Comments Add Comment

अरू देशका सेना जान नमानेको ठाउँमा नेपाली गएर उत्कृष्टता प्रदर्शन

शान्ति मिसनमा थपिँदै नेपाली सैनिक

Army१४ असार, काठमाडौं ।  संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन् । इन्जिनियर्स, सैनिक प्रहरीलगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन् ।

थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ । मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्नेछन् ।

राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जाँदै छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन् । त्यहाँ ६४ सैनिक पठाउने तयारी छ । सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन् । त्यहााँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत छ ।

संयुक्त राष्ट्रसंघले एक बटालियनस्तरको अर्थात् आठ सय ५० सैनिक रहने फौजलाई तयारी हालतमा राख्न भनेको छ । यसलाई सेनाले ‘र्‍यापिड डिप्लोइड बटालियन’ भनेको छ ।

यसबाहेक एक सय ५० जनाको विशेष फोर्सका सैनिकलाई पनि तयारी हालतमा राख्न भनिएको छ । ‘उनीहरू जानका लागि तयारी हालतमा छन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘राष्ट्रसंघले पठाउनु भनेपछि जाने अवस्थामा नेपाली सैनिक छन् ।’ शान्ति मिसनमा नेपाली सेनाको विश्वसनीयता बढेको पनि कार्कीले बताए ।

‘नेपाली सेनाको विश्वसनीयता झन् बढेको छ, हामीले कहिल्यै पनि रोकेनौँ,’ उनले भने, ‘आर्थिक रूपमा सेना र देश नै लाभान्वित भएको छ । हाल नेपाली सेना मिसनहरूको अतिसंवेदनशील ठाउँमा छन् । लेबनान र कंगोमा अरू सैनिक जान नमानेको ठाउँमा नेपाली गएर उत्कृष्टता प्रदर्शन गरेका छन् ।’

अहिले १५ वटा शान्ति स्थापक मिसनमा जम्मा चार हजार तीन सय ६१ सैनिक कार्यरत छन् । यीमध्ये महिला ९८, फौज चार हजार दुई सय सात, सैनिक पर्यवेक्षक ५६ र स्टाफ अधिकृत ९८ छन् ।

अब एक हजार तीन सय २७ सैनिक थपिँदा शान्ति स्थापक सेनामा जाने संख्या पाँच हजार ६ सय ८८ पुग्नेछ । यसअघि नेपालले पाँच हजार सैनिक पठाउने निर्णय गरेकोमा यसपटक संख्या बढाएको छ । सरकारले सेनाको कुल संख्याको दश प्रतिशत जनशक्ति शान्ति स्थापनाका लागि पठाउने निर्णय गरेको छ ।

सेनाको कुल दरबन्दी ९६ हजार नौ सय २४ छ । सरकारले कुल सेनाको दश प्रतिशत अर्थात् नौ हजार ६ सय सैनिक पठाउन नेपालले प्रतिबद्धता जनाएको छ ।

१९५८ मा ५ पर्यवेक्षकबाट लेबनानस्थित शान्ति स्थापक सेनामा सहभागिता सुरु गरेको नेपालले हाल ५६ पर्यवेक्षक खटाएको छ । यीमध्ये कंगोमा १४ तथा दक्षिण सुडान र सुडानमा ११–११ पर्यवेक्षक कार्यरत छन् । शान्ति मिसनमा हालसम्म एक लाख ११ हजार तीन सय ९९ जनाले विभिन्न ओहोदामा रहेर काम गरेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए । अहिलेसम्म ६३ सैनिक मारिएका छन्, ५९ जना घाइते छन् ।

नेपाली सेना शान्ति मिसनमा योगदानकर्ता देशको छैटौँ स्थानमा छ । मिसनमा हालसम्म आठ सय ७० जना महिला सैनिक सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment