Comments Add Comment

पहिरोमा पुरिएर प्यूठान र गोरखामा ११ को मृत्यु

Pyuthan-Pahiro

२१ असार, काठमाडौं । प्यूठान र गोर्खामा पहिरोमा पुरिएर एघार जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्यूठानमा आठ र गोर्खामा तीन जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान प्यूठानको रजवार गाविस-३ नेटामा दुर्गाबहादुर मल्लको घर पहिरोले पुरिँदा उनीसहित परिवारका पाँच सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गाबहादुर मल्ल, उनकी ३७ वर्षीया श्रीमती सीता, छोरीहरु १० वर्षीया सुशीला, चार वर्षीया श्रृजना र दुई वर्षीया लेखा मल्ल रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

छिमेकीको घरमा बस्न गएका दुई छोरा, घरकै बारदलीमा सुतेका एक छोरा र एक छोरी भने पहिरो आएको थाहा पाएपछि भागेर बचेका छन् ।

मंगलबारै प्यूठानको पुँजा गाविस-३ बाग्लीवाङमा हुमबहादुर सुनारको घर भत्किँदा हुमबहादुरसहित उनकी ६० वर्षीया श्रीमती खसी सुनार र ६ वर्षीया छोरी सीमाको मृत्यु भएको छ ।

यसैबीच सामान्य प्रशासन मन्त्री रेखा शर्माले आठ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले मंगलबार विज्ञप्ति निकालेर बाढी पहिरो पीडितको उद्धार तथा राहतका लागि आफूले पहल गरिरहेको जानकारी दिएकी छन् ।

मंगलबार विहानै खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली रजवारा घटनास्थलमा पुगेको थियो । दुर्गम रजवार र पुजा गाविस बाग्लुङ जिल्लाको सीमा क्षेत्रमा पर्दछन् । घटनास्थल सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।

प्युठानको झिमरुक नदीमा १३ वर्षपछिकै ठूलो बाढी आएकाले वरपरका खेतीयोग्य जमिन, बस्ती र बजार डुबानमा परेका छन् ।

यसैगरी गोर्खाको केरौंजा गाविस-३ मा आएको पहिरोमा पुरिएर ४३ वर्षीया कान्छीमाया गुरुङ, ३० वर्षीया चिनमाया गुरुङ र १५ वर्षीया सञ्जीव घलेको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बाढी, पहिरो, डुबान जस्ता विपदतका घटनाबाट जनधनको क्षति न्यूनिकरणका उच्च सतर्कमा रहन स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment