Comments Add Comment

नीतिगतरुपमा जुम्ला ‘सुपर कृषि जोन’मा छनोट

potato-and-apple
१६ असार, जुम्ला। मुलुकका सातवटा जिल्लासँगै प्रदेश नं ६ अन्तर्गत जुम्ला ‘सुपर कृषि जोन’मा छनोट भएको छ । ११औँ राष्ट्रिय धान दिवसका अवसरमा सो कुरा बताइएको हो ।

मुलुक सङ्घीय संरचनामा गएको कुरालाई मध्यनजर गर्दै नेपाल सरकार, कृषि विकास मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग, प्रमुख दल तथा पत्रकारको लामो छलफलपछि वैशाख महिनामा नीतिगत रुपमा छनोट कार्य टुङ्गो लागेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए ।

“६ नं कर्णाली प्रदेशमा स्याउ उत्पादनको प्रचुर सम्भावना भएकाले जुम्ला ‘सुपर कृषि जोन’मा छनोट भयो र विगत केही वर्षदेखि यो जिल्ला ‘एप्पल जोन’को अवधारणामा अघि बढिरहेको छ”, वरिष्ठ कृषि विकास अधिकृत कँडेलले भन्नुभयो भने।

त्यसैगरी, धान खेतीका लागि प्रदेश नं १ को झापा, माछा खेतीका लागि प्रदेश नं २ को बारा, आलु तथा तरकारी खेतीका लागि प्रदेश नं ३ को काभे्रपलाञ्चोक, तरकारी खेतीका लागि प्रदेश नं ४ को कास्की, मकै खेतीका लागि प्रदेश नं ५ मा दाङ, स्याउ खेतीका लागि प्रदेश नं ६ मा जुम्ला र गहुँ खेतीका लागि प्रदेश नं ७ मा कैलाली जिल्ला ‘सुपर कृषि जोन’मा छनोट गरिएको उनले बताए ।

उहाँका अनुसार कृषि विकासको यो अवधारणाका विषयमा मङ्सिर÷पुस महिनाबाट छलफल हुँदै आएको थियो । सात जिल्लालाई ‘सुपर कृषि जोन’ व्यावसायिक उत्पादन र त्यहाँको उत्पादित वस्तुको सम्भाव्यतालाई आधार बनाएर छनोट गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यी जिल्लालाई ठूलै कृषि क्षेत्रका रुपमा विकसित गर्न बजार सहज गर्ने, कृषि कलेज स्थापना गर्ने, टेलिफोन, टेलिसेन्टरजस्ता सञ्चारका साधनको विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

आव २०७३÷७४ को सुरुवातसँगै सुपर कृषि जोन छनोट भएका जिल्लामा सरकारले विशेष गतिविधि सञ्चालन गर्नेछ । यी जिल्ला कृषि पर्यटनका रुपमा विकसित हुने अपेक्षासमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment