Comments Add Comment

सुन्तली: देश सेवाको चस्का पस्यो, अब निस्कन गाह्रो छ

समाज सेवामा होमिएको कलाकार जोडीको कथा

Dhurmus Suntali work at Giranchaur (12)भनिन्छ, हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ । तर, यो भनाइ कुञ्जना घिमिरे (सुन्तली) माथि लागू गर्नु मनासिव नहोला । पति सीताराम कट्टेल (धुर्मुस) को सफलतामा कुञ्जनाको हात मात्र छैन, सिंगो तन र मन नै छ । उनी श्रीमानसँग पाइला-पाइलामा साथमा छिन् ।

ललितपुरको ग्रामीण क्षेत्र चापागाउँमा कुञ्जना जन्मिइन् । सानी छँदा उनका ठूला रहर थिएनन् । ठूलो लक्ष्य थिएन । उनलाई डोको बोक्न मन पथ्र्यो । घाँस काट्न मन पथ्र्यो । र, नाच्न मन पथ्र्यो । छरछिमेकमा गाईवस्तु थिए । तर, उनका घरमा थिएनन् । रहरै रहरमा डोको बोक्न खोज्दा बांगो भएर साथीहरुले जिस्क्याउँथे । घाँस काट्न खोज्दा हँसियाले औंला काट्थ्यो । उनका साथीहरुलाई कर थियो, उनलाई रहर थियो ।

एसएलसीको पढाइसम्म उनको जीवन हाँसखेल र रमाइलोमै बित्यो । राष्ट्र के हो र राष्ट्रप्रेम के हो, भन्ने कुरा उनको दिमागमा थिएन ।

जब उनी कलाकारितामा होमिइन्, त्यसैमा रमाइन् । सीतारामसित जोडी बाँधिन्, बिहे गरिन् र दाम्पत्य सम्वन्धमा रमाइन् । छोरी जन्माइन् र मातृत्वमा रमाइन् ।

सरकारले सरसफाइ दूत नियुक्त नगर्दासम्म समाजसेवा उनका लागि अञ्जान विषय थियो । मन्त्रिपरिषदको निर्णयबाट नौलो जिम्मेवारी पाएपछि यो जोडीमा नयाँ उर्जाको सञ्चार भयो । दुवैजना फुरुङ्ग परेर सरसफाइ अभियानमा जुटे । सडकदेखि सरकारी कार्यालयका शौचालयसम्म सफा गर्दै हिँडेका कट्टेल दम्पत्तिको जोस दुनियाँले बल्ल देख्यो ।

‘सरसफाइ दूत नियुक्त भएको एक महिनामै हामी २० वटा जिल्लामा पुग्यौं,’ कुञ्जना भन्छिन् ।

०००

गत वैशाख ११ गते नेपालमा भूकम्प आउँदा यो जोडी अमेरिकामा थियो । अमेरिकाको विभिन्न स्थानमा रहेका नेपालीहरुलाई हँसाउन गएका उनीहरुलाई भूकम्पले नराम्ररी बिथोल्यो ।

‘नेपाल रोइरहेका बेला हामी अमेरिकामा बसेर हाँस्ने-हँसाउने स्थिति रहेन,’ कुञ्जना सम्भिmन्छिन्, ‘त्यसैले बाँकी कार्यक्रम रद्द गरेर नेपाल फर्किने प्रस्ताव मैले सीतारामजीसँग राखेँ र उहाँ सहमत हुनुभयो ।’

ठूलो घाटा सहेर आयोजकले पनि उनीहरुलाई फर्किन स्वीकृति दिए । हातमा पाँच सय डलर पनि राखिदिए, भूकम्पपीडितको सहयोगार्थ । कार्यक्रबाट आफूहरुले पाएको १६ लाख ५० हजार रुपैयाँ भूकम्पपीडितकै लागि खर्च गर्ने अठोट गर्दै उनीहरु तुरुन्त नेपाल फर्के ।

धुर्मुस-सुन्तलीको बढ्दो लोकप्रियता सामाजिक सञ्जालमा छचल्किएको छ । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले आफ्ना लागि भिटामिनको काम गरिरहेको बताउँछिन् कुञ्जना

नेपाल फर्केर एकछिन पनि आराम नगरी उनीहरु भूकम्प प्रभावित जिल्लाहरुमा पुगे । शुरुको चरणमा खाद्यान्न र त्रिपाल वितरण गरे । दोस्रो चरणमा शौचालय निर्माणमा जुटे । तेस्रो चरणमा एउटा सिंगो वस्ती निर्माण गरिदिए । काभ्रेमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरेको क्षणलाई जीवनकै एउटा खुशीको क्षण मान्छिन् कुन्जना ।

‘त्यो वस्ती निर्माण गर्ने क्रममा हामी ठूलो तनावबाट गुजि्रएका थियौं, दुख पनि अत्यधिक गरेका थियौं,’ उनले भनिन् ।

कुञ्जनालाई त्यतिबेला तनाव हुन्थ्यो, जब उनी पतिलाई निराश देख्थिन् । त्यतिबेला खुशी लाग्थ्यो, जब पतिको अनुहारमा हाँसो देख्थिन् । उनी भन्छिन्, ‘वस्ती निर्माणका क्रममा सानो-सानो कुराहरुले उहाँलाई खुशी र दुखी बनाउँथ्यो, उहाँको अनुहारमा आउने भावले मेरो अनुहारको रंग परिवर्तन हुन्थ्यो ।’

०००

आफूसँग टन्न पैसा भएर उनीहरु त्यो वस्ती निर्माणमा होमिएका थिएनन् । विना पैसा श्रीमानले एउटा सिंगो वस्ती निर्माणको कुरा गर्दा कुञ्जना हच्किएकी थिइन् ।

‘आफू बस्ने घर नै भोलि बेच्नुपर्ने स्थिति आयो भने कहाँ जाने ?’ जोसुकै श्रीमतीले सोध्न सक्ने प्रश्न उनले पनि सोधेकी थिइन् । अनि सीतारामले विश्वास दिलाएका थिए, म जसरी पनि सहयोग जुटाउँछु, घर बेच्नुपर्ने परिस्थिति कदापि आउँदैन ।’

कुञ्जनाका अनुसार उनीहरुको निजी सम्पत्ति भनेको त्यही एउटा घर मात्रै हो । उनीहरुले चढ्ने गरेको गाडी मिडिया हबका नाममा छ ।

आफ्नो घर बनाउँदा धुर्मुसले एउटा ईट्टा पनि बोकेका थिएनन् । न कुञ्जनाले कहिल्यै बेल्चा समाएकी थिइन् । उनी भन्छिन्, ‘घरको नक्शा बनाउने बाहेक अरु काममा पनि हामीले टाइम दिएका थिएनौं ।’ कुञ्जनाका अनुसार सो घर अहिले एक करोड २० लाखसम्म बिक्री हुन सक्छ ।

काभ्रेमा वस्ती निर्माण गर्दा यो जोडी उतै अड्डा जमाएर बसेको थियो । उनीहरु टेन्टभित्र सुत्थे, जहाँ बाघ-भालुको समेत डर हुन्थ्यो । एक रात मेघ गर्जनका साथ ठूलो पानी परिरहेको थियो । बिहान ३ बजे कुञ्जना निद्राबाट ब्यूझिइन् । उनले देखिन् धुर्मुस टाउकोमा हात लगाएर झोक्राइरहेका थिए ।

वस्ती निर्माणका लागि धुर्मुस-सुन्तलीले घरै बेच्न लागेको खबर मिडियामा फैलियो । उनीहरुलाई तारन्तर आफन्त र साथीभाइको फोन आउन थाल्यो

‘के भयो ?’ उनले सोधिन् ।

dhurmus and suntali‘खोइ, काम थालिहालियो । तर, मैले सोचेजस्तो पैसा उठ्लाजस्तो छैन, के गर्ने के ?’ सीतारामले भावुक भएर भने । ‘त्यतिबेला अँध्यारोमा पनि मैले उहाँको अनुहारमा पीडा भरिएको देखेँ,’ कुन्जना भन्छिन्, ‘मलाई सुरुमा घर नबेच्ने भनेर दिएको बचनले उहाँलाई अप्ठेरोमा पर्नुभएको रहेछ । त्यसैले मैले भनेँ, हाम्रो घर बेचौं ।’

श्रीमतीको यस्तो प्रस्तावले सीताराम झन् भावुक भए । केही बोल्न सकेनन् ।

‘सम्पत्तिका नाममा त्यही एउटा घर हो, बल्लतल्ल दुःखले जोडेको । त्यही घर पनि बेच्ने निर्णय गर्नु मेरा लागि गाह्रो थियो । तर, मैले अर्को विकल्प पनि देखिनँ ।’ उनले भनिन् ।

वस्ती निर्माणका लागि धुर्मुस-सुन्तलीले घरै बेच्न लागेको खबर मिडियामा फैलियो । उनीहरुलाई तारन्तर आफन्त र साथीभाइको फोन आउन थाल्यो । आफू बेघर बनेर अरुका लागि घर निर्माण गर्नुको के अर्थ भन्दै धेरैले सम्झाउन थाले ।

उनीहरुको यस्तो निर्णयले धेरै शुभचिन्तकलाई भावुक बनायो । त्यसपछि देश-विदेशबाट सहायता गर्ने क्रम बढ्यो । घर बेच्नु नपर्ने स्थिति बन्दै गयो । ४७ लाख सहयोग जुट्यो, करिब ६७ लाखमा बस्ती तयार भयो । झण्डै २० लाख धुर्मुस-सुन्तलीले आफ्नो गोजीबाट हाले ।

वस्ती निर्माणपछि पनि आफूहरुलाई सहयोग आउने क्रम जारी रहेको र अन्त्यमा ४ देखि ५ लाख मात्र आफूहरुको रकम परेको कुञ्जना बताउँछिन् ।

‘वस्ती हस्तान्तरण गर्दा हामीलाई संसारै जितेजस्तो महसुस भएको थियो,’ उनले भनिन् । नहोस् पनि किन ? सरकारले जनताको एउटा पनि घर बनाउन नसकेका बेला उनीहरुले व्यक्तिगत पहलमा १९ घरको वस्ती नै निर्माण गरेर देखाएका थिए ।

उक्त वस्ती निर्माणले धुर्मुस-सुन्तलीमा समाज सेवाको चस्का राम्रैसँग पस्यो । मानौं कुनै नशाजस्तो । उनीहरु कलाकारितामा मात्रै सीमित रहेर बस्नै नसक्ने भए । त्यसमाथि जसले पनि सोध्ने गर्थे, ‘अबको प्रोजेक्ट के हुन्छ ?’

अन्ततः उनीहरु दोस्रो बस्ती निर्माणमा हाम्फाले । काभ्रेको गिरानचौरमा भूकम्पले लडाएको वस्तीलाई उठाउन कम्मर कसे । यो पहिलेको भन्दा ठूलो र व्यवस्थित प्रोजेक्ट हो ।

यसपटक पनि धुर्मुस-सुन्तलीले पैसा जम्मा गरेर काम सुरु गरेका होइनन् । बस्ती निर्माणको घोषणा गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनको खातामा एक लाख ७४ हजार रुपैयाँ थियो भने बस्तीको अनुमानित लागत थियो चार करोडभन्दा बढी । यसपटक सहयोग नजुटेको भए घर बेचेर पनि केही हुनेवाला थिएन ।

तर, धुर्मुस-सुन्तली आफ्नो मिसनमा सफलतातर्फ अघि बढेका छन् । उनीहरुको अभियानले राष्ट्रिय जागरण पैदा गरेको छ । देश-विदेशमा उनीहरुलाई सहयोग गर्ने लहर चलेको छ ।

०००

‘कलाकारिताको आत्मसन्तुष्टि एक किसिमको हुन्छ,’ कुन्जना भन्छिन्, ‘समाजसेवाको आत्मसन्तुष्टि त्योभन्दा भिन्न र उच्च हुँदोरहेछ ।’

धुर्मुस-सुन्तलीले पैसा जम्मा गरेर काम सुरु गरेका होइनन् । बस्ती निर्माणको घोषणा गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनको खातामा एक लाख ७४ हजार रुपैयाा थियो भने बस्तीको अनुमानित लागत थियो चार करोडभन्दा बढी

समाज सेवामा होमिएपछि आफूहरुलाई हेर्ने समाजको दृष्टिकोण पनि बदलिएको महसुस गरेकी छिन् उनले । उनको भनाइमा पहिले हँसाउने कलाकारका रुपमा एउटा वर्गले मन पराउँथ्यो भने अहिले सबै वर्गका जनताले माया गर्न थालेका छन् ।

धुर्मुस-सुन्तलीको बढ्दो लोकपि्रयता सामाजिक सञ्जालमा छचल्किएको छ । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले आफ्ना लागि भिटामिनको काम गरिरहेको बताउँछिन् कुञ्जना ।

‘पछिल्ला दिनहरुमा यति भावुक सन्देशहरु आउन थालेका छन् कि,’ उनी भन्छिन्, ‘पढ्दापढ्दै आँखामा आँशु आउँछ ।’
‘तपाईंहरु त कलाकार । समाज सेवाको यात्रा कहिलेसम्मलाई हो त ?’ भन्ने अनलाइनखबरको प्रश्नमा कुञ्जनाले यस्तो जवाफ दिइन्,- ‘हामी सामाजिक काममा यति यसरी होमिन्छौं भनेर पहिले सोचेकै थिएनौं । न कुनै योजना बनाएका थियौं । अब हामीले आफ्नो कलाकारितालाई निरन्तरता दिनैपर्छ । किनकि यसमा हाम्रो रोजिरोटी गाँसिएको छ । समाजसेवाबाट पनि हामी बाहिर निस्कन सक्दैनौं, किनकि यसभित्रको आत्मसन्तुष्टि हामीले चाखिसकेका छौं । सम्भवतः अब हामी कलाकारिता र समाजसेवालाई समानान्तररुपमा अघि बढाउने छौं ।’

०००

घरको जेठो छोरा र जेठी बुहारी हुन् धुर्मुस-सुन्तली । उनीहरुकी एउटी छोरी छिन् सुविहानी । काखे छोरीलाई दिदी-भिनाजुको जिम्मामा छोडेर कुञ्जना यत्रतत्र कुदिरहेकी छिन् । छोरीलाई समय दिन सकेकी छैनन् ।

‘तर, जति कम समय दिए पनि छोरीका लागि आमाको बेग्लै महत्व हुँदोरहेछ,’ कुञ्जना भन्छिन्, ‘म नभएका बेला जोसित पनि मान्छे, तर म घरमा बसेका बेला मेरो काखबाट अन्त जान्न । राति झस्केर उठ्छे र मामु खोई भन्छे । उसलाई सँधै मैले छाडेर जान्छु भन्ने मनमा परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment