Comments Add Comment

बुद्धको प्रार्थना किताबमा राखेर यसरी विदेश पुर्‍याइन्थ्यो चरेस

पाकिस्तानीको योजनामा चरेस कारोबार गर्ने २ नेपाली पक्राऊ

Saiman-and-Dhan-Bahadur-Tamang,

१३ असार, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले ३५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पुरानो घर धादिङ भए पनि बारामा बस्दै आएका साइमन तामाङ र नुवाकोट बुमङताङका धनबहादुर तामाङ नेपालबाट भारत हुँदै होल्याण्डसम्म पठाउने तयारीमा राखिएको चरेससहित पक्राउ परेका हुन् ।

साइमन र धनबहादुर नेपालमा पक्राउ परे पनि उनीहरुलाई हङकङमा बस्ने पाकिस्तानी नागरिक वाहित खानले परिचालन गरेको खुलेको छ । हङकङमा बसेर कोकिनको कारोबार गर्दै आएका वाहितले नेपालमार्फत चरेस व्यापारमा पनि हात हालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली चरेस भारत हुँदै हङकङ र थाइल्याण्डसम्म पुर्‍याउने र त्यहाँबाट होल्याण्ड पठाउन वाहितले अन्य व्यक्तिलाई परिचालन गर्ने गरेको लागुऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले बताए ।

थाइल्याण्डमा बसेर चरेस ओसार्ने साइमन उम्किन सकेनन्

एमफेटामाइन कारोबारको अभियोगमा गत वैशाखमा पक्राउ परेका पुर्ण तामाङ र सोमबार ३५ किलो चरेससहित पक्राउ परेका साइमन तामाङ नाताले दाजु-भाइ हुन् ।

एमफेटामाइनको कारोबार गरेरै काठमाडौंको टोखामा ४ तल्ले महल बनाएका पुर्णले साइमनलाई चरेस कारोबारकै लागि करिब ३ वर्ष अगाडि थाइल्याण्ड पठाएका थिए ।

तीन वर्षमा चारपटक थाइल्याण्ड पुगेका साइमनले थाइल्याण्डमै बसेर १९ पटकसम्म चरेस कारोबार गरेको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए । नेपालबाट थाइल्याण्ड जाने र थाइल्याण्डमा एमफेटामाइनको र्‍याकेट चलाएर बसेका धर्म पाखि्रनको सम्पर्कमा बसेर चरेस कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

थाइल्याण्ड बस्दा धर्मको आदेशमा एमफेटामाइन पनि बोक्ने गरेका साइमनले थाइल्याण्डमै बसेका अन्य एजेण्टसम्म सामान पुर्‍याउने काम गरेका थिए । डिआइजी चन्दका अनुसार उनले एकपटक चरेस बोकेबापत १० देखि १५ हजारसम्म थाइ भाट पाउने गरेका थिए ।

भारतीयसँग चिनजानपछि चरेस कारोबार

ब्युरोले सोमबार सार्वजनिक गरेको नुवाकोटका धनबहादुर तामाङ वैदेशिक रोजगारका लागि सन् २००५ मा कतार र सन् २००८ मा इराकसम्म पुगेका थिए ।

इराकमै बस्दा गुप्ता थरका एक भारतीय नागरिकसँग धनबहादुरको चिनजान भएको थियो । नेपाल फर्किएपछि सन् २०११ बाट तिनै गुप्ता मार्फत नेपालको चरेस भारतसम्म पुर्‍याउने धन्दामा धनबहादुर सक्रिय हुँदै आएको डिआइजी चन्द बताउँछन् ।

धनबहादुरले नेपालबाट भारत हुँदै दुईपटक नेपाली चरेस होल्याण्डसम्म पुर्‍याइसकेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

बुद्ध धर्मको प्रार्थना किताबमा राखेर चरेस कारोबार गर्ने धनबहादुरको शैली हो । उनले चरेस प्याक गर्ने बुद्ध धर्मको प्रार्थना किताब आफैंले ल्याउने र चरेस भारतसम्म पुर्‍याउने गरेको डिआइजी चन्द बताउँछन् ।

नेपाली बजारको चरेस युरोपसम्म पुर्‍याउने धन्दाका नाइके पाकिस्तानी नागरिक वाहित खान भएको प्रहरीको दाबी छ ।

यसअघि एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका चित्र तामाङ, नेत्र गुरुङ, सोमबार पक्राउ परेका साइमन तामाङ थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्ने धर्म पाखि्रनका आफन्तहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment