Comments Add Comment

संसदमा कांग्रेसको अवरोध कायमै, प्रधानमन्त्रीले बोल्न पाएनन्

सहमति खोज्न कार्यदल गठन

NC-Leaders-in-Parliyament, Photo RSS
संसद बैठकमा उठेर विरोध जनाउँदै कांग्रेसका सांसदहरु । फाइल तस्वीर: रासस

१३ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध परेको छ । लगातार संसदमा अवरोध भएपछि प्रमुख दलहरूले सहमति खोज्न कार्यदल गठन गरका छन् ।

भूकम्प प्रभावितहरुको राहत तथा पुनर्निर्माणबारे माग राख्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

सोमबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले उठाएको मागबारे जवाफ दिन खोजेका थिए ।  तर, कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्ने मौका नै दिएनन् ।

संसदको बैठक सुरुहुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले डा. रामशरण महतलाई बोल्न समय दिइन् । पूर्व अर्थमन्त्री समेत रहेका महतले भने, ‘जनताको पीडा र आँसुले घचघच्याएर यो बाध्यकारी कदम चाल्नु परेको हो ।’

अनुदानको आसमा लाखौं जनताले घर बनाउन कुरिरहेको तर, सरकारले सम्झौता नै नगरेको उनको आरोप छ । ‘घर बनाउनुहुन्छ घर बनाउनुस् भनेको भए लाखौं घर बनाइसक्थे’ उनले भने ।

कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेको थियो । तर, कांग्रेस नेतृत्वको सरकारले नै चार किस्तामा रकम दिने गरी कार्यविधि बनाएको र दातासँग समझदारी भइसकेको हालको सरकारले बताएको छ ।

कांग्रेस नेता महतले भने अर्कै सन्दर्भमा त्यो सम्झौता भएको भन्दै रि-नगोसिएसन गर्ने सम्भावना रहेको बताए । किस्ताबन्दीको कुरा रिनेगोसिएसन गर्न सरकारले तत्परता देखाउनु पर्ने भन्दै उनले भने, ‘कांग्रेससहितका दलहरुसँग वार्ता गरेर हामीले उठाएका विषय सम्बोधन गरियोस् । सरकारले अकर्मन्यता देखाउनु भएन । सही समाधान निकाल्नुपर्छ ।’

सेनाले बनाएको सामूहिक आवासमा आफ्नो कार्यकर्ताका ठेकेदारबाट सामान लिएर सेनालाई दिएको सुन्नमा आएको भन्दै उनले छानविनको माग समेत गरेका छन् । महतले बोलेपछि कांग्रेस सांसदहरु आ-आफ्नो स्थानमा उठे । सभामुख घर्तीले प्रधानमन्त्रीले यसबारे जवाफ दिन चाहेको भन्दै कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरिन् ।

सहमति खोज्न कार्यदल गठन

तर, उनीहरुले अस्वीकार गरेपछि संसद बैठक स्थगित गरेर दलहरू छलफलमा जुटे । बैठकमा सहमति खोज्न कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलमा कांग्रेसबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्ण सिटौला छन् । एमालेबाट भीम रावल र सुवास नेम्वाङ, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य छन् ।

कार्यदल स्तरमा सोमबार नै छलफल भएपनि कुनै सहमति जुटेन । कांग्रेस नेता महतले कार्यदलमा भएको छलफलमा  सहमति जुटेर शीर्ष स्तरबाट आफ्नो माग सम्बोधन भए मात्र सदनको अवरोध हट्ने बताए ।

कानुनमन्त्री अग्नि खरेलले भने कार्यदलको बैठक मंगलबार विहान ८ बजे बस्ने र कांग्रेस लचिलो भएर आउने भन्दै मंगलबार सदन चल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment