Comments Add Comment

आइतबारदेखि घरमै बसेर राहदानीको आवेदन दिन सकिने

१७ असार, काठमाडौं । तपाईलाई नयाँ पासपोर्ट अर्थात राहदानी आवश्यक परेको छ र समय अभावले राहदानी विभाग पुग्न सक्नु भएको छैन ?  वा नयाँ आवेदन दिनका लागि लामो लाइनमा बस्नुपर्ने कुराले तपाईंलाई चिन्तित बनाएको छ ?

MRPअब चिन्ता गर्नु पर्दैन । सेवाग्राहीको सहजताका लागि राहदानी विभागले अनलाइनमाध्यमबाट घरैमा बसेर पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । विभागले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइबाटै गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यसपछि तपाईंले अनलाइनबाट बारकोड नम्बर पाउनु हुनेछ । उक्त नम्बर बोकेर गएपछि विभाग आफैंले तपाईको फोटो खिच्छ, विवरण रुजू गर्छ र काम अघि बढाउँछ ।

विभागले आइतबारदेखि अनलाइन माध्यमबाट आवेदन दिने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले पैसा तिर्नुपर्दैन ।

यसबाट विवरण नमिलेका कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।

अहिलेसम्मको व्यवस्था

राहदानीका लागि आवेदन दिन चाहने सेवाग्राहीले अनलाइनबाट र्फम डाउनलोड गरी आफैं भर्नुपर्दथ्यो । यसो गर्दा विवरण नमिल्ने, केरमेट हुने र लेखाइ नमिल्ने जस्ता समस्याले सेवाग्राही हैरान हुने गरेका थिए ।

यस्तै फोटो आफैं खिचाउनु पर्दा फोटोको आधार, आकृति नमिल्ने उस्तै समस्या सेवाग्राहीले भोग्नुपर्दथ्यो । सबै विवरण मिलेपनि फारम दर्ता गराउन तीन ठाउँमा घण्टौं लामो लाइनमा बस्नुपर्ने समस्या थियो । सेवाग्राहीको भिड बढ्दा कार्यालयमा समेत काम गर्न असहज हुने गरेको महानिर्देशक थापाले बताए ।

अब के गर्नु पर्दैन ?

अब अनलाइन फारम भरेर प्राप्त बारकोड नम्बर बोकेर गएपछि विभाग आफैंले फोटो खिच्ने व्यवस्था मिलाएको छ । यसले गर्दा फोटोको आकार र आकृति नमिल्ने समस्याको अन्त्य हुनेछ ।

यस्तै फार्म भर्नका लागि दिनभर लाइन बस्नुपर्ने छैन । फुर्सदको समयमा जुनसुकै समयमा घरबाटै आवेदन दिन सकिने छ । बाहिर फोटो खिचाउँदा र फारम भर्न लगाउँदा तिर्नुपर्ने अतिरिक्त पैसा पनि जोगिने छ । यसअघि राहदानी बाहेक थप प्रतिव्यक्ति ४ सयसम्म तिर्नुपर्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment