Comments Add Comment

मंसिरमा चुनाव गराउन छिटो कानुन बनाऊः निर्वाचन आयोग

प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

१३ असार, काठमाडौं । निर्वाचन आयोगले मंसिर महिनामा स्थानीय तहको निर्वाचन गराउन तयार रहेको भन्दै त्यसका लागि आवश्यक कानुन छिटो बनाउन सरकारलाई आग्रह गरेको छ ।

Election-Commision-of-Nepalसोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले समयमै कानून उपलब्ध भए कात्तिक अन्तिम साता निर्वाचन गर्न सकिने बताएका हुन् ।

निर्वाचनको तयारी सम्बन्धमा प्रधानमन्त्री ओलीसहित सरकारका केही मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग सोमबार बिहान छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्मासमक्ष स्थानीय तहको निर्वाचनका लागि आयोगको तयारी के छ ? भनेर प्रश्न गरेका थिए । उनले डेढ वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने अवस्थामा आयोगलाई सरकारले के-के सहयोग गर्नुपर्छ भनेर सुझावसमेत मागेको कानूनमन्त्री अग्नीप्रसाद खरेलले जानकारी दिए ।

जवाफमा आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. यादवले निर्वाचनका लागि आयोग सधैं तयारी अवस्थामा रहेको भन्दै प्रशासनिक र प्राविधिक तयारी तथा जनशक्तिको अवस्थाबारे जानकारी गराएका थिए । उनले मंसिर महिनामा स्थानीय तहको निर्वाचन गर्नका लागि सरकारले आयोगलाई स्थानीय निकायको संख्या र सीमाना सम्बन्धी प्रतिवेदन तथा स्थानीय तहको कार्यविधि सम्बन्धी ऐन भने समयमै दिनुपर्ने बताए । उनले सरकारले प्रतिवेदन र ऐन दिएको अवस्थामा आयोग कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता निर्वाचन गराउन सक्षम रहेको बताए ।

आयोगले कानून पाएको अवस्थामा निर्वाचन गराउन सकिने जवाफ दिएपछि प्रधानमन्त्री ओलीले आयोगलाई आवश्यक पर्ने कानून र अन्य स्रोतसाधन सरकारले जतिसक्दो चाँडो उपलब्ध गराउने आश्वासन दिएका थिए ।

सरकारले यसअघि नै स्थानीय तहको मंसिर, प्रादेशिक तहको अर्को वर्षको वैशाख/जेठ र संसद्को अर्को वर्षकै मंसिर महिनामा निर्वाचन गराउने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment