Comments Add Comment

न्युन ग्रेड आएका सबैलाई पढाउने क्षमता छैनः सीटीइभीटी

सबैलाई अवसर दिइन्छः शिक्षा प्रवक्ता

CTEVT
१४ असार, काठमाडौं । व्यवसायिक सीप तथा तालिम परिषद् सीटीइभीटीले प्राविधिक (टी) एसएलसीमा न्युन ग्रेड ल्याएका विद्यार्थीलाई सबैलाई भर्ना लिने क्षमता आफूसँग नहरेको बताएको छ ।

एसएलसी परीक्षामा डी र इ ग्रेड ल्याएका विद्यार्थीले उच्च माध्यमिक शिक्षा लिन पाउँदैनन् । उनीहरूले फेरि एसएलसी फेरि दिनेबाहेक एउटा मात्रै विकल्प छ, प्रविधिक एसएलसी । तर, डी र इ ग्रेड ल्याउने विद्यार्थीको संख्या २ लाख छ भने टी-एसएलसीमा २० हजार मात्रै  विद्यार्थी भर्ना हुन सक्ने सीटीइभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेले बताएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत संचालित ३ हजार ६ सय उच्च मावि र सीटीइभिटीअन्र्तगतका शिक्षण संस्थासँग भने ४ लाखभन्दा बढी विद्यार्थी पढाउन सक्ने क्षमता नै छैन ।

शिक्षा पत्रकार संजालले मंगलबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले टी-एसएलसी तहमा २० हजार तथा डिप्लोमा तहमा २० हजार विद्यार्थीलाई मात्र पढाउन सक्ने क्षमता रहेको बताए ।

लामिछानेले सीटीइभीटी अन्र्तगत ८० प्रतिशत विद्यार्थीहरु फेल भइरहेको पनि बताए । प्राविधिक शिक्षा महंगो भएकाले अभिभावकको लगानी नफसोस् भनेर कम्तीमा तीन विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र डिप्लोमा तह अध्ययन गर्न पाउने निर्णय गरिएको उनको भनाइ छ ।

उनले डी र इ ल्याएका विद्यार्थीलाई लक्षित गरेर कुकिङ्ग, प्लम्बिङ्ग, वेल्डिङ्ग लगायतका केही विषयमा एक वर्षे कोर्स संचालनको तयारी गरिरहेको बताए ।

शिक्षा मन्त्रालयले भने एसएलसी परीक्षामा ए प्लसदेखि इ सम्मको ग्रेडिङ ल्याउने सबै विद्यार्थीले अध्ययनको अवसर पाउने दाबी गरेको छ ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले विद्यार्थीहरुले क्षमता अनुसार अध्ययनको अवसर पाउन् भनेरै लेटर ग्रेडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको भन्दै एसएलसीमा सहभागी ५ लाख ८८ हजार विद्यार्थीमध्ये कसैले पनि अध्ययनको अवसरबाट वञ्चित हुनु नपर्ने दावी गरेे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सबै विद्यार्थीलाई अध्ययनको अवसर दिने नाममा प्राविधिक शिक्षाको गुणस्तर कमजोर पार्न खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment