Comments Add Comment

फ्रान्सका समर्थक भरतलाई बेलको खेल मनपर्छ

bharat

केहि दिनअघि कोपा अमेरिकाको फाइनल र फाइनलमा पराजित भएपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको सन्यासले करिव करिव युरोकपलाई नै छायाँमा पारेको थियो । तर, फुटबल समर्थहरुका पुनः युरोप फर्किएका छन् ।

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर भरत खवास राष्ट्रिय टोलीको प्रशिक्षणका बाबजुद युरोकपमा खेलहरु टेलिभिजनमार्फत हेरिरहेका छन् । उनी भन्छन्, ‘बिहानैदेखि राष्ट्रिय टोलीको प्रशिक्षण हुन्छ, राति अवेर हुने खेलहरु पनि निन्द्र नलागेसम्म हेर्छु ।’

युरो २०१६ मा उनको मनपर्ने टोली फ्रान्स हो । सन् १९९८ को विश्वकप ताका भर्र्खरै फुटबल बुझ्न थालेका उनी फ्रान्सले विश्वकप जितेसँगै फ्रान्सेली टोलीको ‘फलो’ गर्न थाले । यद्यपि विश्वकपमा भने उनी ब्राजिलका समर्थक हुन् ।

‘फ्रान्सेली टोलीलाई समर्थन गर्न थालेयता युरोकप फ्रान्सले जितेको हेर्न पाएका छैनन्’ भरतले, भन्छन्, ‘फ्रान्सेली फुटबलमा जिनेदिन जिदानेसहितको स्वर्णिम युग समाप्त भएपछि नयाँ टोली निर्माण हुन समय लागेको हो । तर फ्रान्सेली फुटबलमा कहिल्यैपनि स्टारहरुको कमी भने भएन । भयो त केवल सन्तुलनता मिलेन ।’

तर,यसपटक फ्रान्सले युरोकपको उपाधि जित्नेमा भने भरत आशावादी छन् । उनका अनुसार पहिले त फ्रान्सलाई घरेलु समर्थक र मैदानको साथ छ, घरमा जहिलेपनि भाग्यमानी रहेको फ्रान्सेली टोलीमा युवा खेलाडीहरुले राम्रो खेलिरहेका छन् र टोलीमा तालमेल पनि उत्कृष्ट छ ।’

तर, फ्रान्सेली फुटबलका हस्तिहरु जस्तै पाउल पोग्वा, ओलिभर जिरोर्ड लगायतको प्रदशर्न अहिलेसम्म आशातित हुन नसकेकोमा फ्रान्सले ठूलै मुल्य चुकाउन सक्नेमा भरतको आशंका छ । उनी भन्छन्, ‘उपाधि जित्ने लक्ष्य हो भने फ्रान्सेली टोलीको प्रदर्शनमा सुधार हुनु जरुरी छ । आफुले समर्थन गरेको टोलीले जितोस् भन्ने सबैले चाहन्छन् तर, फुटबलमा राम्रो खेल्ने टोलीले जित्ने हो ।’

जारी युरोमा आशा गरिएका स्ट्राइकरहरुको प्रदर्शन सन्तोषजनक नभएको उनी स्वीकार्छन् । ‘नेपाली टोलीको स्ट्राइकर भएको नाताले मैले स्ट्राइकरहरुको खेल बिशेष नियाल्छु’ भरत भन्छन् ‘तर आशा गरिएका खेलाडीहरु जस्तै रोनाल्डो, रोबर्ट लेवाण्डोस्की, ओलिभर जिरोर्ड, थोमस मुलर लगायतको प्रदर्शन सन्तोषजनक छैन ।’

उनका अनुसार विश्वस्तरीय खेलाडीलाई रोक्ने रणनीति हरेक विपक्षीको हुन्छ । सायद उनीहरुपनि त्यसैको शिकार भएका हुन् साथै जोसँग धेरै अपेक्षा गरिन्छ, उसले जस्तो खेलेपनि चित्त बुझ्दैन । भरतले भने, ‘रोनाल्डोले एकपटक भनेका छन् कि टोलीले जित्छ भने म नराम्रो खेल्न तयार छु । हुनपनि उनले नराम्रो खेलेपनि पोर्चुगलको प्रदर्शन राम्रै देखिएको छ । उनका अलावा जिरोर्ड, मुलर, लेवाण्डोस्की लगायतले राम्रो खेल्न नसकेपनि टोलीले खेलेका छन् ।’

भरतलाई यसपटकको युरोमा उनलाई असाध्यै मन परेको स्ट्राइकर वेल्सका ग्यारेथ बेल हुन् । भन्छन्, ‘उनले अहिलेसम्म सर्बाधिक ३ गोल गरेका छन् र केहि एसिष्टपनि छन् । उनी एक्लैको प्रेरणामा वेल्सले इतिहास बनाएको छ ।’ उनले थपे, ‘पहिलो सहभागितामै वेल्सले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । म वेल्स फाइनलसम्म पुगेको हेर्न चाहन्छु ।’

यस युरोमा बिशाल अण्डरडगको रुपमा पहिचान बनाउन सफल आइसल्याण्डको टोलीबारे भरतको टिप्पणी पनि रोचक छ । खासमा उनले उत्तरी युरोपेली टालु मुलुक आइसल्याण्ड भन्ने मुलुकको नाम नै पहिलो पटक सुनेका रहेछन्, ‘नामै नसुनेको टोलीले स्टार खेलाडीले भरिएको टोलीलाई पराजित गर्दा म त छक्कै परेँ, वास्तवमै त्यो सरप्राइज्ड प्याकेज हो’, भरतले भने, यहीबाट प्रमाणित हुन्छ कि फुटबलमा जित हासिल गर्नको लागि स्टार खेलाडी होइन संगठनात्मक खेल चाहिन्छ । फुटबललाई त्यसै टिमगेम भनिएको होइन ।’ भरतका अनुसार वेल्स र आइसल्याण्ड जारी युरोका सरप्राइज्ड टोली हुन् ।

आजबाट युरोकपको क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा मार्सेलीमा पोल्याण्ड र पोर्चुगल आमने सामने हुँदैछन् ।

भरत भन्छन्, ‘मेरो बिचारमा आजको खेलमा पोर्चुगलले जित्नसक्ने सम्भावना केहि बढि छ । क्रिष्टियानो रोनाल्डो एक्ललैको प्रदर्शनमा खेलको नतिजा फरक पार्नसक्ने खुवी भएका स्टार हुन् । तर, पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवाण्डोस्की प्रतियोगितामा गोलबिहीन छन् । उनी चम्किएभने पोल्याण्डले खेल जित्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment