Comments Add Comment

कांग्रेस आफैं संविधान कार्यान्वयनमा उदासिनः प्रधानमन्त्री

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमाथि संविधान कार्यान्वयनमा उदासीन बनेको आरोप लगाएका छन् ।

KP-Oliप्रधानमन्त्री ओलीले बिहीबार कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले भरिएको हलमा पुगेर संविधान जारीपछि कांग्रेसले विस्तारै बाटो बिराएको र आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनप्रति नै उदासीनता देखाएको आरोप लगाए ।

गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस, कांग्रेस पार्टीको रुपमा चिनिनुमा गिरिजाप्रसादको असाधारण योगदान रहेको बताए । तर, अहिले कांग्रेसले नै गिरिजाप्रसादको योगदानलाई भुलेको एमाले अध्यक्ष समेत रहेका ओलीको बुझाइ छ ।

उनले सरकारको आलोचनामा समय खर्च गर्नुको साटो आफ्नो नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा केन्द्रीत हुन कांग्रेसलाई सुझाव दिए । उनले भने, कांग्रेसको उदासिनता अलिकति अनौठो लाग्यो । बाउलाई ओडारमा छोडेपछि डोको त लिएर जानुपर्ला बा भनेर बच्चाले भनेको सम्झिए पुग्छ ।’

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानमा गरिएको व्यवस्था अनुसार अबको डेढ वर्षभित्र स्थानीय र प्रदेश तह तथा संघीय संसद्को निर्वाचन हुन नसके मुलुक २०४६ साल अगाडिको अवस्थामा फर्किने खतरा औंल्याए । उनले संविधानलाई ख्यालठट्टाको रुपमा नलिन आन्दोलनरत मधेसवादी दलहरुलाई सुझाव दिंदै वार्तामार्फत समस्याको समाधानका लागि उदार हुन सरकारसँग पनि आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री विजयकुमार गच्छदारले मधेश समस्याको समाधान गरेर संविधानको कार्यान्वयनका लागि सबैभन्दा ठूलो दलको नाताले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए ।

आफू सरकारको जिम्मेवार मन्त्री भएपनि अहिलेको वहुमतीय सरकारबाट संविधानको कार्यान्वयन हुनै नसक्ने उनले बताए । फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदारले सहमतीय सरकार गठनका लागि पहल गर्न काँग्रेससँग आग्रह गरे ।

उपप्रधानमन्त्री गच्छदारले यो अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रमस्थलबाट वाहिरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment