Comments Add Comment

हालसम्मकै धेरै बिक्यो वैदेशिक रोजगार बचतपत्र

Golf-country, Baideshik Rojgari
४ साउन, काठमडौं । पछिल्लो समय बैदेशिक रोजगार बचतपत्रप्रति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको आकर्षण बढेको छ । बचतपत्रको निष्काशन गर्ने विधिलाई केही सरलीकरण गरेपछि र यसप्रतिको जनचेतनामा अभिवृद्धि भएपनि आकर्षण बढेको राष्ट्र बैंकका राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई बताए ।

गत आर्थिक वर्ष २०७२/०७३ मा यो बचतपत्र सरकारी लक्ष्यको ५५ प्रतिशत बिक्री भएको छ । गत आवमा सरकारले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने लक्ष्य राखेकोमा २७ करोड ५ लाख १५ हजार रुपैयाँको बचतपत्र बिक्री भएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । जबकी, अघिल्लो आवमा जम्मा २९ प्रतिशतमात्रै बचतपत्र बिकेको थियो ।

‘गत आर्थिक वर्ष बैदेशिक रोजगार बचतपत्र हालसम्मकै सबैभन्दा बढी बिक्री भएको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने- ‘हामीले निष्काशन विधिलाई केही सरलीकरण गरेपछि बिक्री बढेको हो ।’

राष्ट्र बैंकले वर्षभरीमा ३ पटक बचतपत्र निष्काशन गरेको थियो । केन्दि्रय बैंकले चैत २९, बैशाख २९ र असार २४ गते वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार २५ करोडका दरले दुईपटक मात्रै जारी गर्ने सरकारी लक्ष्य भएपनि दुई पटकमा नबिकेपछि नबिकेको रकम तेस्रो पटक बिक्रीका लागि खुल्ला गरिएको थियो ।

चैत २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ८ करोड २० लाखको बिक्री भएको र बैश्ााख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोडको मात्रै बिक्री भएको थियो ।

‘बिक्री नभएपनि हामीले तेस्रोपटक पनि बचतपत्र निष्काशन गर्‍यौं,’ श्रेष्ठले भने- ‘तेस्रोपटकसहित गर्दा कूल २७ करोड करोड ५ लाख १५ हजारको बचतपत्र बिक्री भएको हो ।’

बैदेशिक रोजगारीमा रहेका र बैदेशिक रोजगारीबाट स्वदेश फर्किएको ४ महिना ननाघेकाहरुले आफ्नो र आफ्नो परिवारको नाममा यो बचतपत्र किन्न पाउने छन् । यो बचतपत्रमा राष्ट्र बैंकले ९ प्रतिशत व्याज दिने घोषणा गरेको छ । अहिले बैंकहरुले मुद्दति निक्षेपमा पनि ४/५ प्रतिशतमात्रै व्याज दिइरकेको अवस्थामा यो बचतपत्र नै सबैभन्दा धेरै प्रतिफल भएकाले यो लगानीको उपयुक्त स्किम हो ।

विदेशमा बस्ने नेपाली कामदारहरुले परिवारमा पैसा पठाउँदा अधिकांस रकम उपभोगमा सकिइरहेका अवस्थामा सरकारले कामदारको पैसा बचत होस् भनेर यस्तो स्किम ल्याएको श्रेष्ठ बताउँछन् । यसरी उठाएको रकम सरकारले विकास निर्माणका काममा गर्ख गर्ने हुँदा कामदार र सरकार दुवैलाई त फाइदा हुने उनको तर्क छ ।

‘सरकार ग्यारेन्टी भएको बचतपत्र भएकाले यसमा गरिएको लगानी डब्ने संभावना नरहने भएकाले वैदेशिक यसमा गरिएको लगानी सबैभन्दा सुरक्षित छ,’ उनले भने- ‘प्रतिफल पनि उच्च छ ।’

पहिलेपहिले वर्षका एकपट त्यो पनि असार मसान्तमा मात्रै बचतपत्र निष्काशन गरिने भएकाले आशाअनुरुप बिक्री हुन नसकेकेा श्रेष्ठको भनाई छ । त्यसैले गत वर्ष भने ३ पटक निष्काशन गरिएको र त्यो प्रभावकारी भएको उनले बताए ।

कुन वर्ष कति विक्यो ?

सरकारले २०६७ सालदेखि पहिलोपटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न थालेको हो । ०६७ असार ३२ गते पहिलोपटक ९.९५ प्रतिशत व्याज दिनेगरी १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन हुँदा जम्मा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । जुन कुल निष्काशनमा बिक्रीको हिस्सा ०.४० प्रतिशत मात्रै हुन आउँछ ।

त्यसपछि ०६८ असार १२ गते ५ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्दा ०.०७ प्रतिशत ३३ लाख ८० हजार रुपैयाँको मात्रै बिक्री भयो । जसमा बचतपत्र खरिदकर्ताले १०.५० प्रतिशत व्याज पाउँथे ।

त्यसैगरी, ०६९ असार २८ गते १ अर्बको बचतपत्र निष्काशन गर्दा ०.८७ प्रतिशत अर्थात् ८६ लाख ६० हजार रुपैयाँको बचतपत्र बिक्री भएको थियो । जसमा १० प्रतिशत व्याजदर थियो ।

लगातार तीन वर्ष कूल निष्काशनको एक प्रतिशत पनि बक्री भएन । तर, चौथो वर्षदेखि भने यो बचतपत्रको बिक्री बढ्दो अवस्थामा छ । ०७० असार ३० गते निष्काशन भएको १ अर्बको बचतपत्रमध्ये ४.२९ प्रतिशत अर्थात् ४ करोड २८ लाख रुपैयाँको बचतपत्र बिक्री भएको थियो । जसमा पनि १०.५० प्रतिशत व्याज थियो ।

०७० सालमा राष्ट्र बैंकले ३ पटक बचतपत्र निष्काशन गर्‍यो । ०७० पुसमा २५ करोडको निष्काशन गर्दा १०.५६ प्रतिशत अर्थात् २ करोड ६४ लाख रुपैयाँको बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, सोही वर्ष चैत ३० गते निष्काशन गरिएको २५ करोडको बचतपत्र २० प्रतिशत अर्थात ५ करोडको बिक्री भएको थियो । ०७१ सालमा भने बचतपत्र निष्काशन नै गरिएन ।

त्यसैगरी ०७२ असार २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ३३.४९ प्रतिशत अर्थात् ८ करोड ३७ लाख रुपैयाँ बिक्री भएको थियो । ०७३ बैशाख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोड र ०७३ असार ३० गते ३३ करोडको बचतपत्र निष्काशन गर्दा ११ करोडको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment