Comments Add Comment

साविक बिजेता स्पेन युरोकपबाट बाहिरियो

Italy-Football

चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलको प्रि-क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २-० गोलले हराउँदै गत संस्करणको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ । सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४-० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।

स्पेनविरुद्ध इटालीका डिफेण्डर जरेजियो चेलिनीले गोलको खाता खोलेका हुन् । ३३औं मिनेटमा एडर मार्टिनको फ्रि-किक प्रहार रोकेपनि स्पेनिस किपर डेभिड डि गायले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियामा रहेका चेलिनीले सहजै बललाई जालीचुमाएका थिए ।

खेलमा नियमितपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २-० को जित सुनिश्चित गराए । डिफेन्सिभ कमजोरीले स्पेनले दोस्रो गोल खान पुगेको थियो ।

इटलीले क्वाटरफाइनलमा विश्वबिजेता जर्मनीको सामना गर्नेछ । जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

यता खेलअवधिभर स्पेनले कुनैपनि खतरनाक आक्रमण बुन्न सकेन । दोस्रो हाफको मध्यतिर आन्द्रेस इनिएष्टा र जेरार्ड पिक्युको शशक्त प्रहार इटलीयन भेट्रान गोलकिपर बुफोनले बिफल पारेका थिए ।

पछल्लो १० बर्षमा दुई युरोकप र एक विश्वकप गरी ३ ठूला उपाधि जितेको स्पेन गत संस्करणको विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो । धेरैले स्पेनको मौलिक खेलशैली ‘टिकीटाका’ को समय सकिएको टिप्पणी गरेका छन् । इटलीबिरुद्धको खेलमा स्पेनको रक्षापंक्ति कमजोर देखिएको थियो भने स्ट्राइकरहरुको प्रदर्शनपनि सन्तोषजनक थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment