Comments Add Comment

आफैँ घर बनाउने भूकम्प पीडितलाई दुई लाख दिने सरकारको निर्णय

शुक्रबारसम्म १ लाख ५१ हजार १ सय ६४ घरधनीसँग अनुदान सम्झौता

Home

१० असार, काठमाडौं । तपाईको घर भूकम्पले भत्काएको थियो र आफैँ भूकम्प प्रतिरोधी घर बनाइसक्नुभएको छ भने तपाईलाई अब सरकारले २ लाख अनुदान दिँदैछ ।

सरकारले प्राविधिक जाँच गरेर आफैँ घर बनाउनेहरुलाई पनि अनुदान रकम दिने निर्णय गरेको हो । आफैँ घर बनाउने घरधनीले भूकम्प पीडितको रेकर्डका आधारमा सम्झौता फारम र नागरिकता लिई बैंकमा गएपछि अनुदान रकम प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणका लागि स्थानीय विकास मन्त्रालयमार्फत १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा दिइसकेको छ ।

यस्तै निजी आवास पुनर्निर्माणका लागि भूकम्प अति प्रभावित जिल्लाका विभिन्न ठाउँमा डकर्मी सम्बन्धी तालिम भइरहेको छ । अहिलेसम्म विभिन्न सरकारी एवं गैरसरकारी संस्थाबाट करिव दश हजार जनालाई डकर्मी/सिकर्मी सम्बन्धी तालिम दिइएको प्राधिकरणले जनाएको छ ।

डेढ लाख परिवारसँग अनुदान सम्झौता

सरकारले शुक्रबारसम्म (असार १०) एक लाख ५१ हजार १ सय ६४ घरधनीसँग अनुदान सम्झौता गरेको बताएको छ । पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी गराउँदै प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञावालीले आज प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर यस्तो जानकारी गराएका हुन् ।

यस्तै १ लाख ७१ हजार ६ सय ७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम वितरण गर्न बैंकका शाखाहरु समेत तोकिसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आजसम्म ५ हजार ८ सय ४१ घरधनीका लागि पहिलो किस्ता वापत २४ करोड ५९ लाख ५० लाख बैंक खातामा जम्मा भएको छ । र बाँकी घरधनीसँग पनि चाँडै अनुदान सम्झौता गरेर उनीहरुका नाममा रकम जम्मा हुने प्राधिकरणले जनाएको छ ।

यस्तै अनुदान रकम वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियनसन नेपाल तथा नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसियसनबीच समझदारी समेत भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोर्खा लगायतका जिल्लामा करिव ५ हजार घर पुनर्निर्माणको काम भइरहेको छ ।

सामूहिक आवास निर्माण

यस्तै वर्षातको समयमा भूकम्पबाट बिस्थापित परिवारलाई सुरक्षित राख्न अतिप्रभावित जिल्लाहरुमा ४६ वटा सामूहिक आवासकोे निर्माण कार्य भइरहेको छ । सामुहिक आवास निर्माणको काम नेपाली सेनाले गरिरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै पुनर्निर्माणमा प्राविधिक सल्लाह र अनुदान सम्झौतामा सहयोग पुर्‍याउन १३ सय ४६ इन्जिनियर परिचालन गरेको छ । थप ५ सय २१ सब-इन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सब-इन्जिनियरलाई पनि पुनर्निर्माणमा खटाएको प्राधिकरणले जनाएको छ ।

पुरातात्विक सम्पदा पुनर्निर्माण जारी

प्राधिकरणले पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई तिव्र पारेको जनाएको छ । रानीपोखरीको पुनर्निर्माण कार्य आगामी तिहारसम्म सम्पन्न गरिसक्ने जनाएको छ । यस्तै पाटनको मणिमण्डप, चाँगुनारायण मन्दिर, स्वयम्भूको अनन्तपुर, भक्तपुरको फसिदेग, हुनमान ढोकाको वंश गोपाल र साँखुको बज्रयोगिनी जस्ता पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण कार्य सुरु गरेको प्राधिकरणले जनाएको छ ।

थप ५१ वटा पुरातात्विक आयोजनाहरुको टेण्डर प्रक्रिया अघि बढेको जनाएको छ । यस्तै ‘मेरो धरहरा-म बनाउँछु’ भन्ने अभियानअन्तर्गत रकम संकलन भइरहेको प्राधिकरणले जनाएको छ । थप जारी रहेको ।

शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण

शैक्षिक तथा स्वास्थ्य संस्थाको पूनर्निर्माण पनि भइरहेको प्राधिकरणले जनाएको छ । विभिन्न गैरसरकारी संघसंस्थासँग मिलेर काम भइरहेको जनाएको छ ।

जाइकाको सहयोगमा ललितपुरमा पाँच वटा विद्यालय भवन निर्माण भइरहेको छ । विभिन्न जिल्लामा २७ वटा विद्यालय निर्माणका लागि टेण्डर शुरु भएको जनाएको छ । शिक्षा विभागबाट ०७२ साल मंसिरसम्म ६५२ वटा विद्यालय पुनर्निर्माणका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समझदारी भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले ३ सय ३७ वटा विद्यालय पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरुलाई स्वीकृति दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment