Comments Add Comment

यी हुन् पुरस्कृत पाँच कृषकहरु, वार्षिक आम्दानी ७ लाखदेखि १ करोडसम्म

Best-Farmer-of-Nepal
सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत कास्कीका इमानबहादुर गुरुङ

१५ असार, काठमाडौं । राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो ।

पहिलो हुने इमानबहादुर गुरुङ भैंसीपालक कृषक हुन् । अन्य पुरस्कृत कृषकहरु एकीकृत कृषि, मौरीपालन, खाद्यान्न विउ उत्पादन र केरा खेतीमा संलग्न छन् । सरकारले ५ वटा विकास क्षेत्रबाट एक-एक जनालाई पुरस्कृत गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रः इमानबहादुर गुरुङ

कास्की ७ लाहाचोकका इमानबहादुर गुरुङ सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत भएका छन् ।

लाहाचोक गाविसमा उनले १ सय ९० रोपनी जग्गा भाडामा लिएर भैसी पालन व्यवसाय गर्दै आएका छन् । उनको भैंसी फार्मबाट दैनिक कम्तीमा ३ सय ५० लिटरदेखि ८ सय लिटरसम्म दूध उत्पादन हुनेगर्छ । उक्त व्यवसायबाट गुरुङले ३७ जनालाई रोजगारी दिएका छन् । उनले भैंसी व्यवसायबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने गरेको कृषि मन्त्रालयले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रः रङमान तामाङ

रामेछाप, मन्थलीका रङमान तामाङ मध्यमाञ्चल क्षेत्रको उत्कृष्ट कृषकको रुपमा छानिएका छन् । उनी एकीकृत कृषि व्यवसायी हुन् । १ सय ५० रोपनी क्षेत्रफलमा पशुपालन गरेका उनले थप २५ रोपनी जमीनमा अलैंची, ४० हजार चिया/कफीका विरुवा उत्पादन र ४० रोपनी क्षेत्रफलमा किवी फल उत्पादन गर्दै आएका छन् ।

यस्तै उनले २५ वटा हेम्पसायर प्रजातिको वंगुर र ३० वटा जमुनापारी प्रजातिका बाख्रा पालन गर्दै आएका छन् । यो व्यवसायबाट उनले ११ जनालाई रोजगारी दिएका छन् । उनको वार्षिक आम्दानी करिब ३७ लाख हुने गरेको छ ।

पूर्वाञ्चल क्षेत्रः देवीकुमारी ओली

झापा, शिवसताक्षी ७ की देवीकुमारी ओली उत्कृष्ट मौरी व्यवसायी बनेर सम्मानित भएकी हुन् । सहकारीमार्फत मौरी व्यवसाय शुरु गरेकी उनले अहिले वार्षिक १३ लाखसम्म आम्दानी गर्ने गरेकी छिन् । यसका अतिरिक्त उनले मौरी पालन तालिम समेत दिँदै आएकी छिन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रः शर्मा चौधरी

राजापुर नगरपालिका-१२ बर्दियाका शर्मा चौधरी खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका क्षेत्रमा उत्कृष्ट भएका हुन् । उनले बर्दियामा १ सय १३ कट्ठा जमिनमा धान, गहुँ, तोरी आदि उत्पादन गरी वार्षिक ७ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यस्तै उनलाई बाली सघनतामा जोड दिएको र बीउ संचय गर्ने गरेका कारण पनि सम्मान गरिएको हो ।

सुदूरपश्चिमाञ्चलः विनोदकुमार शाह

सुदूरपश्चिमाञ्चलबाट कैलाली टिकापुर-१४, का विनोदकुमार शाह उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले करिब ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरेर वार्षिक करिब १९ लाख १४ हजार आम्दानी गर्ने गरेका छन् । उक्त व्यवसायबाट उनले दैनिक एक सय ५४ जनालाई रोजगारी दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment