Comments Add Comment

भारतसँगको असमान सन्धी खारेज गर्न भारतमा बस्ने नेपालीको माग

prabasi-of-inda
१५ असार, काठमाडौं । भारतमा रहने नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग आवद्ध प्रवासी नेपालीहरुले नेपाल भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेज गर्न माग गरेका छन ।

देशभित्रको निर्वाचनमा भारतबाटै मतदान गर्न पाउनुपर्ने सहितका १६ बुँदे माग राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरुलाई भेटेर राखिसकेको उनीहरुले बताए ।

एमाले निकट प्रवासी नेपाली संघ भारत र माओवादी निकट अखिल भारत नेपाली एकता मञ्चले बुधवार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलन गरेर आफूहरुको माग सार्वजनिक गरेका छन् ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच नआउने गरी १९५० सन्धी खारेज वा पुनरावलोकन गरेर समयअनुसार नयाँ सन्धी गर्नुपर्ने, नेपाली नागरिकता वा राहदानीकै आधारमा बैंक खाता खोल्न पाउनुपर्ने, ईच्छाएको ठाँउमा पेन्सन पाउनुपर्ने व्यवस्था हुनुपर्ने, भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने शुल्क कम हुनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् ।

नेपाली विद्यार्थीसँग डलरमा शुल्क लिने प्रावधान खारेज हुनुपर्ने, सीमामा नेपाली नागरिकलाई भारतीय प्रहरीले दुख दिने अवस्थाको अन्त्य गरिनुपर्ने, मुम्बईमा कन्सुलेटको कार्यालय खोल्नुपर्ने, उपचार र पर्यटकको रुपमा जाने नेपालीको लागि नयाँ दिल्लीको पायक पर्ने स्थानमा अस्थायी बसोबासको ब्यवस्था मिलाउनुपर्ने, भारुको अबैद्य कारोवारमा संलग्नलाई कारवाही गर्नुपर्ने, प्रवासी मैत्रि योजना बनाउनुपर्ने, भारतमा नर्सिङ पढ्ने नेपाली विद्यार्थीलाई त्यही प्राक्टिकलको व्यवस्था गर्नुपर्ने, प्रवासी नेपालीलाई भारतमै रहेर मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, भारतमा नेपालीमाथि हुने जघन्य अपराधमा राज्यले हस्तक्षेप गरेर न्याय दिलाउनुपर्ने र नेपालबाट भारत जानेको लागत राख्नुपर्ने माग पनि अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा  प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले नेपालको अर्थतन्त्रमा भारत प्रवासमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो योगदान रहेकोले उनीहरुको समस्यामा सरकार गम्भिर हुनुपर्ने भन्दै भारतमा नेपालीहरुलाई विभिन्न सन्धि सम्झौताअनुसार ब्यवहार हुन नसकेकोले त्यस्तो सन्धी सम्झौतालाई समयानुकुल बनाउनु पर्ने धारणा राखे ।

अखिल भारत नेपाली एकता मञ्चका पूर्व अधयक्ष टिबी पाठकले भारतमा रहेपनि आफूहरुलाई नेपालको सार्वभौमसत्ता र अखण्डता प्राणभन्दा प्यारेा रहेको भन्दै प्रवासी नेपालीको समस्या हल गर्न सके त्यसको लाभ नेपालले प्राप्त गर्न सक्ने विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment