Comments Add Comment

पेट्रोल र नुनखानी अध्ययन गर्न सरकारी टोली मुस्ताङमा

Mustang-Muktinath

१४ असार, मुस्ताङ । पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो ।

टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अध्ययन गरेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरत रुपमा बल्ने आगो ग्यास हुनसक्ने टोलीमा सहभागी खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले जानकारी दिए । ‘यहाँको अवस्था हेर्दा उत्खनन्का लागि त्यति असजिलो छैन, सरकारले विशेष पहल गर्दैछ,’ उनले भने ।

मुक्तिनाथको मुख्य मन्दिरभित्र भूमिगत कागखोलामा निरन्तर आगो बलिरहेको देखिन्छ भने त्यसबाट केही मात्रामा पेट्रोलियम पदार्थको गन्ध पनि आउने गरेको स्थानीयवासीको भनाइ छ ।

लोमान्थाङमा युरेनियमको भण्डार

टोलीले मुक्तिनाथपछि छुसाङ गाविसको तेताङमा पर्ने नुनखानीको समेत अवलोकन गर्नेछ । नुनको पहाडै रहेपनि त्यसको उत्खनन हुन नसक्दा वर्षौँदेखि त्यतिकै खेर गइरहेको छ । नुनखानी सञ्चालनका विषयमा स्थानीयवासीसँग समेत छलफल हुने बताइएको छ । पौडेलका अनुसार, टोलीले लोमान्थाङ क्षेत्रमा युरेनियम र जोमसोमस्थित ठिनी गाउँमा रहेको कोइलाखानीको समेत अनुसन्धान गर्नेछ ।

लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियमको भण्डार रहेको बताइएको छ । मन्त्री पाण्डेले यी सबै विषयमा स्थलगत अध्ययन गरेर उत्खननका लागि प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘हामी अध्ययनको क्रममा छौं, अबको तीन वर्षभित्र ग्यास, नुन र अन्य खानीको उत्खनन् गरेर प्रयोगमा ल्याउँछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment