Comments Add Comment

यही वर्ष सेयर बजारले २ हजार अंक छुनसक्छ (अन्तर्वार्ता)

आर्थिक वृद्विदर खुम्चिरहेका बेला नेप्से यसरी बढ्नु चिन्ताजनक भएको भन्दै नियामक धिताेपत्र बोर्डले पटकपटक सार्वजानिक सूचना जारी गरेर विवेक पुर्याएर मात्रै लगानी गर्न लगानीकर्तालार्इ सचेत गराउँदै अाएकाे छ । धितोपत्र बोर्डले यस्तो सूचना जारी गर्दा पनि लगानीकर्ताहरू डगमगाएका छैनन्  । ०७२ असार मसान्तमा ९६१ अंकमा रहेको नेप्से परिसूचक अहिले १७२४ अंकमा आइपुगेको छ ।

 सेयर विश्लेषक रविन्द्र भट्टराईले यो वर्षभित्रै नेप्से परिसूचक २ हजार अंकसम्म पुग्ने बताएका छन् । बजारमा लगानीकर्ताहरुको उत्साह अत्यधिक भएकाले आगामी दुइहप्ता सेयर बजार बुलिस ट्रेन्डमै रहने उनको विशलेषण छ ।  भट्टराईले सेयर बजारसँग सम्बन्धीत विभिन्न किताबहरु पनि लेखेका छन् । हालैमात्र सार्वजानिक भएको उनको ‘सेयरबाट करोडपति नामक किताब निकै चर्चामा छ । उनै भट्टराईसँग अब सेयर बजार कता जाला ? भन्ने विषयमा केन्द्रित रहेर अनलाइनखबरले गरेको कुराकानीः

810 (1)
रविन्द्र भट्टरार्इ, सेयर विश्लेषक

नेप्से परिसूचक १७ सय अंकमा उक्लिएको छ, अब कता जाला ?

सेयर बजार अहिले जुन किसिमले बढेको छ, त्यसमा कारोबार संख्या र रकम दुबैलाई हेर्दा तत्कालै घटिहाल्ने संभावना देखिँदैन । लगानीकर्तामा अहिले जुन किसिमको उत्साह देखिएको छ । त्यसले बजार अझ माथि जानसक्ने संभावना रहेको देखाउँछ ।

कहाँसम्म पुग्ला त ?

वैशाखपछि साउन भदौसम्मको समय सेयर बजारका लागि निकै उर्वर मानिन्छ । बितेका १३ वर्षको विश्लेषण गर्दा १० वटा वर्षमा बैशाखदेखि भदौसम्मको अवधिमा सेयर बढेको पाइन्छ । यसलाई आधार मानेर विश्लेषण गर्ने हो भने पनि बजार अझै एकदुई सय अंक माथि जान सक्छ ।

भनेपछि अब दशैंसम्म सेयर बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) मै रहन्छ ?

दैनिक कारोबारमा सामान्य घटबढ भए पनि समग्रमा भदौ अन्तिमसम्म नेप्से सूचक बढ्दो प्रवृत्तिमै रहन्छ भन्ने मेरो विश्लेषण हो । साउन अन्तिमदेखि सूचीकृत कम्पनीहरुले कमाएको नाफाबाट लाभांस घोषणा गर्न सुरु गर्छन्, त्यसले बजार प्रभावित बनाउँछ । विगतका वर्षहरुमा पनि भदौमा सेयर बजार उच्चतम विन्दुमा पुगेको अवस्था हो । ०६५ भदौ १५ गते नेप्से सूचक ११७५ अंकमा पुगको थियो ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन बाँकी छ । मौद्रिक नीतिमा लघुवित्तको केही सकारात्मक कुराहरु आयो भने त्यसले बजार अझै बढाउँछ । त्यस्तै बीमा सम्बन्धी ऐन पनि बीमा कम्पनीहरुको पुँजी बढाउने गरी आयो भने त्यसले बजारमा सकरात्मक प्रभाव पर्छ । मेरो अनुमानमा यो वर्षमै नेप्सेले २ हजार अंक छुनसक्छ ।

९० प्रतिशत लगनीकर्ताहरू अध्ययन नै नगरी बजारमा प्रवेश गरेका हुन्छन् र नोक्सान व्यहोरेपछि भन्छन्, फलानाले गर्दा डुब्यो ।

मुलुकको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कमले बढेको अवस्थामा सेयर बजार भने लगातारजस्तो बढिरहेको छ । यो त अाश्चर्यजनक भएन र ?

देशको कुल ग्रार्हस्थ उत्पादनमा १ प्रतिशतभन्दा कमको वृद्धिदर हुने सरकारी तथ्यांक छ । यो त समग्र अर्थतन्त्रभित्रको एउटा सूचक मात्रै हो । अरु सूचकहरुका कारण सेयर बजार बबढेको हो । व्याजदर, तरलता, प्रविधि, भुक्तानी सन्तुलन, सरकारी नीति लगायत सबै अरु सूचकहरु सेयर बजारका लागि सकारात्मक छन् । मेरो एउटा हात चलेन भने के म काम नलाग्ने भएँ ? जीडीपीले सेयर बजारलाई १०० प्रतिशत प्रभावित पार्ने होइन र यसले अल्पकालमा प्रभाव पार्ने पनि होइन । हरेक दिन जीडीपीका अंक र सेयरको अंक जोड्न मिल्छ र ?

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गर्ला भन्ने मलाई लाग्दैन । अहिलेका गभर्नरको रुची बजारलाई नकरात्मक बनाउने देखिँदैन ।

शेयर बजार माथि उक्लिनुको पहिलो कारण सिजन नै हो । किनभने बैशाखपछि कम्पनीहरुको लाभांस लिने उद्देश्यले लगानीकर्ताहरुले लगानी बढाउँछन् । अर्को कुरा व्याजदर कम छ । अझैपनि बैंकहरुले व्याजदर घटाइरहेका छन् । बैंकहरुले घरजग्गामा भन्दा सेयरको लगानी सुरक्षित देखेका छन् । धितोको ५० प्रतिशत लगानी गरे पनि भैहाल्यो । यहाँ सेयर धितो राखेर मात्रै होइन सेयर किन्नलाई पनि बैंकहरुले ऋण दिएका छन् ।

बजारमा तरलता छ । पानी अग्लोबाट होचोतिर बग्छ भने पैसा कम नाफा हुने ठाउँबाट बढी फाइदा हुने ठाउँतिर बग्छ । लगानीकर्ताहरुले अहिले अन्य विकल्पहरु छाडेर सेयर बजारतिर लगानी बढाइरहेका छन् । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलगायतका नीतिहरु जे छन् ती सबै सेयर बजारका लागि अनुकुल छन् ।

सेयरको अभौतिकीकरणले छिटोछिटो कारोबार हुन थालेको छ, जसले लगानीकर्तालाई उत्साहित बनाएको छ । बजार दिनदिनै बढेपछि आमसञ्चारका मध्यमहरुमा सेयर बढेको मात्रै समाचारहरु आइरहेका छन् । जसले धेरै लगानीकर्तालाई आकषिर्त गरेको छ । अहिले दैनिक २ अर्ब रुपैयाँको पनि कारोबार भएको छ ।

यसरी सेयर उछालिँदा धेरै साना लगानीकर्ताहरु त डुब्छन् नि होइन र ?

सेयर बजार भनेको जोखिम लिएर गरिने लगानी हो । बजारमा प्रवेश गरिसकेपछि सानो र ठूलो भन्ने हुँदैन । जसले जोखिम लिन्छ, उसैले बढी प्रतिफल पनि हात पार्नसक्छ । फरक यत्ति हो सेयर बजारमा छिर्ने कतिपय मान्छेहरु बजारको वास्तविकता नबुझी छिर्छन् । त्यो उनीहरुको अनभिज्ञताको जोखिम हो । अलिकति प्रोफेसनलहरुले बजारलाई बुझेर छिर्छन् । र, भोली नोक्सान भएको अवस्थामा कसरी क्षतिपूर्ति असूल गर्ने भन्ने उपायसहित उनीहरु बजारमा प्रवेश गरेका हुन्छन् । तर, बाँकी ९० प्रतिशत त्यस्तो उपाय नलिइकन बजारमा प्रवेश गरेका हुन्छन् र नोक्सान व्यहोरेपछि भन्छन्, फलानाले गर्दा डुब्यो ।

नेप्सेको अंक धेरै भएको भनेर धितोपत्र बोर्डले सर्वसाधारणलाई सचेत रहेर मात्रै लगानी गर्न पटक-पटक आहृवान गरिसकेको छ । अर्थमन्त्रालय पनि सेयरको अंक बढी भएकोप्रति चासो देखाइसकेको छ । राष्ट्र बैंकले दुर्इहप्ताभित्र जारी गर्ने माैद्रिक नीतिमार्फत सेयर बजारलार्इ नियन्त्रण गर्नुपर्ने तर्कहरू पनि अाउन थालेका छन् । माैद्रिक नीतिले कसरी नियन्त्रण गर्ला ?

मलाई लाग्छ, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई असर पार्ने कुराहरु नल्याउला । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गर्ला भन्ने मलाई लाग्दैन । अहिलेका गभर्नरको रुची बजारलाई नकरात्मक बनाउने देखिँदैन । बजारलाई स्वतन्त्र छाडिदिने गभर्नरको नीति हो ।

अर्को कुरा, नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनीको ठूलो परिणामको सेयर सूचीकृत हुँदैछ । पक्कै पनि त्यसले नेप्से परिसुचकमा सकारात्मक प्रभाव पार्नेछ । बजार पुँजीकरण बढेपछि नेप्से इन्डेक्स पनि बढ्ने हो । अहिले थारैले बजार पुँजीकरण हुँदा पनि नेप्सेमा ३०/४० अंकको वृद्धि हुन्छ । तर, अब पुँजीकरण बढेकाले यो अंकको वृद्धिलाई सामान्य लिनुपर्छ । अब हामीले सेयर कति अंकले बढ्यो भनेर हिसाब गर्नुभन्दा पनि कति प्रतिशतले बढ्यो भनेर हिसाब गर्नुपर्छ ।

आगामी आर्थिक वर्षमा यो आर्थिक वर्षको जस्तो सेयर बजार बढ्दैन । किनभने अब कम्पनीहरुले दिने लाभांसको आकार साँघुरिँदै जान्छ । धेरै कम्पनीहरुले बोनस सेयर र राइट सेयरमार्फत चुक्ता पुँजी बढाइसकेका छन् । आगामी आर्थिक वर्षमा अधिकांस कम्पनीले यो वर्षको जति लाभांस दिन सक्दैनन् ।

455तपाईले हालै सेयरबाट करोडपति भन्ने किताब पनि लेख्नुभयो । कस्तो प्रतिक्रिया आइरहेको छ ?

किताव सार्वजानिक भएको ६ दिनमै पाँच हजारप्रति बिक्री भयो । हाामीले बीचमा झन्डै दुई हप्ता त किताब नभएर बेच्नै सकेनौं । फेरि छापेर बजारमा पठाइसकिएको छ । त्यसको बिक्री पनि पहिलेकै गतिमा छ । दोस्रो संस्करण आएको ३ दनमात्रै भएको छ । ३ हजार जति बिक्यो भन्ने रिपोर्ट छ । बाहिरतिरको माग पनि उस्तै छ । अझै पनि प्रकाशकले किताब सबै जिल्लामा पुर्‍याउन सकेका छैनन् । किताबप्रति सर्वसाधारणको अाकर्षण देखेर ठुलो हाैसला मिलेको छ ।

किन यति धेरै लोकप्रिय भयो त किताब ?

यो किताबको विषेशता भनेको अति प्राविधिक कुरालाई पनि सरल भाषमा लेखिएको छ । सेयरको शब्द नै नबुझ्नेले पनि पढेर बुझ्न सक्छन् । सेयर बजारबारे सर्वसाधारणले नबुझेको देख्दा त्यस्ता मान्छेहरुलाई बुझाउने गरी किताब लेख्ने मेरो सोच थियो । यो कुनै करोडपतिको कथा नभई करोडपति बन्न बाटो देखाउने किताब हो ।

उपन्यास चैं कहिले अाउँछ त ?

अाउँछ । तर, मिति चैं यही नै भनेर अहिले भनि नहाालाैं । उपन्यास पनि लेख्छु भन्ने सोच हाे । मेरो उपन्यास पूर्णरूपमा पैसामा केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment