Comments Add Comment

सरकारका प्रवक्ताको प्रश्नः संसद कांग्रेसको पेवा हो ?

Serdhan-Rai

११ असार, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले दलहरुबीच राष्ट्रिय सहमति बने सरकारको नेतृत्वका लागि आफूहरु खुल्ला रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा एमाले नेता समेत रहेका राईले भने, ‘यो सरकारको नेतृत्व बाहेक राष्ट्रिय सहमति हुन सक्दैन भनेर हामीले भनेका छैनौं । राष्ट्रिय सहमतिको आधार खडा गरे जसले नेतृत्व गरे पनि हुन्छ । हामी बाधक बन्दैनौं ।’

संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, निर्वाचन, समृद्धि लगायतका विषय राष्ट्रिय सहमतिको आधार हुन सक्ने भन्दै उनले यसमा सहमति भए सरकारको नेतृत्वका लागि खुल्ला भएको बताए । उनले भने, ‘कुनै मान्छेले सपना देख्दैमा, कसैलाई लोभ लाग्दैमा सरकार फेरबदल हुँदैन । मुल कुरा सहमतिको आधार हो, आधार विनाको सहमतिको अर्थ छैन ।’

भूकम्प पीडितलाई आफूहरुले थोरै किस्तामा रकम दिऔं भन्दा भन्दै कांग्रेस नेतृत्वको सरकारले चार किस्तामा रकम दिने गरी कार्यविधी बनाएको भन्दै उनले वर्तमान सरकारले त्यसलाई घटाएर तीन किस्तामा ल्याएको बताए ।

मन्त्री राईले भने, ‘संसद काग्रेसको पेवा हो र ? प्रधानमन्त्रीले संसदमार्फत जनतालाई जानकारी दिन नपाउने ? विपक्षी भएर जे मन लाग्यो त्यो विषय उठाउन मिल्दैन ।’

राष्ट्रिय समस्या समाधान गरेर चुनाव गर्नु पर्ने बेलामा नाजायज माग राखेर संसद अवरुद्ध गर्नु जिम्मेवार प्रतिपक्षको भूमिका नभएको उनले बताए । सरकारका प्रवक्ता समेत रहेका राईले भने, ‘कांग्रेसको संसदमा रचनात्मक प्रतिपक्षको भूमिका भएन । पुनर्निर्माणमा प्रधानमन्त्रीको जवाफ माग्यो, जवाफ दिन जाँदा अवरुद्ध गर्ने ?’

उनले मधेसी मोर्चाले सात बुँदे मागलाई पूर्वसर्तको रुपमा अडान राखे वार्ता हुन नसक्ने स्पष्ट पारे । संविधानलाई दराजमा राखेर वार्ता नहुने भन्दै मन्त्री राईले भने, ‘सातबुँदे माग अनुसारको संविधानको पुनर्लेखन सम्भव छैन । यो थाहाँ हुँदा हुँदै यो बुँदालाई किन पूर्व सर्तको रुपमा राख्यो ? यस्तो अडान राखुन्जेल वार्ता हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment