Comments Add Comment

जर्मनीलाई इटलीको काउन्टर एट्याकको डर

Joachim-Low

जारी युरोकपको क्वाटरफाइनलमा विश्वविजेता जर्मनी आगामी शनिबार इटलीसँग खेल्दैछ । त्यसअघि जर्मन प्रशिक्षक जोचिम लो, एकपटकको उपाधि विजेता इटालीले पेश गर्ने काउन्टर एट्याकलाई रोक्ने रणनीति बनाइरहेका छन् ।

इटलीले पि्रक्वाटरफाइनलमा साबिक विजेता स्पेनमाथि २-० को जित निकाल्दै जर्मनीसँगको भेट पक्का गरेको थियो ।

जर्मन प्रशिक्षक जोचिम लो मान्छन् कि यस संस्करणको क्वाटरफाइनलमा उनीहरुको विपक्षी इटली चार बर्षअघि भन्दा निकै बलियो भएको छ । त्यतिबेला फाइनल खेलेको इटलीले सेमिफाइनलमा जर्मनीलाई २-१ ले हराएको थियो ।

शनिबार राति फ्रान्सको बोर्डेअक्समा उपाधिका दुई दाबेदार आमने सामने हुनेछन् । जर्मनी पि्रक्वाटरफाइनलमा स्लोभाकियाबिरुद्ध सहज जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो । तर अहिले प्रशिक्षक लो इटालीले पेश गर्ने काउन्टर एट्याकिङ फुटबलबाट चिन्तित छन् ।

यसअघि उपाधिका दावेदार टोलीहरु स्पेन, बेल्जियम र स्वीडेनलाई पराजित गरेको इटली कसैले हराउन नसक्नेजस्तो देखिएको छ । तर, समूह चरणको अन्तिम खेलमा उ आयरल्याण्डसँग पराजित भएको थियो । अहिले जर्मन प्रशिक्षक जोचिम लो प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट देखिएको इटालीको रक्षापंक्ति ध्वस्त पार्न केन्दि्रत छन् ।

‘मैले आगामी खेलको बारेमा सोचिरहेको छु’ लो ले भने, ‘उनीहरु स्पेन बिरुद्धको खेलमा निक्कै प्रभावशाली देखिएका थिए । इटालीले रक्षापंक्तिमा संगठनात्मक फुटबल खेलेको छ र आक्रमण पनि त्यत्तिनै बुनेको छ । उनीहरु २०१२ को भन्दापनि बलियो भएका छन् ।’

लो ले भनेका छन् कि ‘हामी इटालीको काउन्टर एट्याकलाई निश्तेज पार्दै हाम्रा फर्वाडलाई खुलेर खेल्ने वातावरण बनाउन योजनारत छौं ।’

उनले थपे, ‘सामी खेडिरा हाम्रा टोलीका एक चतुर खेलाडी हुन्, इटलीलाई रोक्नेबारे मैले उनीसँग सल्लाह लिइरहेको छु ।’

प्रशिक्षक लोसँग टिममा फिटनेसको समस्या छैन । सबै खेलाडी फिट छन् र चोटमुक्त छन् । त्यसैले उनीहरुले यो साता पूरै प्रशिक्षण गरेका छन् ।

डिफेण्डर जेरोम कोटिङ काल्फ इन्ज्युरीका बाबजुद स्लोभाकियाबिरुद्ध मैदानमा उत्रेका थिए । त्यस खेलमा उनले गोल पनि गरे । तीव्र उपचारपछि उनी निको भएका हुन् । लो ले भनेका छन्, ‘हामीसँग सबै खेलाडी उपलब्ध छन् उनीहरुले प्रशिक्षकमा उत्कृष्ट खेलेका छन् । हामी इटलीबिरुद्धको खेलमा टोलीलाई तयार पार्नका लागि नयाँ प्रेरणा प्रदान गर्न यो साताको उपयोग गर्न सक्छौं । यसले हामीलाई नोक्सान हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment