Comments Add Comment

काठमाडौं टावर निर्माण सुरु, यसरी रुप फेर्दैछ पुरानो बसपार्कले (भिडियोसहित)

Kathmandu View Tower१६ असार, काठमाडौं । कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ । निर्माता कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले निर्माण सुरु गरेको हो ।

अत्याधुनिक सुविधासहित बन्न लागेको टावरको निर्माणका लागि जग खन्ने काम प्रारम्भ भएको छ । टावरको गत कात्तिक महिनामै उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

टावर निर्माणका लागि भारतबाट अत्याधुनिक निर्माण उपकरण आइपुगेलगत्तै कम्पनीले पुरानो बसपार्कमा काम सुरु गरेको काठमाडौं महानगरपालिकका सूचना अधिकारी महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

टावर निर्माणका लागि झण्डै २ महिनाअघि नै पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । तर, भारतबाट समयमै उपकरण नआएपछि काम अघि बढ्न सकेको थिएन ।

‘बुधबार राति भारतबाट आवश्यक उपकरणहरु आएका छन्’ काफ्ले भने-‘त्यसलगत्तै त्यसको परीक्षण प्रयोग गर्दै टावर निर्माणका लागि काम सुरु भएको छ ।’

kathmandu tower (5)
अबको तीन वर्षभित्र काठमाडौं टावरले आफ्नो डिजाइनअनुरुपको स्वरुप पाउनेछ । त्यसपछि निर्माण कम्पनीले २७ वर्ष सञ्चालन गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

हरेक विकसित शहरको पहिचानका लागि एउटा भ्युटावर पहिचानका रुपमा स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यो टावर बनाउन लागिएको हो ।

kathmandu tower (1)
टावरको डिजाइन इञ्जिनियर विष्णु पन्थीले गरेका हुन् । १ सय ३१ मिटर उचाइको टावर २९ तला अर्थात १ सय ३१ मिटर अग्लो हुनेछ ।

अत्याधुनिक बस टर्मिनलसहित निर्माण हुने टावरमा होटल, रेष्टुरेन्ट, फिटनेश हल, सेमिनार हल, सिनेमा हल, स्वीमिङ पुल, सपिङ सेन्टरहरु रहनेछन् । यसमा झण्डै ८ हजारभन्दा बढी नेपालीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

kathmandu tower (7)
अहिलेसम्म टावरको १२ तला मात्रैको नक्सा पास भएको छ । बाँकी १७ तलाको नक्सा पासका लागि शहरी वस्ती विकास मापदण्डलाई परिमार्जन गर्ने तयारी छ ।

भूकम्पपछि लागू भएको मापदण्डले शहरी क्षेत्रमा निर्माण हुने टावरहरु १२ तलामा भन्दा माथिको बनाउन रोक लगाएको छ । तर, भूकम्पप्रतिरोधी शहरी टावरहरु निर्माण गर्दा २९ तलासम्म निर्माण गर्न सकिने गरी मापदण्ड संशोधन गर्न स्थानीय विकास मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।

अहिले पास भएको नक्साकै आधारमा निर्माण अघि बढाउने र ६ महिनाभित्रै डिपीसीको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ । २३ रोपनी जग्गा रहेको पुरानो बसपार्कको ४० प्रतिशत भू-भाग टावरले ओगट्ने छ । ६० प्रतिशत भाग खुला रहनेछ । भवनमा ईटाको प्रयोग नगरी क्रंक्रिट र स्टिलको मात्रै प्रयोग गर्ने निर्माण कम्पनीले जनाएको छ ।

kathmandu tower (4)
काठमाडौं टावर दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १२ तलाको भवन बनाउन महानगरले स्वीकृति दिएको छ । पहिलो चरणको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणको काम सुरु हुनेछ ।

टावर निर्माणका लागि ६ देखि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्ष अगाडि नक्सा तयार पार्दा ५ अर्बको अनुमान गरिएको थियो । अहिले बजार भाउ बढेको हुँदा २ अर्ब थपिने अनमान गरिएको हो ।

टावरमा तीन तला पार्किङ हुनेछ । अन्डरग्राउन्ड र बेसमेन्टमा बसहरु पार्किङ गरिनेछ भने माथिल्ला दुईतलामा साना गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिनेछ । यसले गर्दा अहिले भइरहेको बसपार्क मासिने छैन र अझ अत्याधुनिक हुनेछ ।

kathmandu tower (3)
पार्किङभन्दा माथिको भाग व्यावसायिक प्रयोजनमा लगाइने छ । टावरको २० तलामाथि स्वीमिङ पुल हुनेछ । यसका साथै मल्टिप्लेक्स सिनेमा हल, होटल, रेष्टुरेन्ट तथा गेमिङ जोन पनि हुनेछन् ।

सबैभन्दा माथिको भाग दृश्यावलोकनका लागि छुट्याइने भएको छ । उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा टावरमा आन्तरिक तथा वाह्य पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ । साथै यसले काठमाडौंको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ ।

भिडियो हेर्नुहोस् 

२०७३ असार १६ गते २०:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment