Comments Add Comment

नेपाली भूमी भारतमा मिसिंदै, स्थानीय प्रशासन मौन

Arra-Rever-Kapilbastu
कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनले अर्रा नदीको कटान रोक्न निर्माण गरेको तटबन्ध

१२ असार, कपिलवस्तु । कपिलवस्तुको पश्चिम पर्ने अर्रा नदीले बर्षेनी आफ्नो धार परिवर्तन गर्दा नेपाली भूमी भारतमा गाभिँदै गएको छ । नेपाल-भारत दशगजामा सीमा स्तम्भ छैन । अर्रा नदीले नै दशगजा सीमानाको काम गरेको छ ।

भारतीय सीमानासँग जोडिएको गुगौली-१ जवाबरातको जंगे पिल्लरदेखि ठाकुरापुरसम्म अर्रा नदीले बर्षेनी नेपाली जंगली क्षेत्रको भूभाग र खेतीयोग्य जमिन कटान गर्दै भारतमा मिसिँदैै आएको छ ।

अर्रा नदीमा बाढी आउद नेपाली भूमी काट्न हुँदा सयौं हेक्टर क्षेत्रफल जमीन भारतमा गाभिएको स्थानीय बताउँछन् ।

अर्रा नदीले हरेक बर्ष नेपाली भूमी कटान गर्दा गुगौली गाविस-१ मा रहेको नयाँ गाउँ नै अहिले भारतमा परेको स्थानीय ७५ वर्षीय राजाराम यादवले बताए । ‘पहिले-पहिले नयाँ गाउँका बासिन्दा भन्थे हामी पनि नेपाली हौं, तर सरकारी पक्षबाट कुनै पहल नभएपछि बाध्य भएर उनीहरु भारतीय भए,’ यादवले भने ।

अहिले पनि सो भूभाग अर्रा नदीको किनारमा छ र सो क्षेत्र भारतले आफ्नो भएको दाबी गरिरहेको छ ।
कपिलवस्तुको गुगौली, खुरीहुरीया, रामनगर, भगवानपुर गाविस अर्रा नदीको कटानमा परेका छन् । प्रत्येक बर्ष अर्रा नदीले धेरै जमीन भारतमा गाभ्दै गएको स्थानिय रामप्रकट कोरी बताउँछन् ।

नेपाल-भारत सीमानामा रहेको गौतम बुद्ध साझेदारी वनले पटक-पटक सम्बन्धित निकायलाई नेपाली भूमिबारे जानकारी गराउँदा समेत कुनै पहल नभएको ठाकुरापुर रेन्जपोष्टका सहायक वन अधिकृत मोजेलाल पटेलले बताए ।

गौतम बुद्ध साझेदारी वनले केही ठाउँमा काट्न नियन्त्रण गर्न तटबन्ध निर्माण गरे पनि अन्य ठाउँमा अर्रा नदीले कटान गर्दा नेपाली भूभाग भारतमा मिसिदै गएको वनका पूर्व अध्यक्ष डा.जहिरुल खानले बताए । ‘हरेक बर्ष कटानको अनुगमन हुन्छ तर नेपाली भुमी भारतमा गाभीदै गाएको प्रती कसैको ध्यान जाँदैन,’ उनले भने ।

थौरै खर्चमा हुने काम पनि नगरेको भन्दै स्थानीयबासी स्थानीय प्रशासनसँग रुष्ट छन् । उनीहरुले तत्काल नदी कटान नियन्त्रण गर्न र नेपाली भूमि भारततर्फ पर्न नदिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment