Comments Add Comment

बेलायती ‘डोनाल्ड ट्रम्प’ बन्लान् त नयाँ प्रधानमन्त्री ?

क्यामरनको राजीनामा घोषणासँगै नयाँ प्रधानमन्त्रीको खोजी

Boris-Johnson

१० असार, काठमाडौं । बेलायतको जनमत संग्रहमा ईयूबाट बाहिरिने पक्षले जित हात पारेपछि प्रधानमन्त्री डेविड क्यामरनले राजीनामा दिने घोषणा गरेका छन् । उनको राजीनामा घोषणासँगै नयाँ प्रधानमन्त्री को बन्ला भन्ने बहस सुरु भएको छ ।

बेलायती जनताले आफूले सोचेको भन्दा फरक बाटो रोजेको भन्दै क्यामरनले अब देशलाई त्यो बाटोमा हिँडाउन नयाँ नेतृत्व चाहिने बताएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको सम्मेलन अक्टोबरमा हुनेछ र त्यसअघि नै नयाँ प्रधानमन्त्री छान्ने सम्भावना छ ।

बेलायतमा भावी प्रधानमन्त्रीको दाबेदारका रुपमा लण्डनका पूर्वमेयर बोरिस जोनसनको नाम सबैभन्दा अगाडि आएको छ । झट्टै हेर्दा अनुहार र हाउभाउमा समेत अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प जस्तै देखिने बोरिसको आप्रवासीसम्वन्धी नीति पनि ट्रम्पको जस्तै अनुदार छ । यही कारणले उनलाई बेलायती ‘डोनाल्ड ट्रम्प’ पनि भन्ने गरिन्छ ।

गत फेब्रुअरीमा प्रधानमन्त्री क्यामरनले बेलायत ईयूमा रहने नरहनेबारे जनमत संग्रह गर्ने घोषणा गरे । उनको आंकलन थियो कि बेलायत ईयूमा रहने पक्षले सजिलै जित्छ । किनकि बेलायतको एउटा सानो पार्टी इण्डिपेन्डेन्स पार्टीका नेता नाइजेल फाराज मात्रै आफ्नो विपक्षी हुने उनले विश्लेषण गरेका थिए । तर, जनमत संग्रह घोषणा भएपछि आफ्नै पार्टीका बोरिस जोनसनले समेत बेलायत ईयूमा रहिरहनुहुँदैन भन्ने अभियानको नेतृत्व आफ्नो हातमा लिए । जोनसोनको यस्तो कदमका कारण क्यामरनको नीतिले पराजय भोग्नुपर्‍यो ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पकै झल्को दिने गरी ५२ वषर्ीय जोनसनले ईयू छोड्नुपर्छ भन्ने अभियानका दौरान बेलायतको आप्रवासी नीतिमाथि लगातार प्रहार गरे । अमेरिकामा ट्रम्पले ‘हामी चीनसँग हारिरहेका छौं, उनीहरुको हाम्रो जागिर खोसिरहेका छन्’ भन्ने सन्देश दिएका थिए । त्यसैगरी बेलायतमा जोनसनले ईयूसँगको खुला सीमाका कारण महादेशीय युरोपबाट मानिसहरु आएर बेलायतीहरुको रोजगारीको अवसर खोस्दैछन् भन्ने नारा दिए ।

जोनसनको अभियानलाई लिएर द्वेष फैलाएको भन्दै आलोचना भयो, जुन अमेरिकामा ट्रम्पको हकमा पनि लागू भएको छ ।

ईयू छाड्ने अभियानको नेतृत्व गरेका कारण जोनसन अब बेलायतको नयाँ प्रधामन्त्रीका स्वभाविक दाबेदार हुन् । तर, उनीमात्रै एक्ला उम्मेद्वार चाँहि होइनन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ पुस्ताबाट डोमेनिक राब, स्टिफन क्राब, थेरेसा मे, निकी मोर्गन र साजिद जाविदलाई पनि नयाँ प्रधानमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।

जनमत संग्रहमा डेभिड क्यामरनले भोगेजस्तै प्रधानमन्त्री छनोटमा जोनसनले पनि अनपेक्षित परिणाम नभोग्लान् भन्न सकिन्न । त्यो स्थिति आयो भने जोनसनको साटो अर्कैले बाजी मार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment