Comments Add Comment

बर्षाका कारण घर भत्कँदा नुवाकोटमा २ वालकको मृत्यु

Nuwakot--Map

१५ असार, नुवाकोट । भूकम्पले क्षतिग्रस्त घर बर्षाका कारण भत्कँदा नुवाकोटमा दुई वालकको मृत्यु भएको छ । एक वालिका घाइते भएकी छन् ।

नुवाकोटको बुङ्गताङ्ग गाविस वडा नं. ४ डोटाटोलमा रहेको मेघबहादुर तामाङको घर भत्किदा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेहरुमा १२ बर्षीय आइतराम तामाङ र ५ बर्षीय आशिष तामाङ छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापरी ८ बर्षीया बिमला लामाङ घाइते भएकी छन् ।

भूकम्पले थिल्थिलो बनाएको घर गएराति परेको भीषण बर्षाका कारण भत्किएपछि रातिको समयमा सुतिरहेका दुई बालकको मृत्यु भएको हो । भूकम्पले भत्काएको घरको माथिल्लो तला फालेर तामाङ परिवार तल्लो तलामा बस्दै आएका थियो ।

यस्तै गएराति परेको बर्षापछि पहिरो जाँदा नुवाकोटको हल्देकलिका गाविसमा एक घर पुरिएको छ । वडा नं. ९ दार्मेमा सोमवरबहादुर तामाङको घर पहिरोले पुरेको हो । घरमा सुतिरहेका ६ जनलाई छिमेकीले उद्धार गरेका थिए ।

करेण्ट लागेर मृत्यु

यसैबीच करेण्ट लागेर गम्भीर घाइते भई उपचारका लागि विदुर ल्याइएका सुर्यमती गाविस २ का २७ वर्षीय श्याम रिजालको बुधबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार खानीगाउँ गाविस ४ ढिकुरेमा रहेको मछिन्द्र थापाको सुर्यमती फर्निचर उद्योगको बिजुलीको पोल सार्ने क्रममा करेण्ट लागेको थियो । उनलाई उपचारका लागि विदुर ल्याइएको थियो ।

रिजाललाई सिटी अस्पताल विदुरमा उपचारका लागि राखिएको थियो । उनीसँगै घाइते भएका सुर्यमती गाविस २ कै केशव न्यौपानेको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment