Comments Add Comment

भोला सिलवालको विश्लेषण-पोर्चुगल र जर्मनी फाइनलमा पुग्न सक्छन्

Bhola-Silwal

नेपाली राष्ट्रिय फुटबल टोलीका भेट्रान मिडफिल्डर भोला सिलवाल खुट्टाको चोटका कारण मैदानमा नदेखिएको करिव १ बर्ष भयो । नेपाल पुलिस क्लवका यी स्टारले फ्रान्समा जारी युरोकपका खेलहरु टेलिभिजनबाट प्रत्यक्ष हेरेर फुर्सदको समय सदुपयोग गरिरहेका छन् । युरोकपमा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु सकिँदैछन् । १/२ खेलहरु मिस गरेपछि अन्य सबै खेलहरु हेरेका भोला सिलवालले जारी युरोकपबारे यसरी टिप्पणी गरेका छन् ।

यसअघिका संस्करणमा राष्ट्रिय टोली तथा क्लव फुटबलमा ब्यस्त हुने भएकाले राम्ररी हेर्न पाएको थिइनँ । तर अहिले चोटग्रस्त भएकाले फुर्सदको समय मैले युरोकप हेरेर सदुपयोग गरिरहेको छु । केहि खेलबाहेक युरोका सबै खेलहरु हेरेको छु । यसरी विश्वस्तरीय ठूला प्रतियोगिताका खेलहरु नछुटाइ हेरेको शायद पहिलो पटक हो ।

विश्व फुटबलमा मेरो मनपर्ने टोली ब्राजिल हो । तर युरोकपमा मैले यसपटक पोर्चुगललाई समर्थन गरेको छु । आफ्नो मनपर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो भएकाले युरोकपमा पोर्चुगललाई समर्थन गरेको हुँ । टोलीले राम्रो प्रदर्शन गरिरहेको छ र सेमिफाइनलसम्म पुगेको छ । यसमा समर्थकको नाताले सन्तुष्ट छु ।

तर निरपेक्ष रुपमा भन्ने हो भने पोर्चुगलले राम्रो खेलिरहेको छैन जति उसको क्षमता छ । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् । विश्वका उत्कृष्ट खेलाडीमाथि दवावका साथै विपक्षीको नजरपनि उत्तिकै हुन्छ, शायद त्यही कारणले होला उनको प्रदर्शन कमजोर देखिएको छ । यसका साथै क्लव फुटबलमा देखिले ‘वान म्यान स्पिरिट’ पनि उनले जारी युरोमा पोर्चुगलको जर्सीमा देखाउन सकेका छैनन । उमेरको कारणले पनि हुनसक्छ उनको खेलस्तर २० को १९ भएको हो कि जस्तो अनुभव मैले गरेको छु ।

यद्यपी पोर्चुगलले संगठनात्मक फुटबल खेलेको छ । उसका सबै पोजिसनका खेलाडीहरुले राम्रो खेलिरहेका छन् । भाग्यले पनि उसैलाई साथ दिएको जस्तो लाग्छ । समूहको अन्तिम खेलमा हंगेरीबिरुद्ध तथा नकआउट चरणको पहिलो खेलमा पोर्चुगलले पोल्याण्डलाई पराजित गर्दा भाग्यको साथपनि रहृयो भन्दा हुन्छ ।

राष्ट्रिय टोलीबाट मैले मिडफिल्डर पोजिसनमा खेल्छु । यस युरोमा मेरो पोजिसनबाट खेल्ने खेलाडीमा पोर्चुगलकै रेनाटो सान्चेसको खेल मलाई निक्कै मन परेको हो । १८ बर्षीय यस खेलाडीले भविश्यमा पोर्चुगलको नायक बन्न सक्छ । उनका अलावा फ्रान्समा पल पोग्वा, वेल्सका एरोन राम्सेपनि राम्रा छन् । इनिएष्टा मेरा मनपर्ने खेलाडी थिए तर स्पेन यसअघिनै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यसपटकको युरोमा अप्रत्यासित नतिजाहरुपनि निस्किएका छन् । आइसल्याण्डले स्टारहरुले भरिएको इंग्ल्याण्डलाई पराजित गरेको छ । वेल्स पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यसमा उनीहरु भाग्यले मात्र नभइ राम्रो फुटबल पस्केरै माथि पुगेका हुन् । नयाँ टोलीहरुमा जोस जाँगर उत्तिकै छ र ठूला भनिएका प्रतिस्पर्धीलाई हराउन सक्छौं भन्ने भावनाका साथै ‘टिम स्पिरिट’ पनि राम्रो छ ।

हामीले गत सिजन इंग्लिस पि्रमियर लिगमा लिसेस्टर सिटीलाई देख्यौं । त्यस्तै प्रदर्शन वेल्स र आइसल्याण्डले गरिरहेका छन् । इंग्ल्याण्डले त्यस खेलमा नराम्रो प्रदर्शन गरेको होइन । धेरै एट्याक गरेको थियो तर गोल गर्न सकेन । त्यसको विपरित आइसल्याण्डले पाएका थोरै अवसरमा चुकेन र जित हासिल गर्न सफल भयो ।

यसपटकको युरोको फाइनलमा पोर्चुगल र जर्मनी पुग्छन् भन्ने मेरो अनुमान हो । सेमिफाइनलमा पोर्चुगल र वेल्सबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ । व्यवसायिक फुटबलमा एकै टोलीका दुई सुपरस्टारले आ-आफ्नो मुलुकका लागि दमदार खेलिरहेका छन् । यता आजको खेलमा जित हात पारेमा आयोजन फ्रान्स र जर्मनीको सेमिफाइनलमै भेट हुनेछ । विश्वबिजेता जर्मनी केहि बलियो देख्छु मैले ।

आज क्वाटरफाइनल चरणको अन्तिम खेल आयोजक फ्रान्स र आइसल्याण्डबीच हुँदैछ । यस खेलमा फ्रान्सलाई घरेलु समर्थक र मैदानको फाइदा छँदैछ त्यसका बाबजुद फ्रान्सको प्रदर्शन यस युरोमा नराम्रो छैन । यता उपाधिको दावेदार मानिएको इंग्ल्याण्डलाई पराजित गरेको आइसल्याण्डको मनोबल उच्च छ । यहाँसम्मको यात्रा नै आइसल्याण्डका लागि ऐतिहासिक बनिसकेको छ त्यसैले उ दवावरहित भएर खेल्नेछ । त्यसको विपरित घरेलु समर्थकलाई खुसी पार्नुपरेने दवाव छ । यद्यपी आजको खेलमा फ्रान्स हावी हुने मेरो अनुमान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment