Comments Add Comment

बिजुली नहुँदा बझाङ जिल्ला अस्पतालमा लाखौं मूल्यका भ्याक्सिन बिग्रिए

दुई हजार बढी बालबालिका खोप लगाउन बञ्चित

१२ असार, बझाङ । झण्डै डेढ हप्तादेखि विद्युत आपूर्ति बन्द हुँदा बझाङ जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । झण्डै बीस लाख मूल्य बराबरको भ्याक्सीन बिग्रिएकाले जिल्लाका दुई हजार बढी बालबालिकाहरु खोप पाउनबाट बन्चित हुने भएका छन् ।

Bajhang
तस्वीर: निक साइमन्स इन्स्टिच्युट

‘२ देखि ८ डिग्रीको तापक्रममा राख्नुपर्ने धेरैजसो भ्याक्सिनहरु विग्रिसकेको छ,’ जिल्ला अस्पतालका  प्रमुख डा. विष्णु खतिवडाले भने, ‘यो महिना हामीले खोप सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।’

अस्पतालमा रहेको जेनेरेटरले नधान्ने भएकाले २ महिनालाई पुग्ने बिसीजी, डिपिटी, पोलीयो र दादुराका भ्याक्सिनहरु पूर्णरुपमा बिग्रिसकेको उनको भनाइ छ । गम्भिर प्रकृतिका विरामीको उपचारमा पनि समस्या भएको छ ।

सदरमुकाम लगायत  आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत प्रालिको पुनर्निर्माणको काम सुरु भएपछि विद्युत सेवा बन्द गरिएको थियो । वैकल्पिक व्यवस्थाका रुपमा जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरुलाई बिजुली उपलब्ध गराउनका लागि दुईवटा ठूलो क्षमताका जेनेरेटरहरु सञ्चालनमा ल्याइएको थियो । तर, पुनर्निर्माणको काम सकिएकाले विद्युत गृहबाटै लाइन दिने भनेर जिल्ला अस्पतालमा विद्युत आपूर्ति गर्दै आएको जेनेरेटर सुर्मादेवीले हटाएपछि यो समस्या आएको हो ।

विद्युत सुचारु गरिदिनका लागि सुर्मा देवी विद्युत प्रालि र जिल्ला प्रशासन कार्यालयमा समेत पटक-पटक सम्पर्क गरिसकेको भए पनि चासो नदिँदा समस्या थपिएको डा. खतिवडाले बताए ।

अत्यावश्यक सेवाको क्षेत्रमा यो हदसम्मको लापरवाही गर्नु गम्भीर गल्ती भएको सेवाग्राहीहरुले बताएका छन् । विद्युत अभावले जिल्ला अस्पतालको भिडियो एक्सरे, एक्सरे, नेबुलाइजेसन सेवा समेत बन्द भएको छ ।

‘दैनिक  २० जनाको हाराहारीमा अक्सिजन र बाफ दिनुपर्ने विरामीहरु आउँछन्,’ डा. खतिवडाले भने, ‘विद्युत नहुँदा उनीहरुको उपचारमा पनि समस्या भएको छ ।

विद्युत नभएपछि जिल्ला अस्पतालमा सस्तोमा उपचार पाउने विरामीले पनि महंगो शुल्क तिरेर निजी अस्पताल धाउनु परिरहेको छ ।

यता सुर्मादेवी विद्युत प्रालिले भने चार दिनदेखि मात्रै अस्पतालको लाइन काटिएको र विद्युत गृहबाट परिक्षण गर्ने क्रममा पटक-पटक विग्रने गरेकाले विद्युत उपलब्ध गराउन नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment