Comments Add Comment

माथिल्लो तामाकोसीको निर्माण कार्य तीब्र

Upper-Tamakoshi-Hydro

१९ असार, काठमाडौं । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो मेसिनको प्रयोग भइरहेको छ ।

भूकम्पका कारण आयोजनास्थल प्रवेश गर्ने काब्रेभिरको सडक ध्वस्त भएको थियो । कडा चट्टान काटेर सडक निर्माण गर्नुभन्दा सुरुङ निर्माण गर्नु नै उपयुक्त हुने हुँदा सुरुङ निर्माण सुरु गरिएको हो । ‘ब्रमुर मेसिनको प्रयोगले केही दिनमै सुरुङ सम्पन्न हुन्छ भन्ने विश्वास छ’ उने भने । रोड टनेल निर्माण गर्न समेत जर्मनीको ब्रुमर प्रयोग गरिएको थियो ।

उपप्रधानमन्त्री एवम ऊर्जामन्त्री टोपबहादुर रायमाझी, व्यवस्थापिका–संसद् विकास समिति, कृषि तथा जलस्रोत समितिका सभापतिसहितको टोलीले हालै स्थलगत निरीक्षण गरी आयोजना अगाडि बढाउन निर्देशन दिएको थियो । काब्रेभिरमा सुरुङ निर्माणसँगै बाँधस्थल तथा अन्य भौतिक संरचनाको कामलाई समेत अगाडि बढाइएको छ । वीरगन्ज भन्सारमा थन्किएका सामग्री आयात सुरु गरिएको छ ।

नाकाबन्दीका कारण कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज भन्सार सामान आइपुग्न लामो समय लागेको थियो । बर्खा लागेपछि ट्रान्सफर्मर, पेनस्टक पाइपलगायत सामान आयात गर्न समस्या भएको प्रवक्ता न्यौपानेले बताए । वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय निकुन्ज विभागको स्वीकृतिपछि प्रसारण लाइनको कामले समेत गति लिएको छ ।

गोगरदेखि खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनमध्ये ४५ वटा टावर निर्माण गरिएका छन् भने फाउन्डेसनको काम पनि अन्तिम चरणमा पुगेको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको आयोजनालाई आव २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment