Comments Add Comment

भूकम्प पीडितलाई एकमुष्ट तीन लाख दिनुपर्छः प्रचण्ड

नयाँ कार्यविधि बनाउन सरकारलाई सुझाव

Prachand

१३ असार, रौतहट । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्तीमा पनि ३ लाख रुपैयाँ दिनुपर्ने बताएका छन् ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको बताउँदै प्रचण्डले नयाँ कार्यविधि बनाएर भए पनि पीडितहरुलाई भूकम्प प्रतिरोधी संरचना बनाउनका लागि आवश्यक रकम छुट्टयाउनुपर्ने बताए ।

रौतहटको चन्द्रनिगाहपुरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘भूकम्प गएलगतै हाम्रो पार्टीले पीडितहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन पाँच लाख दिनुपर्ने माग गरेको थियो । कांगे्रसले २ लाखको माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला उनीहरुसँगै सहमती गरेर पीडितलाई ३ लाख रुपैयाँ प्रदान गर्नुपर्छ ।’

‘नयाँ कार्यविधि आवश्यक’

नयाँ कार्यविधि बनाउन सरकारलाई सुझाव पनि दिए । पुरानो कार्यविधिअनुसार दाता वा अन्य निकायको कुरा बाझिने भए त्यसलाई परिवर्तन गरेर नयाँ कार्यविधि बनाउन पनि आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए ।

सरकारमा भएका पार्टीहरुसँग पनि कुराकानी भइरहेको जानकारी दिँदै उनले सम्बन्धित पक्षहरु लचिलो भएर जाने भएकाले यो विषय छिट्टै टुंगिने र संसद बैठक पनि सुचारु हुने विश्वास व्यक्त गरे ।

डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेकोबारे सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले डा. केसीको मागबारे आफूले अझै बुझिनसकेकाले तत्काल केही भन्न नमिल्ने भन्दै पन्छिए ।

मधेसी मोर्चाको मागबारे पनि संविधान संशोधन गरेर भए पनि समस्या समाधान गर्नुपर्ने तथा सहमतिका लागि दुबै पक्ष लचिलो हुनुपर्ने उनले बताए । सरकार र मधेसी मोर्चा र प्रमुख प्रतिपक्षीसहित सबैसँग आफूले गम्भीर ढंगले छलफल गरिरहेको भन्दै प्रचण्डले राजनीतिक सहमतिबाटै मधेसी, जनजाती लगायतका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्ड रौतहट क्षेत्रनम्बर ४ का माओवादी पार्टीका सांसद सत्यनारायण भगतको छोरीको बिहेमा सहभागी हुन सोमबार चन्द्रनिगाहपुर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment