Comments Add Comment

नेपाली स्ट्राइकरहरुको प्रतिक्रियाः मेस्सीले हतार गरे

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको सन्यास घोषणाले उब्जाएको तरंग नेपालसम्म आइपुगेको छ । फुटबलप्रेमीहरुको देश नेपालमा पनि मेस्सीका फ्यान कम छैनन् ।

मेस्सीको सन्यास घोषणा विश्वभरका समर्थक जस्तै नेपालीहरुका लागि पनि अप्रत्याशीत रह्यो । धेरैले उनी फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्किउन् भन्ने कामना गरेका छन् । हामीले नेपाली फुटबलका तीन स्ट्राइकरलाई सोध्यौं, मेस्सीको सन्न्यासलाई कसरी लिनुभएको छ ? उनीहरुको जवाफ जस्ताको तस्तैः

सन्न्यास लिनुपर्ने अवस्था थिएन

नवयुग श्रेष्ठ

nawayug-shresthaमेस्सीले सन्न्यास लिएको सुन्दा मलाई अचम्म लाग्यो । यो कसैले पनि आशा गरेको थिएन । सन्यास लिनु पर्ने अवस्था पनि थिएन जस्तो लाग्छ । खेलमा हारजित भइ नै हाल्छ । उमेरले पनि उ बुढो भएको थिएन ।

कोपा अमेरिकाको फाइनलमा भएको हारलाई मेस्सीले ठूलो रुपमा लिएको देखियो । आजको फाइनलमा धेरैले अर्जेन्टिनालाई दावेदार मानेका थिए । मलाई पनि अर्जेन्टिनाले नै जित्छ होला भन्ने लागेको थियो । तर, ब्याडलक भयो । फेरि पनि मेस्सीले आफ्नो देशलाई उपाधि दिलाउन सकेनन् । विशेषगरी आफैंले पेनाल्टी मिस गरेको कुराले उसलाई दबाव महसुस भएको हुनुपर्छ ।

व्यक्तिगत रुपमा हेर्ने हो भने मेस्सीले यो प्रतियोगितामा पनि उत्कृष्ट नै खेलेको हो । उसको स्तर खस्केको छैन । तर, ‘एज अ क्याप्टेन’ आफ्नो देशलाई ठूलो प्रतियोगिताको उपाधि जिताउन चुकिरहेको छ । मेस्सीको करिअरमा यो एउटा कमजोर पक्ष हो ।

म खासगरी रोनाल्डोको फ्यान हुँ । तर, यसको अर्थ यो होइन कि मलाई मेस्सी मन पर्दैन । म रोनाल्डोपछि मेस्सीको नै फ्यान हुँ । एउटा स्ट्राइकरका रुपमा म मेस्सीलाई एकदमै सम्मान गर्छु । मेस्सीको हरेक स्किल राम्रो छ । उसको फिनिसिङ उत्कृष्ट छ । राम्रो पास निकालेर अरुलाई मौका बनाउन सक्छ । डि्रब्लिङ पनि बेजोड छ ।

मेस्सीको प्लस प्वाइन्ट भनेको ‘कुल’ स्वभाव पनि हो । धेरै फुटबल स्टारहरु सन्काहा खालका हुन्छन् । तर, मेस्सी त्यस्तो देखिएनन् । कहिले पनि एटिच्युड देखाएको थाहा छैन । मैले मेस्सीको गेम हेरेर धेरै कुरा सिक्ने प्रयास गर्छु ।

फुटबलको भगवान मेस्सी

भरत खवास

Bharat-khawasमेस्सी मलाई अति मन पर्ने प्लेयर हो । उसलाई फुटबलको भगवान मान्दा पनि हुन्छ । उसले यति चाँडै सन्न्यास लिने कुरा कल्पना गरिएको थिएन ।

 मैले मेस्सीको फुटबल पछ्याउन थालेको धेरै भयो । जहिलेबाट उ बार्सिलोनाबाट खेलेर लाइटमा आयो, त्यतिबेलादेखि नै खेल हेर्दै आएको छु । मलाई मेस्सीको हरेक स्किलहरु मन पर्छ । रिसलाई कन्ट्रोल गर्न सक्छ । कहिले पनि आवेशमा आउँदैन । हामीले मेस्सीबाट धेरै कुरा सिक्न सक्छौं ।

मेस्सीले सन्न्यास लिएको सुन्दा म पनि ‘सक्ड’ भएको छु । उसले सन्न्यास लिने बेला भइसकेको थिएन ।

धेरैपटक फाइनलमा हार्दा उसलाई डिप्रेसन भएको हुनुपर्छ । यद्यपि, मलाई विश्वास छ मेस्सीले आफ्नो सन्यास फिर्ता लिने छन् ।

मेस्सीबिनाको अर्जेन्टिना कमजोर

अनिल गुरुङ

Anil-gurungमेस्सी विश्वको वान अफ दि बेस्ट प्लेयर हो । मलाई उसको गेम औधि मनपर्छ ।

आजको फाइनलमा मेस्सीको पेनाल्टी एकदमै महत्वपूर्ण थियो । त्यो गेमको टर्निङ प्वाइन्ट हुन सक्थ्यो । तर, उसले मिस गर्‍यो । यही कारणले उसलाई धेरै प्रेसर परेको हुनुपर्छ । अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो देशलाई उपाधि दिलाउन नसकेको कुराले पनि उसलाई दबाव पर्‍यो होला ।

‘एज अ प्लेयर’ हेर्ने हो भने मेस्सी एउटा खतरनाक स्ट्राइकर हो । उसको खुट्टामा बल परेपछि गेममा रोमाञ्चकता आइहाल्छ । विपक्षी खेलाडीहरु आतंकित भइहाल्छन् । हुन पनि आफ्नो खुट्टामा बल आउनासाथ मेस्सीले खतरनाक मुभ लिन्छ । कि गोलको प्रयास गर्छ कि आफ्नो साथीलाई बल मिलाइदिन्छ ।

मेस्सीको एटिच्युड पनि मलाई एकदमै मनपर्छ । महान खेलाडी भएर पनि उसमा कुनै घमण्ड देखिँदैन । हेर्दाखेरी पनि कुल छ । अरुले फल हान्दा समेत रिस देखाउँदैन ।

मेस्सीबिनाको अर्जेन्टिना आगामी दिनमा कमजोर हुनेछ । अर्जेन्टिनाका अन्य खेलाडीहरु औसत मात्रै छन् । मेस्सीले सन्न्यास लिँदा उनीहरुको पनि मनोबल खस्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment