Comments Add Comment

गोली चल्छ, गुण्डाको राज चल्दैनः एसएसपी खनाल

चल्तीका डन सुस्ताए, टोले गुण्डा सक्रिय

Jasbanata-gurung

१२ असार, काठमाडौं । प्रहरीले विहीबार राजधानीको बिजुलीबजार नजिकै जसवन्त राईलाई तिघ्रामा दुई गोली प्रहार गरेर पक्राउ गर्‍यो । आखिर राईलाई गोली नै किन हान्नुपर्‍यो ? गोली प्रहार नगरी समातेको भए हुँदैनथ्यो ?

यस्तो प्रश्नमा अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल हतियार बोकेका गुण्डाहरुका अगाडि निरीह बन्न नसक्ने बताउँछन् । खनाल भन्छन्-‘गुण्डाका अगाडि प्रहरी नै असुरक्षित भएपछि गोली चल्छ, गुण्डाको राज चल्दैन, यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’

एसएसपी खनालले थपे- ‘जनतालाई सास्ती दिने र आतंक मच्चाउने गुण्डाहरुलाई छाडन सकिँदैन, यो हाम्रो कर्तव्य नै हो । यदि अरु पनि यस्ता गुण्डाहरु छन् भने जनताले प्रहरीलाई खबर गर्नुपर्‍यो, हामी त्यस्तालाई कारवाही गर्छौं ।’

सानो-सानो समूह बनाउने र आफ्नो टोलतिर धम्क्याउँदै लुटपाट गर्ने समूह सक्रिय हुन थालेको भन्दै खनालले तिनीहरुको विरुद्ध प्रहरी कठोर हुने बताए ।

के हो जसवन्त राईको हैसियत ?

बिहीबार चार वटा मोटर साइकलमा अन्य सहयोगीसहित हुइँकिइरहेका राईलाई बिजुलीबजार पुल नजिकै आएपछि महाशाखाको टोलीले रोक्न खोज्यो । तर, उनी रोकिएनन् । जब प्रहरीले अगाडिबाट राईको मोटरसाइकल रोक्न खोज्यो, उनले प्रहरीमाथि रडले आक्रमण गर्न खोजेको एसएसपी खनाल बताउँछन् ।

राईले जब प्रहरीमाथि नै आक्रमणको प्रयास गरे, त्यसपछि महाशाखाको टोलीले दुई गोली प्रहार गर्‍यो । तिघ्रामा दुई गोली लागेर लडेका राईलाई प्रहरीले तत्कालै अस्पताल पुर्‍यो ।

अपराध महाशाखाका डीएसपी रमेश थापाका अनुसार चोभारतिर घर भएका राईको गुण्डागर्दीको इतिहास खासै लामो छैन । उनले बाफललाई आधार इलाका बनाएर गुण्डागर्दी गर्दै आएका समीर बस्नेतको सहयोगीका रुपमा काम गरिरहेको प्रहरीको दाबी छ ।

समीरको मुख्य सहयोगीका रुपमा काम गर्ने राईले आफनै समूह बनाउने तयारी गरिरहेको प्रहरीको भनाइ छ । जसवन्तबारे डीएसपी थापा भन्छन्- ‘उनको उपस्थिति निकै आक्रामक देखिन्छ । तर, प्रहरी पनि त्यस्ता गुण्डालाई तह लगाउने उतिकै कठोर भैरहेको छ भन्ने उसलाई थाहा रहेनछ ।’

समीरको आडमा गुण्डागर्दी गर्दै आएको भनिएका राई प्रहरीको पक्राउ सूचिमा थिए । प्रहरी स्रोत भन्छ- ‘तीनवटा भन्दा बढी ज्यान मुद्दा एवं त्यतिकै संख्यामा सार्वजनिक मुद्दा खेपेर उनी प्रहरीका लागि चुनौति बन्दै आएका थिए ।

स्थानीयको गुनासो सुनेपछि कारवाही

जसवन्त राईले आतंक मच्चाएर दुख दिएको भन्दै बाफल, कलंकी र कालिमाटी क्षेत्रका स्थानीयले उनीविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका थिए । डान्सबार , रेष्टुरेन्टमा आउने र पैसा तिर्नुको सट्टा उल्टै धम्क्याउने , सीसी फुटाउने जस्ता हरकत राईले देखाएको भन्दै स्थानीयले सर्वेन्द्र खनालसमक्ष गुनासो सुनाएका थिए ।

कलंकीको तरकारी बाजारमा राईले धम्क्याएर पैसा असुल्ने र नदिएमा कुटपिट समेत गरेको स्थानीयको गुनासो थियो । एक साताअघि स्थानीयवासीले सामुहिक रुपमा अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई भेटेर राईको हरकतबारे जानकारी गराएका थिए । स्थानीयबाट जसवन्तको बेलिविस्तार सुनेका एसएसपी खनाल भन्छन्-उनीहरुको गुनासो सुन्नेवित्तिकै मेरा कन्सिरीका रौं तातिसकेका थिए ।
सोही उजुरीका आधारमा चार दिनदेखि खोजी गरेर जसवन्तलाई पक्राउ गर्न अपराध महाशाखाले अन्ततः गोली नै चलाउनुपर्ने अवस्था आयो ।

राईलाई घाइते बनाएर पक्राउ गरिएको खबर पाएलगत्तै बाफल र कलंकीतिरका स्थानीय बासिन्दा बिहीबार साँझ नै सर्वेन्द्र खनाललाई भेट्न र धन्यावाद दिन अपराध महाशाखा पुगे थिए । उनीहरुले आफूहरुलाई आतंकित बनाउने गुण्डालाई पक्राउ गरेर चयनसँग बस्न दिएको भन्दै खनाललाई धन्यवाद दिए ।

चल्तीका गुण्डा सेलाए, टोले गुण्डा जागे

बिहीबार प्रहरीको गोली लागेर घाइते भएका जसवन्त राई काठमाडौंमा खासै चल्तीका गुण्डा होइन । तर, तिनै गुण्डा असुरक्षाको कारण बनेपछि स्थानीय नागरिक प्रहरीसमक्ष पुगेका थिए ।

Sarbendra-Khanalपछिल्लो समय जसवन्त जस्तो स्थानीय स्तरमा दादागिरी देखाएर आतंक मच्चाउने समुह टोल-टोलमा सक्रिय हुन थालेको सूचना प्रहरीले पाएको छ ।

अघिल्लो दुई वर्ष चल्तीका गुण्डाहरु दिनेश अधिकारी चरी र कुमार घैंटेको प्रहरी कार्वाहीमा ज्यान गयो । यो घटनापछि काठमाडौंका चल्तीका गुण्डाहरु साइड लागेको प्रहरीको तर्क छ ।

विषेश गरेर गणेश लामा, चक्रे मिलन, चक्रेका भाइ तेजेन्द्र गुरुङ, दीपक मनाङे लगाएका पुराना व्यक्तिहरु अहिले सुस्ताएका छन् । तर, प्रहरीले उनीहरुको निगरानी गर्न भने छाडेको छैन ।

विजय गच्छदारको पार्टीको नेतासमेत रहेका गणेश लामा थाइल्याण्ड र नेपाल ओहोर-दोहोर गरिरहेका छन् भने चक्रे मिलनले अहिले पनि धम्क्याएर पैसा असुल गर्ने गरेको गुनासो आइजीपीको सचिवालयसम्म पुगेको छ । चक्रेका भाइ तेजेन्द्र मकाउतिर पुगेका छन् ।

त्यसो त कतिपयले प्रहरीलाई समेत पाल्दै आएको दाबी कतिपयको छ । स्वयम्भु क्षेत्रका गुण्डा नाइके बाघे लामा बाहिरी रुपमा केही सुस्तजस्तो देखिए पनि भित्र धन्दा चलाउन छाडेका छैनन् ।

बालुवा ठेक्काको पुरानो धन्दादेखि इचंगुनारायणमा बार्षिक ६ करोडभन्दा बढी बजेट आउने उभोक्ता समितिको अध्यक्षसमेत उनै बाघेले हडपेको प्रहरी स्रोत बताउँछ । बाघेले प्रहरी कार्वाहीको सूचनाका लागि अपराध महाशाखाकै कतिपय पुराना कर्मचारीलाई मोटै रकम बुझाउने गरेको प्रहरी स्रोत नै बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment