Comments Add Comment

चल्न नजाने दुबाईले डुबाउँछ

‘चल्न नजाने दुबाईले डुबाउँछ’अन्दाजी ३२/३३ वर्षकी भक्तपुर घर भएकी एक महिलाले प्रसंगमै भनिन् । म गहिरो सोचमा परें । जतिबेला हामी ईरानको एउटा सुन्दर पर्यटकीय टापू ‘किस आइल्याण्ड’मा भेट भएका थियौं र साँझको समयमा चिया खाने बहानामा सामुद्रिक किनारमा अवस्थित एक कफीसपमा उनीसहित ८/१० जना नेपाली युवाहरु जम्मा भएर गफिइरहेका थियौं ।

Janak-Pandeyति महिला दुबाईका लागि पुरानै थिइन् । मलाई ठूलै जिज्ञासा भयो । आखिर ति महिलाले के भन्न खोजेकी हुन्… ?, अन्ततः मलाई दुई बर्ष लाग्यो, ति महिलाले भनेको कुरोको चुरो पत्ता लगाउन ।

रोजगारीको सिलसिलामा दुबाईको भिजा लगाउन केहि दिनको ट्रान्जिट बनाएर यो लेखक किस आइल्याण्ड पुगेको थियो । रोजगार खोज्दै भिजिट भिजामा दुबाई पुग्नेहरु सबैको नियति यस्तै बन्छ । नयाँ भिजा लगाउन कि त किस आइल्याण्ड जाने कि त दुबाइको नजिकै बोर्डर भएको देश ओमन जाने या त आफूलाई पायक पर्ने कुनै मुलक ।

दुबाईभन्दा कडा स्लामिक कानुन भएको देश इरान । किस आइल्याण्ड भन्नेबित्तिकै सबैलाई सजिलो पनि छैन । एयरपोर्ट इमिग्रेसनमै दिन्छन् बुर्का लगाउन महिलाहरुलाई । शरिर पुरै ढाक्ने गरी लामो कपडा लगाउनुपर्छ त्यहाँ । पुरुषले समेत कुने अंग प्रदर्शन गर्नेगरी कपडा लगाउन प्रतिबन्ध छ । सार्बजनिक स्थलतिर युवा-युवतीलाई अंकमाल गरेर हिँडडुल गर्न छुट छैन । त्यस्तै होटलको महंगो बसाइँ, समयमा आफ्नो भिजा नपाउँदाका अबस्थामा बसाइँ लम्बिने, खर्च सकिएको अवस्थामा, मानसिक तनाव समेत झेल्नुपर्ने स्थिति रहन्छ । यी हुन् यहाँ रहनुका विवशता माथिका अवस्था ।

भिजा लागेर पनि, होटलको खर्च १०० तिर्न नसक्दा, यो लेखक स्वयं दुबाई फर्कन नसक्नु आफ्नै विवशता बनिसकेको थियो । पछि तिनै महिलाले थाहा पाएर लेखकलाई ३०० यूएई दिराम सापटी दिइन् । अन्ततः लेखक फेरि उड्यो दुबाईका लागि । सवाल जवाफ त खोज्नु नै थियो, ति महिलाले भनेको कुरोको पनि ।

मुख्यतया पर्यटन र ब्यापारलाई आधार स्तम्भ बनाएर, आर्थिक क्रान्तिमा दौडिरहेको दुबाईको यहाँ निर्मित भौतिक संरचनाले विश्वको विकशित राष्ट्रहरुको संरचनाको झल्को त दिन्छ नै सबैतिर बातानुकुलित भौतिक संरचनाले ५० डिग्री सेन्टिग्रटको तापक्रममा पनि गर्मीको महसुस हुँदैन । सामाजिक सुरक्षाको ग्यारेन्टी, पर्यटनमा नौला कुराको प्रयोग, होटल, शपिङ सेन्टरको ब्यवस्थित प्रवन्ध हुनु जस्ता कुराले पनि यहाँको पर्यटन र ब्यापारलाई प्रवर्द्धन गर्दै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गरिदिएका छन् ।

खर्च गर्ने ठाउँ दुबाइमा प्रशस्त हुँदा मितव्ययीता अपनाइएन भने हाम्रा कमाउने जमाउने सपना तुहिने खतरा त्यतिकै छ

चौडा लेनयुक्त सडक, ट्राफिक अनुशासन, सार्बजिक यातायातमा मेट्रो सेवा, बस सेवा, ट्याक्सी सञ्चालनमा छन् ।  उद्योगधन्दा कलकारखाना, सञ्चार, शिक्षण संस्था, अस्पताल, ब्यापार, होटल व्यावसाय लगायत सबै क्षेत्रमा बाह्य लगानीलाई प्रोत्साहन गर्ने गरी निर्मित कानुनको सहजताले ब्यावसायीक आकर्षणसँगै रोजगारीका अवसर त बढाएको छ । तर रोजगारका लागि प्रतिस्पर्धा पनि उत्तिकै छ ।

धेरैजसो एसियाली पूर्वी देशहरु, दक्षिण एसिया, अफ्रिका, यूरोप, पूर्व सोभियत युनियनका राज्यहरु र पूरै मिडिलइस्टसँगै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ नेपालीले रोजगारिका लागि । रोजगारका लागि यस्तो कन्टिनेन्टल स्पर्धामा यदि सफल भइएन भने खासगरी भिजिट भिजामा आउनेका लागि चुनौति थपिन्छ ।

सातवटा स्टेट मिलेर बनेको पूरै यूएईमा झण्डै ४ लाख नेपालीहरु श्रममा क्रियाशील रहेको दुबाईका एक नेपाली व्यावसायी तथा सामाजिक अभियन्ता जनकराज पराजुली भन्छन्, ‘त्यस मध्ये पनि मेजोरिटी संख्या दुबाईमा केन्दि्रत छ ।’

खर्च गर्ने ठाउँ दुबाइमा प्रशस्त हुँदा मितव्ययीता अपनाइएन भने हाम्रा कमाउने जमाउने सपना तुहिने खतरा त्यतिकै छ । अन्य स्टेटको तुलनामा अघोषित भएपनि मदिरा तथा यौन स्वतन्त्रता दुबाईमा छ । बिदाका दिन घुमफिर र आफन्त भेटघाटका लागि टाढा-टाढाबाट श्रमिकहरु दुबाई आउनु, रमाईलो गर्नु सबैका लागि यो साप्ताहिकी नै हो । बिभिन्न होटलहरुमा समेत नेपालीहरुलाई लक्षित गरेर नेपाली कुसन र डान्सबार स्थापना गरिनु, मदिरा र यौनबजार खुला हुनुले युवाहरुलाई त्यतातिर आकर्षण नगर्ला भन्न पनि सकिन्न ।

अन्तर्राष्ट्रिय ब्यापारिक हबको रुपमा विकसित भएको दुबाई, अन्तराष्ट्रिय हवाई ट्रान्जिट  प्वाईन्ट पनि हो । यहाँ प्रत्येक पाँच मिनेटमा जहाज ओहोर-दोहोर हुन्छन् । तसर्थ यो एउटा मानव तस्करहरुको लागि सजिलो बिन्दु पनि बनेको छ । नेपालबाट रोजगारीको प्रलोभनमा पारेर युवाहरुलाई यहाँ ल्याई विश्वका बिभिन्न जोखिमयुक्त क्षेत्रहरुमा पठाउने या प्रतिबन्धित मुलुकहरुमा समेत कामदार पठाउने खतरा छँदैछ ।

सुनिश्चित भविश्यको सपना बोकेर विदेशको झिलिमिली, बिल्कुलै नयाँ नौलो वातावरणयुक्त समाजमा आफूूलाई स्थापित गराउनु र पैसा कमाउनु अनि सेभिङ गर्नु आफैंमा एक चुनौति पनि छ

बिशेष गरेर बढी महिलाहरु प्रत्यक्ष प्रभावित भएको समाचारहरु हामी सामू छ । घरेलु कामदारका लागि चोरबाटो हुँदै महिलालाई दुबाईसम्म ल्याई अन्य गन्तब्य पठाउने, यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारेका घटना सार्बजनिक भइसकेका छन् । त्यस्तै बेरोजगार युवा काम खोज्दै भिजिट भिजामा दुबाई आउनु र काम नपाउँदाका अवस्थामा, साहुको ऋणको भारीले घर पनि फर्किन नसकेको अवस्थामा नेपाली युवा यतै पैसाका लागि अवैध गतिविधिमा सम्लग्न रहन सक्ने खतरा पनि उत्तिकै हुनसक्ने नेपाल पत्रकार महासंघ दुबाई शाखाका अध्यक्ष त्रिलोचन कोइराला बताउँछन् ।

पारिवारिक सुख सुविधा र सुनिश्चित भविश्यको सपना बोकेर विदेशको झिलिमिली, बिल्कुलै नयाँ नौलो वातावरणयुक्त समाजमा आफूूलाई स्थापित गराउनु र पैसा कमाउनु अनि सेभिङ गर्नु आफैंमा एक चुनौति पनि छ । विदेशी श्रमबजारमा आएर यहाँ महिना भरि काम गर्नु, तलब पाउनु, बचाउनु, घर पठाउनु, अनिफेरी यहाको झिलिमिलि सुखः सुबिधा भोग गर्ने हाम्रा सपना र हामीले सोचेजस्तो ब्यबहारमा मेल खाँदैन । बास्तबिकता, यहा आएपछि यो हाम्रो पारिश्रमिकको दाँजोमा वश भन्दा बाहिरको बनिदिन्छ ।

अर्कातिर, आतंककारी गतिविधिको त्रास, आतंकवादी संगठनहरुको गतिविधि बढिरहेका बेला कतिखेर कहाँ के हुन्छ केहि थाहा हुन्न । प्रवासमा रहने र काम खोज्न आउनेहरुका लागि यो पनि एउटा अन्योल बन्दै गएको छ । सन् २००४ को अगस्टमा इराकमा १२ जना निर्दोष नेपालीले ज्यान गुमाउनु, हालसालै गत जून महिनामा काबुल घटनामा तालिवानी समूहको आक्रमणमा १४ नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको सबै हामीले सहनु परेको छ । यी हाम्रा लागि उदाहरण घटना बने, यसबाट हामीले पाठ सिक्नैपर्छ ।

त्यस्तै मिडियामा ढिलो गरेर कभरेज पाएको खबर, भारतको देहरादुनमा मे महिनामा अर्थात काबुल घटनाको १ महिना अगाडि १० जना नेपाली सडक मजदुर मारिए । हावाहुरीले त्रिपाल उडाउँदा ढंुगाको ओढारमा शरण लिएका उनीहरु माथिबाट रुख लडेर ओढार भासिएपछि उनीहरुको ज्यान गएको थियो । यी सबै घटना नेपाली र श्रमसंग सम्बन्धित हुन् ।

नेपाली श्रमसँग जोडिएका यी विविध घटनाहरु हेर्दा हाम्रा यथोचित श्रम ब्यवस्थापन पनि नभएको देखिन्छ । अब भविश्यमा यस्ता बिपत्ति निवारण गर्न सरकारले तुरुन्त श्रम ब्यवस्थापनमा तदारुकता देखाउनुपर्छ । अन्यथा नेपालीहरु परदेशमा हराउने, ज्यान जोखिममा पर्ने, अलपत्र पर्ने अवस्था झन् जर्जर बनेर जान सक्छ ।

बिगतदेखि वर्तमानसम्म नेपाली श्रमशक्ती, यसको बजार, उचित पारिश्रमिक, सुरक्षित र सुनिश्चित गन्तब्य लगायतका बिषयमा बहस चलेको चल्यै छ । तरपनि हाम्रा समस्याहरु जहाँका तहिँ छन् । बिभिन्न बहानामा भिजिट भिजामा आएर काम खोज्नेको ताँती नै छ । यसले एकातिर हाम्रो उत्पादनमूलक अर्थ पलायन भइरहेको छ भने अर्कातिर काम नपाउँदा हामी आफैं पनि भबिष्यप्रति अनिश्चितताको भूमरीमा पनि फँसिरहेका छौं ।

(पाण्डे हाल दुबाईमा छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment