Comments Add Comment

स्टार स्ट्राइकर लेवान्डोस्की नचल्दा त जित्छ पोल्याण्ड, चले के होला ?

स्वीट्जरल्याण्ड भर्सेस पोल्याण्ड

Robert-Lewandowski

शनिबार राति ६:४५ बजे

फ्रान्समा जारी युरोपियन च्याम्पियनसीपमा भोलि शनिबारदेखि पि्र-क्वाटरफाइनल चरणका खेलहरु सुरु हुँदैछन् । सहभागी २४ टोलीबाट उत्कृष्ट १६ टोलीले प्रि-क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणको पहिलो खेल अन्तर्गत शनिबार साँझ समूह ए को उपबिजेता स्वीट्जरल्याण्ड र समूह सी को उपबिजेता पोल्याण्ड आमने सामने हुँदैंछन् । दुवै टोली फ्रान्समा यस समरमा एक अमीट छाप छोड्नका लागि उपयुक्त अवसरमा छन् ।

सेन्ट एटिनमा हुने खेलमा दुबै टोली क्वार्टरफाइनल प्रबेशका लागि जितको अभियानमा हुनेछन् जहाँ यस खेलको बिजेताले क्रोएशिया र पोर्चुगलबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पोल्याण्ड समूह सी मा उपबिजेताको रुपमा नकआउट चरणमा पुगेको हो । जहाँ उसले जर्मनीलाई गोलरहित बराबरीमा रोकेर ठूला प्रतियोगिताको लागि मनोवैज्ञानिक रुपमा बलियो रहेको प्रमाणित गरेको थियो ।

पोल्याण्डको सफलता यो अर्थमा पनि उल्लेखनीय छ की उसका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की अझै पनि प्रतियोगितामा गोलको खोजीमा छन् । पोल्याण्ड समूह चरणमा सात अंक हासिल गर्ने एउटामात्र समूह उपबिजेता हो ।

यता यसै सिजन आर्सनलसँग अनुबन्ध भएका स्वीस मिडफिल्डर ग्रानित जाका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनैको प्रदर्शनको आधारमा स्वीस टोली नकआउट चरणमा पुगेको थियो । भ्लादिमिर पेट्कोभिकको टोलीका स्टार खेलाडी जाकाले समूह चरणमा दुई गोल गरेका छन् ।

स्वीस टोलीका युवा फर्वार्ड ब्रील एम्बोलो, जसलाई म्यान्चेस्टर युनाईटेड, चेल्सी र साल्के लगायतका क्लव अनुबन्ध गर्न इच्छुक छन्, उनी पोल्याण्डबिरुद्ध पनि सुरुवाती टोलीमा पर्ने सम्भावना छ ।

यता प्रतियोगितामा गोल गर्न नसकेपनि पोलिस प्रशिक्षक एडम नावाल्काले बार्यन म्युनिखका सुपरस्टार लेवाण्डोस्कीको बचाउ गरेका छन् । पोल्याण्डका सेन्टर मिडफिल्डर बार्तोज कपुत्स्का लगातार दुई खेलका पहेँले कार्ड ब्यहोरेका कारण आजको खेल खेल्न पाउनेछैनन् । टोलीका लागि खराव समाचार यही हो ।

आर्सनलका गोलकिपर वोज्सिच सेजेज्सी नर्दन आयरल्याण्डबिरुद्धको खेलमा थाइ इन्ज्युरीका कारण अझै खेलमा फर्कन सकेका छैनन । उनलको स्थानमा लुकास फावियान्स्कीले पोल्याण्डको पोष्ट संहाल्ने निश्चित छ ।

के भन्छन् प्रशिक्षक

भ्लादिमिर पेट्रोभिक, स्वीट्जरल्याण्ड

इतिहास हाम्रो पछाडि छ तर फुटबलमा तपाईं बितेका उपलब्धिलाई बर्तमानसँग जोडेर हेर्न सक्नुहुन्न । हामी एक महत्वपूर्ण सफलताको खोजिमा छौं ।हामीले पहिलो लक्ष्य त पूरा गरिसकेका छौं । यो उल्लेखनीय उपलब्धि हो कि हामीले पहिलो चरण पार गरेका छौं । हामी राम्रो लयमा छौं र राम्रो खेल प्रदर्शन गरिरहेका छौं ।

हामीले यसअघिपनि मैत्रिपूर्ण खेलमा पोल्याण्डसँग प्रतिस्पर्धा गरिसकेका छौं । उनीहरु उत्कृष्ट छौं । उनीहरुलाई माथ दिन हाम्रो इनर्जी ‘लेभल बढाउनु’ जरुरी छ ।

एडम नावाल्का, पोल्याण्ड

हामीले स्वीट्जरल्याण्डको केहि पक्षबारे नोट गरेका छौं र त्यसैलाई टेकेर तयारी गरिरहेका छौं । उनीहरु उच्च स्तरमा रहेर खेल्छन् र यो प्रतियोगिताका उत्कृष्ट टोलीमध्येका एक हुन् । तर म आशावादी छु कि नतिजा हाम्रो पक्षमा आउनेछ, किनकि हामीलाई अगाडि जानु छ ।

हेड टु हेड नतिजालाई हेर्ने हो भने स्वीट्जरल्याण्ड र पोल्याण्ड अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा पोल्याण्ड अगाडि छ । पोल्याण्डले ४ खेल जितेको छ भने स्वीट्जरल्याण्डले १ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक सन् २०१४ मा भएको मैत्रिपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो । त्यसअघि सन् २०११ भने पोल्याण्डले ४-० ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment