Comments Add Comment

“अन्तर्राष्ट्रिय आतंकवादको चपेटामा नेपाल”

बर्षौंसम्म नेपालले सैद्धान्तिकरुपमा असंलग्न परराष्ट्र नीति अंगालिरहेको छ । तर, व्यवहारिक रुपमा त्यो पालना गरिएको छैन । बाह्र बर्ष अगाडि इराकमा १२ जना नेपालीहरुको घाँटी रेटेर हत्या भैसके पछि नेपाल सरकारले पासपोर्टमा इराकको नामै उल्लेख गरेर त्यहाँ जान निषेध गर्नु बाहेक कुनै माखो मारेन ।

Ishor-Aryalत्यसको समीक्षा गरेर बदलिँदो अन्तर्राष्ट्रिय आतंकवादको ब्याख्या र त्यसमा नेपालले खेल्नुपर्ने प्रत्यक्ष परोक्ष भुमिका के हुने र त्यससंग तुलनात्मक हुने गरेर कस्तो नीति अंगीकार गर्ने भन्ने बिषयमा कुनै बहस गरिएन । नेपालीले यो कुरा बुझ्न जरुरी छ कि हामी अहिलेसम्म ब्यबहारिक रुपमा रक्षात्मक परराष्ट्र नीति अंगिकार गरिरहेका छौं तटस्थ होइन ।

अमेरिकाले इराक र अफगानिस्तानमा हमला गरेपछि क्षेत्रीय आतंकवाद अन्तर्राष्ट्रियकरण भएको हो । जब आतंकवाद अन्तर्राष्ट्रियकरण भयो, त्यसले विश्वमा भएका सबै करिब दुर्इसय देशहरुमा असर त पर्ने नै भयो ।

कतिपय देशहरुले अमेरिकाले सो कदम चालिसकेपछि आफ्नो आतंकवाद सम्बन्धी नीति नै परिवर्तन गरे, अन्तर्राष्ट्रिय सम्बन्धको पुनर्ब्याख्या गरे । उदाहरणका लागी साउदी अरेबियाले आफ्नो अध्यागमन कानुन परिवर्तन गर्यो, इजरायलसंग राम्रो सम्बन्ध बनाएका कतिपय मध्यपूर्वका देशहरुले सम्बन्धबिच्छेद गरे ।

अफगानिस्तानमा अहिलेसम्म पनि मानवरहित ड्रोनहरुबाट अमेरिकाले बम बर्षाउँछ । विश्व हाल समग्रमा दुइ भागमा विभक्त भएको छ, आतंकवादको परिभाषा खोज्ने क्रममा ।

असंलग्नताको नीतिलाई मुख्यत सामरिक नीतिसंग जोडेर हेर्नुपर्छ । विश्वमा कहिँ पनि दुइ पक्षीय द्वन्द भयो भने त्यसलाई हेर्ने दृष्टिकोण तटस्थ हुनुपर्छ भन्ने मान्यता नै असंलग्न परराष्ट्र नीति हो । नेपालले सैद्धान्तिक रुपमा यसको धेरै पहिले देखी अभ्यास गर्दै आएको छ, तर ब्यबहारिक रुपमा नेपाल जहिले पनि अमेरिका र युरोपसंग नजिक देखिँदै आएको छ ।

आतंकवादको परिभाषामा एकजुट हुन नसकेको बिश्वमा नेपाल जस्तो सानो र कमजोर मुलुकले युद्दरत पक्षहरु मध्ये कुनै एकको आँखाबाट आतंकवादलाई हेर्नु भनेको असंलग्नताको ब्यबहारिक निषेध हो ।

सिरियामा भएको बहुआयामिक द्वन्दमा त्यस्ता केही समुहहरु सामेल छन्, तिनिहरु कुनै न कुनै रुपमा रुस, टर्की, इरान र अमेरिकासंग जोडिएका छन् । ती सबै समुहहरु एकले अर्काको सफाया गर्छन् । अमेरिकाको स्वार्थमा चलेका समूहलाई रुस र इरानले आतंकवादी मान्ने गर्छन् भने कुनै समुहहरुलाई अमेरिकाले आतंकवादी मान्ने गर्दछ ।

सोझो र सही अर्थमा हेर्ने हो भने आतंकवादको परिभाषामा विश्व यहिँनेर विभाजित छ । हामिले कसको आँखाबाट हेर्ने हो भन्ने कुरा महत्वपूर्ण हो, तर जसको आँखाबाट हेरे पनि असंलग्नताको सम्मान हुनेवाला छैन । सामुहिक रुपमा एकलौटी स्वार्थका लागि अन्यलाई मार्दै हिँड्नु आतंकवाद हो ।

अफगानिस्तानमा १२ जना नेपालीमाथि गरिएको आक्रमण निकै सुनियोजित देखियो । आतंकवादीहरुले जात, राष्ट्रियता जस्ता कुराहरु हेरेर आक्रमण गर्दैनन् भनिन्छ, तर यहाँ नेपालीमाथि नै नियोजित आक्रमण भयो

पाकिस्तानका कतिपय हिजबुल्ला र मुजाहिद्दिन समुहहरुलाई भारत र अमेरिकाले आतंकवाद मान्दछ्न, भारतको हिन्दुबादी संगठनलाई पाकिस्तान लगायतका कतिपय मुस्लिम देशहरुले आतंकवाद मान्ने गर्दछन । एक्काइसौं शताब्दीको विश्व आतंकवादको चपेटामा परेर सभ्यता नै खतरामा परिरहेको बेलामा हामीले आफ्नैं आँखाबाट निस्वार्थ र निष्पक्ष मूल्यांकन गर्न चुक्यौं भने भोलिको हाम्रो सम्भावित सम्पन्नता आजै विलीन भएर जानेछ ।

अबको आउने दशक विश्वका लागि चुनौतिपूर्ण छन् । भारतमा मोदी डक्ट्रिनको उदय, अमेरिकामा ट्रम्पको सम्भावित विजय र चीनले गरिरहेको तीव्र आर्थिक विकासका आधारमा नेपालका परराष्ट्र नीतिनिर्माताहरुले सहजै बुझ्नुपर्ने कुरा के हो त भन्दा अब दुइध्रुवीय होइन त्रिध्रुवीय विश्वको उदय हुँदै छ, रुस, इरान, सिरिया, उत्तर कोरिया लगायतका देशहरुको एउटा ध्रुव बन्ने छ, अपवाद (इरान) बाहेक विश्वभरका मुस्लिमहरु अर्को ध्रुवमा उभिनेछन् अनि युरोप, अमेरिका र भारतको एउटा ध्रुव बन्ने छ । चीनले आफ्नो ध्रुवीय राजनीतिक कित्ता स्पष्ट नगरिसकेको भए पनि समाजवादी अर्थव्यवस्था र तिब्बतको मामिलामा अमेरिका लगायत अन्य देशहरुले लिएको मान्यताका कारणले उ पक्कै पनि एन्टि-अमेरिकन कित्तामा भएको कुरा स्पष्ट छ ।

हामीले २५ बर्षमा सम्पन्न हुँदैछौं भनेर सपना देख्दै गर्दा अरुको आँखाबाट बाह्य चिजहरु हेर्ने र अरुले चपाइदिएको मकैलाई सातु भनेर खाने प्रवृत्ति हाम्रो सम्पन्नतामा बाधक हुन्छ ।

अफगानिस्तानमा १२ जना नेपालीमाथि गरिएको आक्रमण निकै सुनियोजित देखियो । आतंकवादीहरुले जात, राष्ट्रियता जस्ता कुराहरु हेरेर आक्रमण गर्दैनन् भनिन्छ, तर यहाँ नेपालीमाथि नै नियोजित आक्रमण भयो । तत्काल केही गर्न सकिन्थ्यो भन्न खोजिएको होइन, तर यसप्रकारको प्रतिनिधि घटनाले नेपालको बिश्व भुमिकालाई एकपटक पुनर्परिभाषित गर्न जरुरी देखिएको छ ।

सन् २०१०मा अफगानिस्तान कै हेल्मन्ड प्रान्तमा एउटा गोर्खा सैनिकले ३० जना तालिवानीहरु मारेर वाहवाही कमाएको घटना यसको तत्कालिक कारण हुन सक्छ भने दीर्घकालीन कारण चाहिँ नेपालको विदेश नीतिको अव्यवहारिक दुरुपयोग नै हो । नेपालको प्रत्यक्ष रुपमा कुनै तालिवान या आइएससँग सम्बन्ध छैन । यो घटनाले नेपालको बाह्य सम्बन्धलाई नकारात्मक रुपमा पेश गरेको छ ।

नेपालीहरुको सुरक्षालाई ध्यानमा राखेर नेपालले आफ्नै आँखाले अन्तरदेशीय र क्षेत्रीय आतंकवादलाई हेर्नु पर्ने एउटा महत्वपूर्ण नीति अंगीकार गर्नुपर्ने आवश्यकता छ, जसको आधार भनेको ब्यबहारिक रुपमा नै असंलग्नताको कार्यान्वयन हो

करिब ४० लाख नेपालीहरु वैध र त्यतिकै मात्रामा अवैध रुपमा बिदेशमा बसिरहेका छन् । सरकारले अन्य देशहरुलाई र त्यहाँका मेजर फ्याक्टरहरुलाई हेर्ने नीतिले नेपालीहरुको सुरक्षा स्थितिमा प्रभाव पार्छ । बिश्वभर देखिएको बहुआयामिक द्वन्द र द्वन्दरत पक्षहरुसंग नेपालको ब्यबहारिक धरातलमा रहेर कायम गरिएको सम्बन्धले नेपालको दीर्घकालिन आर्थिक, सामाजिक र राजनीतिक लक्ष्यहरुलाई कुन उचाईमा उठाउने भन्ने कुराको निर्धारण गर्छ ।

विश्वमा भाइचारा जसरी नारामा मात्र भए पनि बिकेको छ त्यसै गरेर आतंकवादी गतिविधिहरुको पनि किनबेच हुन्छ । नेपालजस्तो मुलुकलाई सिधै युद्दका लागि अन्तर्राष्ट्रिय मन्चमा सामेल गर्न सम्भव नहुने भएकाले अन्य तरिका अपनाएर नेपालीहरुलाई आफ्नो पक्षमा हतियार बोकाउने बिभिन्न स्वार्थहरुको जालोबाट उम्किने खालको वैदेशिक नीति अहिलेको अपरिहार्यता हो ।

अफगानिस्तानमात्र नभई अन्य खाडी मुलुकहरुमा पनि नेपालीहरु सुरक्षाकर्मीका रुपमा छन् । अबको दशकको अन्तरदेशीय सामरिक स्थितिको हिसाब गर्ने हो भने खाडी राष्ट्रहरु प्रायजसो सबै सम्भावित युद्धमा प्रत्यक्ष भिड्ने तयारीका साथ बसेका छन् । यस्तो स्थितिमा नेपालीहरुलाई बिश्वको जुनसुकै कुनामा पनि आतंककारीहरुले आफ्नो शिकार बनाउन सक्छन् ।

इराक घटनाबाट पाठ सिकेर गर्नुपर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय नीतिको फेरबदलमा कुनै गोटी नचालिएपछि उस्तै प्रकारको अफगानिस्तान घटना भोगेको यथार्थलाई मनन गर्दै बिदेशमा श्रम गर्न गएका नेपालीहरुको सुरक्षालाई ध्यानमा राखेर नेपालले आफ्नै आँखाले अन्तरदेशीय र क्षेत्रीय आतंकवादलाई हेर्नु पर्ने एउटा महत्वपूर्ण नीति अंगीकार गर्नुपर्ने आवश्यकता छ, जसको आधार भनेको ब्यबहारिक रुपमा नै असंलग्नताको कार्यान्वयन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment