Comments Add Comment

नेताज्यू, आफ्ना छोराछोरीलाई अरब पठाउन सक्नुहुन्छ ?

राजनीतिक दलका नेताहरुका चर्का भाषणमा देशको समग्र विकास, विकसित देशहरुको विकासको अनुकरणात्मक तुलना तथा आफ्नो देशको विकासका निम्ति आफुसँग भएको देवत्व खुबीको खुवै तारिफ सुनिन्छ । मानौं अलौकिक क्षमता देवीदेवताको अवतारका रुपमा उनीहरु आफुलाई प्रस्तुत गर्छन् ।

तर, आफ्नै पार्टीको भडकिलो महाधिवेसन, राजनीतिक आरक्षणको गुन्डागर्दी, पदपूर्तीमा राजनैतिक अंशवाद, कृतिम पीडितको कोटामा आफ्नो वाद इत्यादि क्रियाकलापको निरन्तरताले नेपाली राजनैतिक पार्टी र नेताहरुप्रति दिन प्रतिदिन वितृष्णा मौलाउदैछ ।

Shree Prasad Devkota
श्रीप्रसाद देवकोटा

विषेश गरी देश विकासका निम्ति खम्वा मानिने युवाहरुमा राजनैतिक नेतृत्वप्रति वितृष्णा बढेको छ । उनीहरु स्वेच्छा वा वाध्यताले विदेशिनु परेको छ । आज पनि दैनिकरुपमा करिव १५ सय देखि २ हजार युवाहरु नेपाल छाडदैछन् । यता देशभित्र विश्वविद्यालयमा राजनैतिक भागवन्डा तथा विद्यार्थी युनियनहरुको तोडफोडका कारण विश्व विद्यालय र देशकै शिक्षा क्षेत्रको गुणस्तरमा प्रश्न चिन्ह उब्जिएको छ ।

फलस्वरुप उच्च शिक्षाका निम्ति विदेशी विश्वविद्यालय खोज्नुपर्ने र रोज्नुपर्ने नेपाली युवाको बाध्यता बनेको छ । अर्कातर्फ गरिवी, प्राकृतिक विपत्ति तथा नाकावन्दी इत्यादि कारणले जोखिमपूर्ण वैदेशिक रोजगारी प्रमुख रोजाइ बनेको छ ।

करिव ८-१० वटा लास भरिएका बाकस आज पनि दैनिकजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आउँदैछन् । आत्मघाती बम बिस्फोट, नेपाली कामदारको मृत्यु र घाइतेको संख्या दैनिक सञ्चार माध्यमले प्रसारण गरेको देखिन्छ ।

राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र जे आएता पनि पासपोर्ट बनाउने युवाहरुको लाइन लैनचौरमा दिन प्रतिदिन बढ्दो छ । भाग्यमा भरोसा गरी पारिवारिक पुर्नमिलनको आशमा युवाहरु विदेशिएका छन् । तर, कयौं बाकसमा फर्किएका छन् । कयौंले हातखुट्टा गुमाएका छन् त कोही सर्वश्व गुमाएर स्वदेश फर्किएका छन् । पारिवारिक गास, बास र खुसी बाँड्ने युवाहरुको सपना आँशु र पीडामा बाँडिएको छ ।

चियापसल र मेलापातमा गफहरु सुरु भएका छन् । नेपालमा केही हुँदैन, नेपालका नेता र पार्टी खराब छन् भन्ने आम धारणा छ भने केहीले जनता नै खराब भएको तर्क गरिरहेका छन् । आखिर किन भइरहेको छ यो सबै ? राजनैतिक पार्टीप्रति जनताको तिक्तताको जिम्मेवार को हो ? राजनीतिक नेतृत्व मात्रै यसको दोषी हो कि जनता पनि ? यी यक्ष प्रश्नहरु अनुत्तरित छन् । उत्तर पनि सजिलो छैन ।

सरकारको नेतृत्व गरेका पार्टीहरु आगामी चुनावलाई लक्षित गरी स्वदेश फिर्ता गरिएका लासमाथि राजनीति गरिरहेका छन् । काल्पनिक सम्वेदना र भावनामार्फत लुटिएका आशहरु र लासमाथि आफ्नो पार्टीको झन्डा ओढाइरहेका छन् ।

नेताज्यू सक्छौ भने आफ्नो छोराबुहारी वा छोरीज्वाइँलाई पठाउ अरब । अनि बल्ल महसुस गर्ने छौ गास, बास, कपास र विदेशिनुको वाध्यता र प्राप्त लासको पीडा

किन फर्किएका लासमाथि आसु झार्दैछन् राजनैतिक पार्टीहरु ? सहयोग र सद्भाव भन्दा पनि राजनैतिक खिचातानीको हतियार किन बनाइँदैछ यी लासलाई ?

नेताज्यू सक्छौ भने आफ्नो छोराबुहारी वा छोरीज्वाइँलाई पठाउ अरब । अनि बल्ल महसुस गर्ने छौ गास, बास, कपास र विदेशिनुको वाध्यता र प्राप्त लासको पीडा ।

हुन त तिमी र तिम्रो सात पुस्ताका लागि स्वदेश नै सुरक्षित छ । तिम्रो राजनैतिक गुण्डागर्दी, पदपूर्ती र भ्रष्टाचार नै काफी छ, आफु र आफन्तलाई बाँच्नका लागि पुस्तौपुस्ता सम्म । र, तिमी र तिम्रा पार्टीले नै परिभाषित गरेका छौ राष्ट्रिय पार्टी र राष्ट्रवादी नेताका रुपमा तिमीलाई ।

राष्ट्र निर्माणको खम्वा मानिने शिक्षित युवा विदेशी विश्वविद्यालयमा र वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएर बन्द बाकसमा फर्किने अनि यता नेताहरुले भने राष्ट्रद्रोही सन्धि गर्ने, देशका सीमा र स्रोत साधन बेच्ने काम गरिहरेका छन् ।

यस्ता भ्रष्ट नेता र राजनैतिक पार्टी स्वदेशमा रहनु नै नेपाल अविकसित मुलुकमा रहनुको मुख्य कारण हो । विसं. २००७ साल पछाडि करिव ७ दशक नेपाली राजनीतिक आन्दोलन राजनैतिक उपलब्धिमा मात्र केन्दि्रत भयो । प्रजातन्त्र, गणतन्त्र र संघीयता इत्यादि धेरै राजनैतिक अधिकारहरु विभिन्न आन्दोलनहरु र पार्टीले पूरा गरे ।

नेपाली समाजको राजनैतिक रुपान्तरण भैसकेको छ र अव पालो आर्थिक विकासको हो ।  तर, हिजोकै राजनैतिक उद्देश्यहरु पुरा गर्नका लागि हिजोकै राजनैतिक दर्शन, संरचना र उद्देश्यवाट ग्रसित राजनैतिक पार्टिका कारण देशको आर्थिक विकास बामे सर्न सकेको छैन ।

आफूलाई प्रजातन्त्रको जननी ठान्ने पार्टी नेपाली कांग्रेस वीपीको दर्शन वेचेर वंशजको राजनीति गरेको छ । आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु शहिद र वेपत्ता नागरिकहरुको तस्वीर बेचेर राजनीति गरिरहेका छन् । हिजोका पूर्खाको इतिहास, सहिदको रगत, आजको राजनैतिक पार्टीहरुको राजनीति गर्ने हतियार बनेको छ ।

दश वर्षे जनयुद्धपछि भर्खरै वामे सर्न लागेको आर्थिक विकास भूकम्प पछाडि भ्रुण बनेको छ । भूकम्प पीडितहरु करिव डेढ वर्षदेखि त्रिपाल मुनि आफ्नो जीवन गुजारिरहेका छन्  । जंगलका कन्दमुलहरु उनीहरुको दैनिक जीवनको आहारा बनेका छन्  । पुनर्निर्माण प्राधिकरणका प्रमुख र सदस्यहरु पीडितलाई शान्त्वना र सहयोग गर्नुभन्दा पनि राजनैतिक आडमा वैदेशिक यात्रामा डुल्न तल्लीन छन् ।

सर्वस्व गुमाएका पीडितहरु सरकारी विभिन्न मापदण्ड र नापले थप पीडित बनेका छन् । राजनैतिक शक्तिको आडमा नक्कली पीडितहरुले रातारात पार्टीको सिफारिसमा सहयोग प्राप्त गरेका छन् ।

नेता र तिनका परिवारहरु पीडितको नामको कोटामा स्वोदेश र विदेशमा सयर गरेका छन् । अर्कोतर्फ नाकावन्दीको नाउमा सरकारले कालोबजारी र भ्रष्टाचारीलाई प्रोत्साहन गरेको छ । उपभोक्ताबाट उठाइएका आवाज र कारवाहीका लागि सिफारिस गरिएका सरकारी कर्मचारीहरुलाई झन बढुवा गरिएको छ ।

विगतमा पेट्रोल र डिजेल लिटरमा एक रुपैयाँ बढ्दा आन्दोलन गर्ने विद्यार्थी संगठनहरु आज आफै कालोबजारी र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने कार्यमा तल्लीन छन्  । न्याय र अन्यायको फैसला गर्ने अदालत आज कुनै राजनैतिक पार्टीको अनुकुलतामा पक्ष र विपक्षको बहस गर्दैछ ।

जनताको अपेक्षा, आवश्यकता र राजनैतिक पार्टीहरुको क्रियाकलापवीच प्रतिकूल सम्वन्ध छ । फलस्वरुप वर्तमान राजनैतिक संस्कार र क्रियाकलापले जनताका आकांक्षाहरु पुरा गर्न सकेको छैन

छानविनका नाममा अख्तियारले मलमोलाई गर्दैछ । प्राप्त रकमको भरमा भ्रष्टाचारीको पर्दाफास अख्तियार कार्यको मापदण्ड हो । जनताका सुरक्षाका लागि खट्ने राष्ट्रसेवक कर्मचारीहरु आ-आफ्नो पेसाको भलाइका लागि सत्तासीन राजनैतिक पार्टीको चाकडी गर्नु उनीहरुको बाध्यता बनेको छ । राष्ट्रको तलव खाई शिक्षणको जिम्मा लिएका शिक्षकहरु विद्यालय नै बन्द गरेर आ-आफ्नो राजनैतिक भेला, सम्मेलन तथा प्रशिक्षणमा व्यस्त छन् ।

राष्ट्रप्रति को वफादारी, जिम्मेवारी, कानुनी मर्यादा र सजायँ सवै पार्टी र व्यक्तिमा केन्द्रित छ । कुशासन, भ्रष्टाचार र पार्टीवाद राष्ट्र निर्माणको मूल मन्त्र बनेको छ । यसकारण जनताको अपेक्षा, आवश्यकता र राजनैतिक पार्टीहरुको क्रियाकलापवीच प्रतिकूल सम्वन्ध छ । फलस्वरुप वर्तमान राजनैतिक संस्कार र क्रियाकलापले जनताका आकांक्षाहरु पुरा गर्न सकेको छैन ।

पार्टीहरु जनताप्रति बेउत्तर हुदै जाँदा देशमा भ्रष्टाचार, गरिवी बढेको छ । त्यसैले जनता राजनीतिप्रति निराश हुँदैछन् ।
अन्त्यमा, देश बदल्ने र विकास गर्ने मुख्य मन्त्र नै राजनीति हो र राजनैतिक पार्टीहरु नै हुन । राजनीति समाज वदल्ने साध्य हो भने पार्टीहरु साधन हुन् । जब समाजको गतिलाई राजनीतिक दर्शन र पार्टीले आत्मसाथ गर्छ, तब मात्रै पार्टीको जीवन र देशको विकास सम्भव हुन्छ ।

विडम्वना, हाम्रा राजनैतिक पार्टीहरुले हिजोको राजनैतिक उद्देश्य प्राप्तिका लागि अपनाएका राजनैतिक दर्शन, सांगठनिक संरचना र क्रियाकलापहरु हिजोकै रुपमा वा धर्मशास्त्रका रुपमा आज पनि प्रयोग गरिएका छन् । तर, आजको नेपाली समाजको आवश्यकता बदलिएको छ । जनताका आवश्यकताहरु बदलिएका छन् ।

आयातित राजनीतिक वाद भन्दा पनि स्वाभिमानी दर्शन र आवश्यकता पूर्ति गर्ने राजनीतिक पार्टी नेपाली जनतालाई आवश्यक छ । यसैले बदलिएको नेपाली समाज र आवश्यकतालाई पूर्ति गर्नका लागि वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता छ । जसमा ५० प्रतिशत युवा नेतृत्वको सुनिश्चित हुनुपर्छ र पार्टीका प्रत्येक क्षेत्रहरुमा युवाहरुको प्रतिनिधित्व गराउन सक्नुपर्छ । तबमात्र स्वाधीन र समुन्नत नेपालको विकास सम्भव छ ।

शिक्षा, स्वास्थ्य र रोजगारी विकासका प्रमुख तत्व हुन् । यसकारण शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्ने र युवामैत्री वैकल्पिक राजनैतिक शक्तिको विकास गर्न नितान्त आवश्यक छ । जसले विश्वव्यापीकरणको सहजता, फाइदा र असहजतालाई मूल्यांकन गरी नेपाली समाजको आगामी मार्गचित्र प्रस्तुत गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment