Comments Add Comment

यस्तो छ ११ महिना लगाएर रचिएको ‘फन्टास्टिक गीत’ को कथा

Almoda (5)झरीको मौसम । आकाश जुनसुकै बेला दर्किन सक्छ । बलेसीको धारा र बाछिटाले पुरानो दिन याद आएर मनमा रोमान्टिक भाव पैदा गरिदिन्छ । यही मौसमलाई लक्षित गर्दै अल्मोडा राना उप्रेतीले गाएको ‘फनटास्टिक’ गीत पछिल्लो समय लगातार चर्चामा छ । युट्युबमा यो गीत तीन महिनाअघि राखिएको थियो । त्यसयता १४ लाख पटकभन्दा बढी हेरिसकिएको छ ।

पानी पर्‍यो असिना झर्‍यो
दाइको रुमाल भाउजूलाई मन पर्‍यो

कुरा पानी र असिनाको भए पनि यो गीतको पृष्ठभूमि कोट्याउँदा गत वर्षको विनाशकारी भूकम्पपछिको समयमा फर्किनुपर्छ । भूकम्पपछि सिंगो देश नै शोक र निराशामा डुब्यो । सामाजिक र आर्थिक रुपमा सर्वसाधारणले लामो समय शिर उठाउन सकेनन् ।

देश नै संकटमा परेको बेला सबै क्षेत्रमा मन्दी देखियो । कृपा दृश्य रेकर्डिङ स्टुडियोमा म्युजिक प्रोड्युसरको काम गर्ने अल्मोडा पनि ३/४ महिना यत्तिकै खाली बसे । त्यो खाली समयलाई केही नयाँ गर्नतिर उनले सदुपयोग गर्न थाले । उनी सम्भिmन्छन्- ‘भूकम्पको पीडा भुल्नै नसकिने खालको थियो । तर, कहिलेसम्म पीडामै बसिरहने, अब रिफ्रेस हुनुपर्छ भन्ने सोचेर अलिक रमाइलो गीत गरौं भन्ने लाग्यो ।’ त्यसपछि उनी लागे गीतका शब्द बुन्न ।

रेकर्डिङ स्टुडियो भएकै घरमा विज्ञापन एजेन्सी चलाउँथे विधान राजभण्डारी । बसिबियाँलोमा अल्मोडाले उनीसँगै मिलेर गीतका शब्द पूरा गर्दै गए । विज्ञापनमा आम सर्वसाधारणको ध्यान तान्ने शब्द चयन गर्न खप्पिस विधानले गीतमा पनि त्यही शैली अपनाए । झट्ट दिमागमा बस्ने लाइन लेखेः

फनटास्टिक वन्डरफुल हुने थियो लाइफ
मेरो मनको तालैमा हाने तिम्ले डाइभ

Almoda (2)संयुक्त रुपमा लेखेको गीतमा अल्मोडा र विधानको फरकपन झल्किन्छ । दुवैको फ्युजन नै गीतको सफलता सुत्र भइदियो । विधानले युवा पुस्ताले प्रयोग गर्ने ‘नेपाङ्ग्रेजी’ लाई स्थान दिएका छन् भने अल्मोडाले ‘पानी पर्‍यो’ भनेर ठेट नेपालीमा लेखे । भन्छन् – ‘बोलीचालीको शब्द प्रयोग गर्दा श्रोताको मुखमा सजिलै झुन्डिँदो रैछ ।’ हुन पनि बच्चादेखि सबै उमेर समूहलाई छमछमी नचाउने गीत बनेकोमा उनी दंग छन् ।

भूकम्पको धङधङी रहँदै लेख्न सुरु गरे पनि ११ महिना लाग्यो गीतलाई अन्तिम रुप दिन । कामसँगै फुर्सदमा गफगाफ गर्दै लेखेकोले ढिलो भएको अल्मोडा सुनाउँछन् ।

गीत रेकर्ड भएपछि भिडियो बनाउने कुरा भयो । ‘कार्टुन्ज क्रिउ’बाट म्युजिक भिडियो बनाउने कुरा भए पनि उनीहरुले गर्न मानेनन् । उनले सुनाए – ‘तर हाम्रो अफिसियल भिडियो युट्युबमा आएको एक सातामै उनीहरुले त्यही गीतको कभर भिडियो निकाले । यसले आˆनै गीतसँग प्रतिस्पर्धा हुने अवस्था आयो । अर्कातिर कपीराइटको कुरो पनि निस्कियो ।’

अनुमतिविना कभर भिडियो बनाएपछि युट्युबमा ओरिजिनल गीतका दर्शक बाँडिने अवस्था आयो । यसले विवाद बढायो । कपीराइटबारे हेरिरहेको हाइलाइट्स नेपालले कार्टुन्ज क्रिउको भिडियो बन्द गरायो ।

अफिसियल भिडियो आएको कम्तीमा एक महिनापछि कभर भिडियो निकालेको भए त्यति फरक पर्दैन थियो भन्ने उनलाई लाग्छ । तर, कपीराइट विवादले गीतको चर्चामा भने फाइदा पुर्‍याउएको उनको अनुभव छ । अल्मोडाले भने- ‘त्यतिबेला युट्युबमा ४/५ लाख रहेको भ्यू एकाएक बढेर आठ/दस लाख पुग्यो ।’

उनको गीत अहिले सबैतिर बज्ने झिल्के गीत बनेको छ । युट्युबमै पनि डान्स कभरहरु निकै देखिन्छन् । अचेल कतै बिहे तथा पार्टीहरुमा जाँदा आफ्नै गीतमा मान्छेहरु नाच्दै झुमिरहेको देख्दा उनी मक्ख पर्छन् । खुसी पोख्छन्- ‘पहिले पार्टी गीतका रुपमा मोहनी लाग्ला है, तालको पानी जस्ता केही सीमित नेपाली गीत र प्रायः हिन्दी गीतहरु नै घन्किने गथ्र्यो । अहिले त्यसको ठाउँ आफ्नो गीतले पनि लिन थालेको छ ।’

बाटोघाटोमा बच्चाहरुले समेत आफ्नो गीत गुनगुनाउँदै हिँडेको सुन्दा उनले बाल मनोविज्ञानलाई पक्रेर गीत बनाउन सकेको रहेछु भन्नेमा सन्तोष लाग्छ ।

Almoda (4)यो गीत बनाउँदै गर्दा नजिकका मान्छे र संगीत क्षेत्रकै अग्रजहरुले पनि यस्तो चुट्के पाराको हल्का गीत के गर्न लागेको भनेर निकै रोकटोक गरेको उनी सम्झिन्छन् । ‘हामीकहाँ केही नयाँ कुरा गर्न लाग्यो कि हौसला बढाउने कुरै हुँदैन,’ समाजको प्रवृत्तिबारे टिप्पणी गर्छन् उनी- ‘यसो नगर, त्यसो नगर भनेर सीमामा राख्ने चलन छ ।’ तर, गीत चलेपछि राम्रै गरेको रैछ भनेर तिनै मान्छेबाट तारिफ पाएको उनले सुनाए ।

अल्मोडालाई कुनै खास मौसम, प्रकृति, चाडपर्वसँग जोडिएको कुरा गर्न मजा लाग्दो रैछ । यो पालि झरीसम्बन्धी गीत ल्याएका उनले दुई वर्षअघि तिहारको बेला गायिका अक्षतासँग ‘देउसी रे’ गीत फिचर गरे । यसका साथै पुराना गीतहरुको कभर गीतबाट उनले पुराना सिर्जना संगीतप्रेमीमाझ ब्यूँताउँदै आˆनो गायकी क्षमता पनि चिनाइरहेका छन् । ‘बोल बोल पाखाहरु’, ‘जून त लाग्यो ताराले’ जस्ता गीतहरुको कभर गाएर युट्युबमा राखेसँगै श्रोताको माया पाउने क्रम जारी छ ।

फनटास्टिकको चर्चा र लोकपि्रयतासँगै अल्मोडाको व्यस्तता पछिल्लो समय बढेको छ । उनीबाट काम गराउन चाहनेहरुको संख्या थपिंदो छ । बजारमा जस्तो गीत चल्यो, त्यही लहर पछ्याउनेहरु थुप्रै हुन्छन् । फनटास्टिकको प्रभाव पनि यस्तै भयो । त्यस्तै गीत बनाउनुपर्छ है भन्दै आउनेहरुको संख्या धेरै रहेको उनले सुनाए । केही रमाइला गीत पनि लाइनमा छन् । प्रदीप भट्टराईको ‘जात्रा’ फिल्मको गीत कम्पोज गर्दै छन् । डेढ वर्षअघि ‘जंगे’ फिल्मका लागि तीनवटा गीत बनाएका थिए । स्टुडियोमा म्युजिक प्रोड्युसरको मुख्य काम पनि सँगै दौडाउनु छँदै छ ।

अल्मोडा यतिबेला संगीतको रेसमा छन् । तर, उनलाई हतारमा दगुर्नु छैन । मनले खाने संगीत गर्दै नेपाली संगीतलाई केही गुदी कुरा दिने उनको सोच छ ।

फनटास्टिक गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment