Comments Add Comment

चरा ठोक्किएको वायुसेवा निगमको ‘एयरबस’ बनाउन एक साता लाग्ने

NAC Airbus 320
२३ असार, काठमाडौं । बिहीबार बिहान चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न १ साता लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरबस ३२० जहाज विहान १०:०५ बजे हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा आएर ठोक्किएको थियो ।

चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रूपमा रोकिएको थियो । जहाजमा ५८ प्यासेञ्जर र ८ जना चालक दलका सदस्यहरु रहेका थिए । विमानमा सवार सबै सकुसल रहेको निगमले जनाएको छ ।

चरा ठोक्किएपछि जहाजको इञ्जिनमा समस्या आएको छ । अहिले त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ । जहाज मर्मत गर्नका लागि एक साता लाग्ने निगमले जनाएको छ ।

उडिसकेको जहाज चरा ठोक्किएर ग्राउन्डेड भएपछि निगमले अर्को एयरबस ३२० जहाजबाट यात्रुलाई हङकङ उडाएको छ । यसअघि पनि त्रिभुवन विमानस्थलमा पटक-पटक आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरु चरासँग ठोक्किएका छन् ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस ए३२०-२०० र दुईवटा बोइङ ७५७ जहाज रहेका छन् । जसमध्ये एउटा बोइङको एउटा इञ्जिन बनाउनै नमिल्ने गरी बिग्रिएपछि ग्राउन्डेड अवस्थामा छ । जसलाई निगमले कवाडीमा बिक्री गर्ने योजना बनाएको छ ।

निगमले तीनवटा जहाजबाट तालिका बनाएर अन्तर्राष्ट्रिय उडान उडान भरिरहेको थियो ।  तीनवटा जहाजमध्ये बिहीबार एउटा एयरबस ग्राउन्डेड भएपछि दूईवटा जहाजबाट उडान भर्नुपर्ने अवस्था भएको छ ।

निगले अहिले ५ देशका ७ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले भारतको दिल्ली, मुम्बई, बैंग्लौर, बैंकक, हङकङ, दोहा, मलेसियामा उडान भर्दै आएको छ । छिट्टै दुबई र चीनको ग्वञ्झाओमा उडान सुरु गर्ने तयारीमा निगम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment