Comments Add Comment

संसदमा रमिताः देउवा अल्मलिए, ओली कड्किए !

प्रधानमन्त्रीको जवाफमा कांग्रेस न सन्तुष्ट, न असन्तुष्ट

Samsad१५ असार, काठमाडौं । भूकम्प पीडितलाई दिइने राहतबारे प्रमुख दलहरुबीच सहमति भएपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्ण सन्तुष्ट देखिएन ।

पाँच दिनसम्म अवरुद्ध बनेको संसद खुलेपछि बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरिरहँदा व्यवस्थापिका संसदमा एकप्रकारको रमिताजस्तै लाग्ने दृश्य देखियो ।

प्रधानमन्त्री रोष्टममा उभिएर बोल्दै गर्दा कांग्रेस सांसदहरुले ‘अस्पष्ट भयो’ भन्दै उठेर विरोध जनाए । तर, सभामुखको आग्रहमा टुसुक्क बसेका कांग्रेस सांसदहरुलाई प्रधानमन्त्री ओलीले दपेट्ने शैलीमा भने- मैले त नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासहितको बैठकबाट निर्णय गरेको भन्दै कांग्रेसलाई अनावश्यक विरोध नगर्न भने । त्यसपछि कांग्रेस झन अलमलमा पर्‍यो र त्यहीबीच प्रधानमन्त्रीले सम्बोधन सके र सदनको कारवाही अघि बढ्यो ।

किन अल्मलियो कांग्रेस ?

[sam_list]  संसदको बैठक अघि कांग्रेससहित चार दल बीच भूकम्पपीडितलाई पहिलो किस्ता १ लाख ५० हजार र दोस्रो किस्ता ५० हजार दिने सहमति भएको थियो । र, त्यही प्रतिवद्धता प्रधानमन्त्रीले सदनमा जनाउने तय भयो ।

तर, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा घुमाउरो भाषा प्रयोग गरे । कांग्रेस र दातृ निकायसँग परामर्श गरेर कार्यविधिमा उपयुक्त परिमार्जन गरिने भन्दै उनले भने, अब कार्यविधिमा तदनुसार परिर्माजन गरेर घर बनाउन पहिलो किस्तामा उपलब्ध गराएको ५० हजारमा एक लाख थप गरेर डेढ लाख पुर्‍याउन सकिन्छ ।’
ओलीले अघि भने, तर, सहमति भयो भने गरिनेछ ।’

प्रधानमन्त्रीले तर, सहमति भयो भने गरिनेछ भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका सांसदहरु अलमलमा परे । प्रधानमन्त्रीले बोल्दाबोल्दै उनीहरु खासखुस गर्न थाले । अगाडिको रोहमा बसेका कांग्रेस सभापति देउवाले पछाडि फर्केर आफ्ना नेताहरुलाई हेर्न थाले ।

यसैबीच प्रकाशरण महतले उठेर ‘प्रष्ट भएन’ भने । सभामुखले प्रधानमन्त्री बोलिरहनुभएको भन्दै महतलाई बस्न आग्रह गरिन् । लगत्तै कांग्रेसका सांसदहरु जर्‍याकजुरुक उभिए । वीचैमा प्रधानमन्त्रीको सम्बोधन रोकियो । प्रधानमन्त्री रोष्टममा चुप लागेर केहीबेर उभिइरहे ।

अब चित्त बुझ्यो त ?

विपक्षी सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले पटक पटक बस्न आग्रह गरिन् । सभामुखले अझै प्रधानमन्त्रीले बोल्न बाँकी नै छ भनेपछि कांग्रेस सांसदहरु बस्ने कि नबस्ने भन्ने दुविधामा परे । अगाडि उभिएका कांग्रेस संसदीय दलका नेता देउवा अल्मलिएको प्रष्टै बुझ्न सकिन्थ्यो । उनी कतिबेला कोटको टाँक सुम्सुम्याउँथे, कुनै बेला चश्मा नाकको डाँडीमा माथितिर सार्थे । यसैवीच कांग्रेस सांसदहरु चुपचाप आ-आफ्नो सीटमा बसे ।

कांग्रेस सांसदहरु बसेपछि फेरि बोलेका प्रधानमन्त्री ओलीले अलि कडा शब्दमा आक्रामक जवाफ दिए । राहत तथा पुनर्निर्माणबारे प्रमुख विपक्षी दलका नेतासहितको बैठकबाट निर्णय भएको र त्यस अनुसार नै काम अघि बढेको ओलीले बताए ।

कांग्रेसले के प्रष्ट भएन भनेको ? यो आफूले नबुझेको भन्दै प्रधानमन्त्रीले भने, मैले त नेपालीमै बोलेको छु, हिन्दीमा बोलेको छैन, कसरी बुझिएन ?’

प्रधानमन्त्रीले कांग्रेसलाई थर्काइरहँदा सत्तापक्षका सांसदले खुशी हुँदै आआफ्नो आसनमा हातले ढ्याप ढ्याप गरेका थिए । कांग्रेसलाई जवाफ फर्काएपछि प्रधानमन्त्रीले छोटोमा आफ्नो सम्बोधन सिध्याए ।

प्रधानमन्त्री आफ्नो कुर्सीमा बसेलगत्तै कांग्रेस सांसद प्रकाशशरण महत आएर ओलीसँग खासखुस गरे ।

प्रधानमन्त्रीको पछिल्लो जवाफले कांग्रेसको चित्त बुझ्यो कि बुझेन भन्ने प्रश्नमा सचेतक ईश्वरी न्यौपानेले भनिन्, जुन सहमति भएको थियो, त्यसअनुसार बोल्नु पर्नेमा प्रधानमन्त्रीले असजिलो मान्नुभयो । त्यही भएर प्रष्ट होस् भनेका हौं ।’

उनले अघि भनिन्, अब कांग्रेस सन्तुष्ट कि असन्तुष्ट भन्ने भन्दा पनि भूकम्प पीडितको हातमा पहिलो किस्तामा डेढ लाख पर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment