनदेखि नडराउने भन्दै सबैले भाग लिने वातावरण मिलाउन आवश्यक रहेकामा जोड दिए ।

प्रजातन्त्र सुदृढ र संविधान कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै सभापति देउवाले यी चुनौती समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले भने, महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्ने सरकारले पूरा हुन नसक्ने कुरा गर्दै जनतालाई रनभुलमा पारिरहेको छ ।’

कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा भन्दा कसरी सत्ता जोगिन्छ भन्ने चिन्ता र चासो सरकारमा बस्ने पार्टीहरुको रहेको बताए । उनले भने, सरकारको काम गराई हेर्दा संविधान कार्यान्वयनमा देखिँदैन, सत्तामा कसरी टाँसिरहने भन्नेमा छ ।

कांग्रेस सिद्धान्तले विजय प्राप्त गर्छ तर पार्टीले हारिरहेको हुन्छ किन ? भन्ने प्रश्न गर्दै वरिष्ठ नेता पौडेलले यसका लागि पार्टी विचार र सिद्धान्तले सञ्चालन हुनुपर्ने बताए ।

यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न नसकिने बताए ।

सभापति देउवा र नेता पौडेलले समाजका पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर दाहाल, प्रा डा जीवराज पोखरेल, प्रा डा चन्द्रलाल श्रेष्ठ, प्रा वसन्तकुमार गौतम, प्रा डा हरिबहादुर कार्की र प्रा डा भरत झालाई सम्मान गरेका छन् ।

समाजको दुईदिने अधिवेशनमा ४० जिल्लाका ३५० प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment