Comments Add Comment

नयाँ शक्तिकी दूर्गाले भनिन्- एनजीओले दुरुपयोग गरे

'सरकारले गैरसरकारी क्षेत्रलाई साँघुरो पार्दैछ'

१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालकी सह-संयोजक दूर्गा सोबले कतिपय गैरसरकारी संस्थाले समुदायका नाममा सहयोगको दुरुपयोग गरिरहेको बताएकी छिन् । त्यस्ता गैरसरकारी संस्थालाई कारवाही गरिनुपर्ने आफूले पहिल्यैदेखि आवाज उठाउँदै आएको उनले बताइन् ।

Durga-Sob‘केही त्यस्ता एनजीओ/आइएनजीओहरु छन्, जसले समुदायका नाममा स्रोत ल्याएर मिसयुज गरेका छन्,’ नयाँ शक्तिको गैरसरकारी संघसंस्था संयोजन विभागकी संयोजकसमेत रहेकी सोबले भनिन्- ‘गैरसरकारी संस्थाहरुले धेरैलाई रोजगारी पनि दिएका छन्, त्यो राम्रो पाटो हो, तर काम गर्नेले सहयोग पाउँदैन, पहुँचवालाले मात्रै सहयोग पाउँछन्, यसलाई निगरानी गर्नुपर्छ ।’

सरकारले हालै सबै जिल्ला प्रशासनलाई पत्र लेखेर गैरसरकारी संस्थाहरुमाथि अनुसन्धान एवं कारवाही गर्ने भनिरहेको छ, यसबारे नयाँ शक्ति पार्टीको धारणा के छ भन्ने प्रश्नमा सोबले भनिन्-‘सरकारले गैरसरकारी क्षेत्रलाई साँघुरो पार्दैछ, सबैखाले एनजीओ/आइएनजीओलाई एउटै बास्केटमा हालेको छ ।’

लामो समय गैरसरकारी क्षेत्रमा काम गरेर हालैमात्रै नयाँ शक्ति पार्टीमा लागेकी सोबले नेकपा एमालेका नेताहरु एनजीओबाट पालिएको घुमाउरो पाराले आरोप लगाइन् ।

एमाले नेतृत्वको सरकारले गैरसरकारी संस्थामाथि छानविन गर्न लागेको प्रशंगमा उनले भनिन्- ‘कुन पार्टीको बढी एनजीओ छ र कुन पार्टीका नेता-कार्यकर्ताहरु एनजीओबाट पालिएका छन् भन्ने सबैलाई थाहै छ ।’

आफू सुदुरपश्चिमको डोटीमा कथित सानो जातको परिवारमा जन्मेकी हुनाले धेरै प्रकारका विभेदहरु भोगेर यो ठाउँसम्म आइपुगेको उनले बताइन् ।

उमेरले प्रौढ भए पनि युवाजस्तै गरी अब राजनीतिमा लाग्ने उनले बताइन् ।

नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आयोजित नयाँ शक्तिको पत्रकार सम्मेलनमा सहसंयोजक सोब पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँगै उपस्थित भएकी थिइन् । कार्यक्रममा अर्का सहसंयोजक महेस कोर्मोचा सहित नेताहरु रामेश्वर खनाल, पासाङ सेर्पा, महेन्द्र पासवान, खिमलाल देवकोटा, केशव दाहाल, मुमाराम खनाल लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment