Comments Add Comment

‘एक विद्यालय एक ट्राफिक प्रशिक्षक’ अभियान सुरु

१६ असार, चितवन । बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर ‘एक विद्यालय एक ट्राफिक प्रशिक्षक’ अभियान चितवनमा सुरु गरिएको छ ।

Trafficपहिलो चरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवन मिलेर १५० वटा विद्यालयमा एक-एक शिक्षकलाई ट्राफिक ज्ञान दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार जिल्लाका तीन ठाउँमा निजी विद्यालयका शिक्षकलाई ट्राफिक प्रशिक्षण दिइएको हो । पूर्वी चितवनमा रहेका निजी विद्यालयको परीक्षा सञ्चालन गर्ने संस्था सोसेप्स, भरतपुरको बेस र पश्चिम चितवनको पश्चिम प्याब्सनसँग आबद्ध विद्यालयका शिक्षकलाई प्रशिक्षण दिइएको हो ।

भेटवालका अनुसार निजी विद्यालयका विद्यार्थी बसबाट झरेर बाटो काट्ने बेलामा बढी दुर्घटनामा परेको र उनीहरुमा टाउको र हात बसको झ्यालबाट बाहिर निकालेर बस्ने प्रवृत्ति रहेको देखिएको छ ।

प्रशिक्षित शिक्षकले हरेक शुक्रबार आ–आफ्नो विद्यालयमा शिक्षक र विद्यार्थीलाई ट्राफिक शिक्षा दिने व्यवस्था मिलाइएको छ । बालबालिका भविष्यका चालक र नीति निर्माता समेत हुने भएकाले दीर्घकालीन प्रभावसमेत यसले राख्ने उनले बताए ।

ट्राफिक शिक्षा दिइएका शिक्षकलाई पढाउनका लागि आवश्यक पाठ्य सामग्री, ट्राफिक चिह्न अङ्कित बोर्ड, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ समेत उपलब्ध गराइएको भेटवालले बताए ।

यससँगै सामुदायिक विद्यालयका शिक्षकलाई पनि ट्राफिक शिक्षा दिने तयारी कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment