Comments Add Comment

उनको प्रेम आज पनि चिसो झरनाजस्तै ताजा लाग्छ

अर्को सन्तानको रहर थियो, यत्तिकै भयो

Sunil kumar and jharana thapa (2)

मैले पहिलो हेराइमै झरना थापा (नायिका) लाई मन पराएको हुँ । किन मन पराएँ, थाहा छैन । बस् मन पराएँ । ‘लभ एट फर्स्ट साइट’ भनेको यस्तै होला ।

यो २२ वर्ष पुरानो कथा हो । उनी पिके क्याम्पसमा आइए पढ्थिइन् । म साथीहरुको लहैलहैमा फिल्म निर्माता बन्न तम्सेको थिएँ । मेरो ब्यानरमा बन्न लागेको फिल्मका लागि हामी हिरोइन खोज्दै थियौं । ‘पिके क्याम्पसमा एउटी च्वाँक केटी छ’ भन्ने खबर कतैबाट हामीसम्म आइपुग्यो । उनको नाम झरना रहेछ । कति राम्रो नाम !

म, मेरो साथी उज्ववल पौडेल र निर्देशक रेशराज आचार्य उक्त च्वाँक केटीलाई हेर्न पिके पुग्यौं । उनी क्याम्पसमा थिइनन् । त्यहाँ नजिकै एउटा डान्स इन्स्टिच्युट रहेछ । उनी त्यहाँ केटाकेटीलाई डान्स सिकाउँदिरहिछन् । हामी त्यहीँ पुग्यौं । हामी पुग्दा उनी कम्मर मर्काइमर्काइ नाचिरहेकी थिइन् ।

हो, त्यहीँ हो मैले उनलाई पहिलोपटक देखेको । साँच्चै च्वाँक थिइन् । म पहिलो हेराईमै फिदा भएँ । उज्ज्वल र रेशराजले उनीसँग कुरा गर्न थाल्नुभयो । म अलि वर बसेर उनलाई हेरिरहेँ । एकोहोरो हेरिरहेँ । एक छिनका लागि नशामा लठ्ठीए झैं भएँ । उनले भने मलाई बाल दिएकी थिइनन् ।

उज्ववल र रेशराज दाइले झरनालाई फिल्म खेल्ने प्रस्ताव राख्नुभयो । उनले आनाकानी गरिन् । अलि कर गरेपछि ‘मेरो परिवारसँग कुरा गर्नुस्’ भन्ने जवाफ दिइन् । परिवारलाई अर्को दिन भेट्ने भनेर हामी छुट्टियौं । म उनीसँग एक शब्द पनि बोलिनँ । फर्किँदाखेरी मैले फेरि एकपटक उनलाई फर्केर हेरेँ । उनी कम्मर मर्काउन थालिसकेकी थिइन् ।

‘केटी त च्वाँक रहिछ नि,’ बाटोमा मैले उज्ज्वललाई भनेँ ।

‘चक्कर चलाउने हो त ?’ उज्ज्वलले यसो भन्दा मलाई चक्कर लागे झैं भयो ।

त्यो दिनभरी मेरो मानसपटलमा उनी छाइरहिन् । राति सिरानी च्यापेर झरनालाई सम्झिएँ । उनलाई आफ्नो फिल्मको हिरोइन बनाउनेभन्दा आफ्नो बनाउनेतर्फ मेरो सोचाइ बग्न थाल्यो ।

पीके अगाडि धर्ना

भोलिपल्ट हामी उनको परिवारलाई भेट्न पुग्यौं, कलाकार रमा थपलियाको घरमा । काम विशेषले उनी आफ्नो मामासँग त्यहाँ आएकी थिइन् । हामीलाई त्यहीँ भेट्न बोलाएपछि गयौं ।

उज्ववल र रेश दाइले झरना र उनका मामासँग गफ गर्नुभयो । म भने उनलाई हेरेर बसेँ । फेरि पनि म लठ्ठीएँ । फेरि पनि उनले मलाई बाल दिइनन् । र, फेरि पनि पनि मेरो उनीसँग बोलचाल भएन । हामी फर्कियौं ।

झरनाले फिल्ममा डेब्यु गर्ने लगभग तय भयो । तर, पछि गएर हामीले त्यो प्रोजेक्ट नै रद्द गर्‍यौं । विभिन्न कारणले फिल्म बनेन । तर, मलाई फिल्मको चस्का भने राम्रैसँग पस्यो ।

म गाडीको व्यवसाय गर्थेँ । मसँग थरीथरीका गाडी हुन्थे । आफुकहाँ भएका गाडी फेरि-फेरि चढ्ने गर्थेँ । म झरनालाई हेर्न गाडी लिएर पिके क्याम्पस धाउन थालेँ । गाडी पार्क गरेर उनी ओहोर दोहोर गर्ने ठाउँमा उभिन्थे । उनी साथीहरुसँग हिँड्थिन् । बाटो छेउ रहेको पसलमा तितौरा खान्थिन् । म उनलाई हेरेर एक छिन लठ्ठीन्थेँ र फर्किन्थेँ ।

एक दिन म गाडीबाट ओर्लेर तितौरा पसलमा बसेँ । उनी त्यहाँ आइन् । अचानक भेट भएको झैं गरी मैले सोधेँ, ‘के छ ? मलाई चिन्यौं ?’ उनले सम्झिइन् । यसरी हाम्रो बोलचाल सुरु भयो । म पीके क्याम्पस अगाडि ढुक्ने र उनलाई भेटेर गफ दिने गर्न थालेँ । उनका साथीहरुसँग पनि चिनजान भयो । म उनीहरु सबैलाई गाडीमा हालेर घुमाउन थालेँ । मैले झरनालाई मन पराउँछु भन्ने सबैले गेस गरिसकेका थिए ।

त्यतिबेला मोबाइल आएको थिएन । उनी मलाई क्याम्पसको युनियनबाट कहिलेकाहीँ फोन गर्थिन् । एकपटक म कामविशेषले बिराटनगर पुगेको थिएँ । उनले फोन गरिन् ।

‘दाइ, तपार्इलाई त मेरो साथीले कस्तो मन पराउँछे नि,’ उनले भनिन् ।

‘तर म त तिमीलाई मन पराउँछु,’ मैले भनिदिएँ । उनले झ्याप्पै फोन राखिन् । मैले कलब्याक गर्न खोज्दा फोन उठेन ।

खासले मेरो मन चोर्न खोजेकी रहिछन् । उनले खोजेजस्तै मैले आफ्नो प्रेमको स्वीकारोक्ति दिएँ । त्यसपछि हाम्रो अफेयर सुरु भयो । अफेयर चलेको तीन महिनामा बिहे नै भयो । तर, बिहे त्यति सजिलोसँग भएको थिएन ।

झरनालाई माग्न गोलचक्कर

Sunil kumar and jharana thapa (3)

झरना सानै थिइन्, केवल १६ वर्षकी । म पनि २२ वर्षको मात्रै थिएँ । तर, भाइले बिहे गरिसकेकाले मलाई पनि बिहे गर्न हतार थियो । एक दिन मैले झरनासँग बिहेको कुरा गरेँ ।

झरनाको घर प्युठान थियो । काठमाडौंको सिफलमा आमा र बहिनीसँग बस्दिरहिछन् । उनको बुवा र भाइ बुटबलमा बस्नुहुँदो रहेछ । झरनाले आफ्नो घरमा आएर आमासँग कुरा गर्न भनिन् ।

मैले घरमा बुवालाई आग्रह गरेँ । तर, बुवाले ‘आफैं कुरा गर’ भन्नुभो । त्यसपछि म उज्ज्वललाई लिएर उनको घरमा पुगेँ । आमासँग कुरा भयो । उहाँले प्रष्ट जवाफ दिन सक्नुभएन । ‘बाँसबारीमा मेरो दाइ हुनुहुन्छ, उहाँसँग कुरा गर्नुस्’ भन्नुभयो ।

उहाँका दाइ सेनाको मेजर हुनुहुँदो रहेछ । उहाँलाई भेट्न उज्ज्वललाई लिएर बाँसबारी पुगेँ । उहाँले पनि प्रष्ट जवाफ दिन सक्नुभएन । उहाँले भन्नुभयो, ‘म परिवारको मान्छे परिनँ । झरनाका सानोबुवा सिफलमा हुनुहुन्छ, उहाँलाई भेट्दा फलदायी होला ।’

त्यसपछि उज्वललाई लिएर म सिफल पुगेँ । उहाँले पनि कुनै जवाफ दिन सक्नुभएन । ‘मैले भनेर हुँदैन, कुरा त उसको बुवाआमासँगै गर्नुपर्छ’ भनेर फर्काउनुभयो ।
त्यसको केही दिनमा झरनाका बुवा काठमाडौं आउनुभयो ।

सबैजनाले मेरो विषयमा कुरा निकाल्दा उहाँले मलाई छोरी दिन ठाडै इन्कार गर्नुभएछ । ‘पहिलो कुरा त छोरी सानै छे, दोस्रो कुरा मेरी छोरीको बिहे त आर्मीसँग हुन्छ,’ उहाँले यस्तो जवाफ दिनुभएछ । झरनाका सानोबुवा, मामा हजुरबुवा सबै आर्मीको जागिरे हुनुहुँदोरहेछ । झरनालाई पनि एउटा आर्मी केटाको कुरा आएको रहेछ । त्यसैले बुवाले मेरो नामै सुन्न चाहनुभएन ।

अनि भागी बिहे

मागी बिहे गर्ने भगिरथ प्रयास असफल भएपछि हामीले भागी बिहे गर्नुपर्ने भयो । झरनालाई कन्भिन्स गरेँ । र, एक दिन भगाएँ ।

भगाएर आफ्नो सानोममीको घरमा लगेँ । त्यहाँ सारा बन्दोबस्त मिलाएँ । बिहेका सामानहरु किनेँ । भोलिपल्ट दुलही बनाएर गुहेश्वरी लगेँ र बिहे गरेँ । बिहेमा उनकी बहिनी पनि आइन् । मेरो पट्टीबाट ३/४ जना हुनुहुन्थ्यो ।

बिहे गरेर घरमा भित्र्याइयो । उनका बुबाआमा हामीसँग रिसाउनुभयो । तीन महिनासम्म सम्पर्क भएन । एकदिन झरनाले आमाको साह्रै याद आयो भनिन् । मैले आमालाई गएर भेट्न सुझाव दिएँ । आफैंले गाडीमा लिएर गएँ । उनी घरमा पसिन् । म गाडीमै बसेँ । एकछिनमा आमा मलाई बोलाउन आउनुभो । त्यसपछि म पनि घरमा गएँ । हामी दुबैलाई ससम्मान टीका लगाइदिएर घरमा भित्र्याउनुभो । त्यसपछि सम्वन्ध सुमधुर भयो ।

बिहे गरेको ११ महिनामा नै छोरी जन्मिइन् । यति चाँडै बच्चा जन्माउने हाम्रो प्लानिङ थिएन । झरनाको आमा बन्ने उमेर पनि भएको थिएन । तर, असावधानीले गर्दा गर्भ बस्यो । त्यसपछि अर्को विकल्पमा जान मन लागेन ।

बाबुबन्दा मेरो उमेर अल्लारे नै थियो । ममा कुनै जिम्मेवारीबोध थिएन । झरना पनि त्यस्तै । बच्चाको सबै स्याहार सुसार आमाबुवाले गर्नुहुन्थ्यो । झरना क्याम्पस पढ्न जान्थिन् । म पनि काममै व्यस्त हुन्थेँ । बिहान-बेलुकी यसो खेलाउनेबाहेक हामी दुबैले छोरीलाई टाइम दिएनौं ।

धर्मसंकटले ल्यायो आर्थिक संकट

Sunil kumar and jharana thapa (1)बिहेको डेढ वर्षपछि म फेरि फिल्म बनाउन भनेर तातेँ । रेश दाइकै निर्देशनमा धर्मसंकट फिल्म बनाउन सुरु गरियो ।

यसमा नायिका विपना थापा र जल शाह थिए । तर, सुटिङको अघिल्लो दिन आएर जल शाहले धोका दिइन् । उनले भ्याउँदिन भनेपछि अर्को नायिका खोज्नुपर्ने भयो । यत्तिकैमा नृत्य निर्देशक बसन्त श्रेष्ठले भन्नुभयो, ‘झरनालाई नै खेलाऔं न ।’

शुरुमा त मैले ठाडै अस्वीकार गरेँ । आमा भइसकेकी झरनालाई कसरी फिल्ममा नायिका बनाउने ? त्यसमाथि छोरी भर्खर डेढ वर्षकी भएकी थिइन् । तर, बसन्त दाइले निकै जोड गर्नुभयो । ‘झरनामा क्षमता छ, उनले सक्छिन्,’ उहाँलेे भन्नुभयो, ‘रोल पनि त लामो छैन । एउटा गीत र चारवटा सीन त हो नि ।’

अन्ततः म राजी भएँ । झरना पनि फिल्म खेल्न पाउँदा मख्ख परिन् । बिचरी उनलाई भित्रभित्रै फिल्म खेल्न रहर लागिरहेको रहेछ । दुधे बच्चालाई घरमा छोडेर हामी दुवै सुटिङमा हिँड्न थाल्यौं । धर्मसंकट फिल्म बनाउन मलाई निकै गाह्रो भयो । शिव श्रेष्ठ र राजेश हमाल दुई सुपरस्टारलाई लिएको थिएँ । उहाँहरु दुबैको टाइम सेड्युल मिलाउन गाह्रो पर्‍यो । सुटिङ सक्नै ६-७ महिना लाग्यो । फिल्मको बजेट पनि आकाशियो ।

फिल्म नचलेको होइन, चलेको हो । तर, मेरा हातमा १६-१७ लाख मात्रै पर्‍यो । करिब ६० लाख घाटा व्यहोरेँ ।  धर्मसंकट फिल्मले मलाई लगभग सडकमा ल्याइदियो । फिल्म बनाउने क्रममा बजेट बढ्दै गएपछि मैले आफूसँग भएका गाडी सबै बिक्री गरिदिएको थिएँ । अब न व्यवसाय छ, न हातमा पैसा । छोरीलाई बिस्कुट खुवाउनसमेत पैसा नहुने अवस्था आयो । त्यसपछि पहिलो फिल्ममा डुबेको पैसा उठाउने उद्देश्यले लागेँ दोस्रो फिल्म निर्माणमा ।

धर्मसंकटबाट आएको १६-१७ लाख र अलिकति ऋण-धन गरेर गोर्खाली बनाउन सुरु गरेँ । श्रीकृष्ण श्रेष्ठलाई हिरो र झरनालाई हिरोइन बनाएँ । यो फिल्म सानो बजेटमा तयार भयो ।

गोर्खालीले मलाई उकास्यो । ३०-३५ लाख नाफा निकालेँ । यो फिल्मको सफलताले मलाई निर्माताको रुपमा र झरनालाई हिरोइनका रुपमा स्थापित गरायो ।गोर्खालीको सफलतापछि झरनालाई बाहिरबाट लगातार अफरहरु आउन थाले । तर, बाहिरी ब्यानरका फिल्ममा उनलाई काम गराउने मेरो ध्येय थिएन । जति खेल्छिन्, आफ्नै फिल्ममा खेल्छिन् भन्ने मनसाय थियो । त्यसैले आएका अफरहरु उनले अस्वीकार गरिन् ।

यसैबीचमा मेरो पहिलेदेखिको साथी उज्वलले आफैं फिल्म बनाउने भयो । आफ्नो फिल्ममा झरनालाई नायिका बनाउन उसले मसँग प्रस्ताव राख्यो । मैले नाइँ भन्नै सकिनँ । यसरी पहिलोपटक उनले बाहिरी ब्यानरका फिल्ममा काम गरिन् ।

जीवनसाथीमा उनले गरेको अभिनयको धेरैले तारिफ गर्नुभयो । उनलाई अभिनयमै सक्रिय गराउन धेरै जनाको सुझाव पाएँ । तैपनि म तयार थिइँन । यत्तिकैमा एक दिन निर्देशक शिव रेग्मी एउटा फिल्मको स्क्रिप्ट लिएर मकहाँ आउनुभयो । स्क्रिप्ट मलाई खुबै मन पर्‍यो र त्यसमा फिल्म बनाउन तयार भएँ । नायिका झरनालाई नै लिएँ । फिल्म थियो ए मेरो हजुर ।

फिल्म निकै राम्रो बन्यो । तर, मेरो दुर्भाग्य, फिल्म रिलिज हुनेबेलामा संकटकाल लाग्यो । धेरै हलहरु बन्द भए । भएका हलहरुमा पनि एक-दुई शो मात्रै फिल्म चल्न थाले । थुप्रै फिल्महरु डब्बा भए । मैले भने त्यस्तो प्रतिकुलतामा पनि लगानी उठाएँ । यो फिल्मबाट म हिट निर्देशक र झरना हिट नायिकामा दरिइन् ।

०५३ सालमा खेलेको धर्मसंकटदेखि ०५७ सालमा रिलिज भएको ए मेरो हजुरसम्म आइपुग्दा झरनाले चारवटा मात्रै फिल्म खेलेकी थिइन् । अफरहरु धेरै आए पनि मैले नै उनलाई रोकेको थिएँ । तर, ए मेरो हजुरपछि त उनलाई रोक्ने अवस्था नै रहेन । त्यसपछि बाहिरका फिल्ममा पनि उनलाई खुला छोडिदिएँ । एकपछि अर्को फिल्म गर्दै सफलताको सिँढी उक्लिदै गइन् । एकताका सर्वाधिक व्यस्त नायिकाहरुमा उनको नाम अगाडि आउँथ्यो ।

झरना फिल्ममा, म घरमा

हाम्रो परिवारमा ०५८ सालतिर अंशबण्डा भयो । म छुट्टएिर श्रीमती र छोरीका साथ चाबहिलमा बस्न थालेँ । संयुक्त परिवारमा बस्दासम्म ममाथि कुनै जिम्मेवारी र दबाव थिएन । घर व्यवहारको काम केही पनि छुनुपर्दैनथ्यो । मैले छोरीको सिँगानधरी पुछ्नुपर्थेन ।

छुट्टएिपछि एकाएक सम्पूर्ण पारिवारिक जिम्मेवार आइपर्‍यो । झरना फिल्ममा व्यस्त भइसकेकी थिइन् । उनी कुनबेला कहाँ पुगेकी हुन्थिन् टुंगो थिएन । छोरीको सम्पूर्ण हेरचाह मैले गर्नुपर्‍यो । खुवाउने पियाउनेदेखि स्कुल पठाउनेसम्म सबै मैले गर्थेँ । १० वर्षकी भएपछि उनलाई होस्टेल राखिदिएँ । अहिले उनी इन्डियामा ब्याचलर पढ्दैछिन् ।

अर्को सन्तानको चाह

हाम्रो पहिलो सन्तान अनपेक्षित रुपमा भएको थियो । त्यतिबेला दुवै जना अपरिपक्व थियौं । त्यतिबेला न मैले एउटा पिता हुनुको आनन्द वोध गरेँ, न उनले आमा हुनुको ।

जब उमेर छिप्पिँदै गयो, अर्को सन्तानको चाह बढ्न थाल्यो । हामीले सोच्न थाल्यौं, अर्को सन्तान नभए भोलि हाम्री छोरी एक्ली पर्छिन् । उनले दुःखसुख सेयर गर्ने पनि कोही हुँदैन । आज हाम्रा दाजुभाइ दिदीबहिनी छन् र त परेका बेला सपोर्ट हुन्छ । चाडबाडमा रमाइलो हुन्छ । छोरीलाई पनि एउटा भाइ वा बहिनी दिनुपर्छ भन्ने दुबै जनालाई लागिरह्यो ।

तर, झरना आफ्नो करिअरको ‘पिक’मा थिइन् । त्यतिबेला छोरी जन्माउँदा उनको करिअरमा धक्का लाग्न सक्थ्यो र फेरि माथि उठ्न गाह्रो पथ्र्यो । त्यसैले हामीले अर्को सन्तानको योजनालाई पछि धकेल्दै गयौं । छोरी ठूली हुँदै गइन् ।

जब झरना अलिकति फुर्सदिली भइन्, छोरी निकै ठुली भइसकेकी थिइन् । छोरी यत्री भइसक्दा अर्को सन्तान पाउन उचित लागेन । त्यसैले अर्को सन्तानको चाहलाई हामीले मनमनै मार्‍यौं ।

निर्देशनमा उतार्दैछु

हामीले बनाएको पछिल्लो फिल्म ‘फेसबुक’ फ्लप भयो । अहिले फेरि नयाँ फिल्म बनाउन अघि सरेको छु । यो ‘ए मेरो हजुर’को सिक्वेलका रुपमा बन्दैछ । यसै फिल्मबाट झरनालाई निर्देशकका रुपमा लञ्च गरेको छु ।

यो मेरो ‘लङ टर्म प्लान’ अन्तरगत हो । मैले उनलाई अब अभिनय छोडेर निर्देशनतर्फ मात्रै केन्द्रित हुन भनिरहेको छु । धेरै साथीहरुले मलाई सोध्छन्, ‘बुढीलाई अरु केटाहरुले बोकेको र म्वाइ खाएको देख्दा तँलाई औडाहा हुँदैन ?’ वास्तवमा मलाई त्यस्तो केही हुँदैन, किनकि मैले फिल्म इन्डष्ट्रीलाई बुझेको छु । अभिनय के हो भन्ने जानेको छु । मन फराकिलो बनाएको छु ।

झरनाले आजसम्म कुनै पनि फिल्ममा आपत्तिजनक सीन दिएकी छैनन् । अंगप्रदर्शन गरेकी छैनन् । उनी आफ्नो सीमाभित्र छिन् । कुनै पनि फिल्मको अफर आउँदा उनी मसँग छलफल गर्छिन् । म उनले ‘सोभर’ टाइपको भूमिकामा अभिनय गरेको हेर्न चाहन्छु । उनलाई यस्तै सुहाँउछ पनि ।

आपत्तिजनक दृश्यहरुकै कारण उनले कतिपय फिल्महरु रिजेक्ट गरेकी छिन् । मैले उनलाई यस्तो दृश्य गर, यस्तो नगर भनेर सम्झाउनै पर्दैन । उनी आफैं बुझि्छन् । मैले आफैं श्रीमतीलाई फिल्म लाइनमा लगाएको हुँ । आज मलाई झरनाको श्रीमान भनेर धेरैले चिन्छन् । श्रीमतीको नामबाट चिनिँदा मलाई कुनै हीनताबोध छैन । बरु गौरब लाग्छ । सँगै बाटो हिँड्दा उनलाई धेरैले चिन्छन्, मलाई कमैले चिन्छन् । त्यसमा मलाई कुनै अफसोच लाग्दैन ।

लुगा आफैं किनिदिन्छु

Sunil kumar and jharana thapa (4)

उनको ड्रेसअपको सवालमा म एकदमै उदार छु । उनले फेसनेबल ड्रेसअप गरेको नै मलाई मनपर्छ । कुर्ता-सुरुवाल लगाएको भन्दा स्कर्ट लगाएको नै मन पर्छ । किनकि उनलाई यस्तै सुहाउँछ ।

प्रायः उनको ड्रेसअप मैले नै च्वाइस गर्छु । बजारमा सँगै जाँदा मेरो रोजाइ हावी हुन्छ । उनको रोजाइ र मेरो रोजाइ प्रायः मिल्दैन । विशेष गरी लुगामा । तर, मैले कुनै लुगा किनिदिएर ल्यायो भने खुशी भएर लगाउँछिन् । म उनका लागि लुगा किन्न अभ्यस्त भइसकेको छु । बाहिर जाँदा उनका लागि ५-७ जोर लुगा बोकेर आउँछु ।

घरका व्यवहारिक कुराहरु झरनालाई केही थाहा हुँदैन । नुनदेखि सुनसम्म मैले नै किन्ने हो । उनले कमाएको पैसा सबै मलाई जिम्मा लगाउँछिन् । उनको कुन फिल्मबाट कति पैसा आयो र कुन फिल्मबाट आउन बाँकी छ भन्ने सबै हिसाब-किताब मेरो एकाउन्टेन्टसँग हुन्छ । उनलाई खर्च गर्ने पैसा मैले नै पर्समा राखिदिन्छु ।

पैसा उडाउन भने झरना खप्पिस छिन् । आमा-छोरी दुबैलाई पैसा जोगाउनुपर्छ भन्ने भावना नै छैन । जे देख्यो, त्यही किन्नुपर्छ । चाहियो भनेपछि चाहियो चाहियो । आजसम्म दुवैजनाको डिमान्ड पुर्‍याएकै छु ।

असमझदारीहरु छन्, तर……

हामी दुईबीच असझदारीका घटनाहरु नभएका होइनन् । थुप्रै छन् । तर, दुबैजनाले एक कदम पछि हटेर ती असमझदारीलाई टुंग्याउन सफल भएका छौं । उनको कुरै नबुझी झनक्क रिसाउने बानी छ । त्यसैले ठाकठुक परिरहन्छ । तर, त्यस्तो ठाकठुकले सम्वन्ध झन् न्यानो बनाउँदोरहेछ ।

झरनासँग मेरो सहयात्रा २२ वर्ष पुरानो भइसक्यो । तर, आज पनि उनी त्यस्तै नयाँ लाग्छिन् । उनको प्रेम आज पनि चिसो झरना जस्तै ताजा लाग्छ । त्यही प्रेममा नुहाएर म हरेक दिन फ्रेस हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment