Comments Add Comment

रेल्वेको सपना सही, अब काम पनि गरौं

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले रेल्वे सेवा विस्तार गर्ने उदघोष गरिरहँदा नेपाल जस्तै भौगोलिक बनावट भएको स्वीट्जरल्याण्डले विश्वकै सबैभन्दा अत्याधुनिक ५७ किलोमिटर लामो गोथार्ड बेस टनेलको प्रयोग शुरु गरेको छ । यसले समग्र युरोपको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ ।

Shishir-Nepalसम्भवतः सन् १७९८ मा बेलायतमा लेक लक रेल रोडको नामबाट शुरु भएको पहिलो सार्वजनिक रेल्वे सेवादेखि सन् २०१६ सम्म आइपुग्दा रेल्वेले अभुतपूर्व विकास हासिल गरेको छ । आज विश्वका कयौं मुलुकमा चालक विनाको बुलेट ट्रेन अर्थात एटीपी (अटोमेटिक ट्रेन प्रोटेक्सन) करिब ६०३ कि.मी. प्रतिघन्टासम्म कुद्न सक्छन् । यो विकासले त्यहाँका मानिसहरुको दैनिक जीवनयापनमा मात्र होइन, देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय भूमिका खेलेको छ भन्ने कुरामा कुनै दुईमत छैन ।

रेलमार्ग नेपाल जस्तो पहाडी मुलुकको निम्ति सजिलो नभए पनि असम्भव चाहिँ होइन भन्ने कुरा सर्वविदितै भइसकेको छ । नेपाल जस्तो भौगोलिक संरचना भएका देशहरु स्वीट्जरल्याण्ड, मंगोलिया, बोलिभिया जस्ता मुलुकहरुमा रेल्वे सेवा मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । चीनको कुमुङहाई तिब्बत रेल्वे, कलका सिमला रेल्वे, बोलिभियाको रियो मुलाटोस-पोटोलाइन जस्ता रेल्वे लाइन नेपालजस्तो भूगोलमा बनाउन सकिन्छ ।

हाम्रो विडम्बना हामी एकातिर संसारकै सबैभन्दा ठूलो रेल्वे सेवा भएको छिमेकी मुलुक भारत र अर्कातिर संसारकै सबैभन्दा द्रुत गतिमा चल्ने रेल्वे सेवा विस्तार गरेको छिमेकी मुलुक चीनको बीचमा उभिएर अझै पनि भन्दैछौं कि के यो सम्भव छ ? दुखको कुरा सन् १९२७ मा स्थापना भएको जनकपुर-जयनगर रेल्वे नाम मात्रको रेल्वेमा परिवर्तन भएको छ ।

भनिन्छ, सपना बिना कुनै पनि मानिसका आकांक्षाहरु पुरा हुन सक्दैनन् । केहि वर्षअगाडि मार्क जुकरवर्ग र स्टीभ जब्सले सपना नदेखेको भए आज हाम्रो जीवनमा पर्याय बनिसकेका फेसबुक र स्मार्ट फोन हाम्रा परिकल्पनाबाट निकै टाढा हुने थिए । विश्वले द्रुतगतिमा रेल्वे सेवा विस्तार गरिरहँदा हामी नेपालीले यसका बारेमा किन सोच्न सकेनौं ? यसमा प्रष्ट उत्तर छ, हाम्रा राजनेताहरुले हामीलाई विपनाको त कुरै छाडौं सपना पनि देखाउन सकेनन् । हामी आफु पनि दलगत र गुटगत राजनीतिको लुचाचुँडीबाट माथि उठ्न सकेनौं । ढिलै भए पनि हामीलाई सपनाहरु देखाइएको छ र वर्तमान प्रधानमन्त्री सपनाकै निम्ति भए पनि धन्यवादका पात्र हुनुहुन्छ ।

सिंगापुरका लि क्वान यी, मलेशीयाका महाथीर मोहम्मदले समृद्धिको सपना नदेखेर देशलाई त्यो बाटोमा नडोहोर्‍याएको भए सिंगापुर र मलेशियालाई आजको रुपमा देख्न सकिदैनथ्यो । त्यसैले पनि नेपाल जस्तो साधारण देशमा ओली जस्तो असाधारण सपनाहरु देखाउने राजनेताको नेतृत्व आवश्यक छ भन्दा अतिशयोक्ति नहोला ।

हाम्रा राजनेताहरुले हामीलाई विपनाको त कुरै छाडौं सपना पनि देखाउन सकेनन् । हामी आफु पनि दलगत र गुटगत राजनीतिको लुचाचुँडीबाट माथि उठ्न सकेनौं

रसुवागढी-काठमाडौं दुवै लुम्बिनीसम्म, महेन्द्रनगरदेखि लुम्बिनीसम्म, बिराटनगरदेखि चितवनसम्म र समाचारमा आएअनुसार भारतबाट प्रस्तावित पाँच रेल्वे लाइन र चीनबाट प्रस्तावित रेल्वे लाइनको एक चौथाई मात्रै काम हुन सक्यो भने यसले आधुनिक नेपालको आर्थिक र सामाजिक रुपान्तरणतर्फको यात्रा प्रारम्भ हुनेछ । यो विकासले आम नेपालीको वर्तनमान जोखिमपूर्ण यात्रालाई सहज र सुरक्षित मात्रै होइन, यात्राको समयलाई पनि उल्लेखनीय रुपमा घटाउने छ । यसको अलावा यो विकासले असंख्य अवसरहरुको सृजना गर्नेछ । देशभित्रै रोजगारी पर्याप्त हुनेछ । कृषिजन्य, वस्तु, खाद्य पदार्थ र फलफूलमा अरवौं रुपैयाँलाई विदेशिने परम्परालाई निरुत्साहित गर्नेछ । फलस्वरुप ४५ डिग्री सेल्सियसको तापक्रममा मध्यपूर्वका देशमा कडा परिश्रम गरिरहेका लाखौं नेपाली दाजुभाई र दिदी बहिनीहरुलाई स्वदेश फर्केर कृषि तथा अन्य व्यवसायमा आत्मनिर्भर बनाउन पनि उच्च भूमिका खेल्ने छ ।

त्यसैगरी छिमेकीबाट पटक-पटक लगाइने घोषित र अघोषित नाकाबन्दी नेपालको निम्ति सरोकारको विषयसमेत हुने छैन । यसले अन्ततः आत्मनिर्णयको बलमा देशलाई अगाडि बढ्न प्रेरित गर्नेछ र नेपथ्यबाट चालिने षडयन्त्रमुलक राष्ट्रघाती कदमहरु ओझेलमा पर्नेछन् ।

अर्को आकर्षण भनेको पहाडी रेल्वे सेवा हो जुन विश्वमा नै नमुना हुनेछ । यसले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने छ । दोस्रो चरणमा काठमाडौं उपत्यकाभित्रको यातायातलाई सहज बनाउनका लागि काठमाडौं मेट्रोे सेवा सञ्चालन गर्न सकिन्छ, जसले काठमाडौंको आधुनिकीकरणमा नयाँ आयाम थप्नेछ । भर्खरै सरकारले रेल्वे सम्भाव्यता अध्ययनका निम्ति छुट्याएको बजेट र चाइनिज कम्पनीले गरिरहेको सम्भाव्यता अध्ययनलाई एउटा सुखद सुरुवात मान्न सकिन्छ । आशा गरौं नेपाल सरकारले रेल्वे सेवा विस्तारलाई विशेष प्राथमिकताको आधारमा अगाडि बढाउने छ । र आगामी दश वर्षभित्र रेल्वे सेवा आम नेपालीको दैनिक जीवनको अभिन्न अंग बन्न सक्नेछ ।

(लेखक अष्ट्रेलियास्थित सिड्नी ट्रेनमा वरिष्ठ इन्जिनीयरका रुपमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment