Comments Add Comment

राजीनामा दिन तयार छन् त प्रधानमन्त्री ओली ?

केही समय 'सहमतीय प्रधानमन्त्री' बन्ने इच्छा

Kp oli
६ साउन, काठमाडौं । प्रधानमन्त्री ओलीको राजीनामासहित प्याकेजमा सहमति गर्ने रामचन्द्र पौडेलको प्रस्तावलाई नेकपा एमालेले सकारात्मक भनेको छ । मानिसहरुमा चासो यो छ कि ओलीको राजीनामासँग जोडिएको पौडेलको प्रस्तावमा एमाले नेताहरु किन ‘सकारात्मक’ देखिएका होलान् ?

कांग्रेस नेता पौडेलको प्रस्तावको अर्थ बजेटसँग सम्वन्धित विधेयक पास गर्ने मात्र होइन, अविश्वासको प्रस्ताव फिर्ता गराउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउने हो ।

बिहीबार शीर्षनेताहरुको छलफलमा पौडेलले यस्तो प्रस्ताव ल्याएका हुन् । पौडेलको प्रस्तावमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गर्छु भनेका छन् । लगत्तै उनले ‘तत्काल नै राजीनामा दिनुपर्ने हो भने त अविश्वासको प्रस्ताव नै पास गरे भै’गो’ समेत भनेको एक नेताले जानकारी दिए ।

यसअघि कांग्रेस र माओवादी नेताहरुले अविश्वासको प्रस्ताव दर्तापछि ओलीलाई राजीनामा गर्न नसुझाएका होइनन् । तर, उनले संसदको सामना गर्छु, तर राजीनामा दिन्न भन्दै भित्री बैठकहरुमा र सार्वजनिक मञ्चबाटै च्यालेञ्ज गरेका थिए । दलहरुको बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री ओली केही लचिलो भएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि पौडेलको प्रस्ताव सकारात्मक भएकाले नै छलफलका लागि आफूहरु तयार भएको बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘उहाँको प्रस्ताव सकारात्मक भएकाले छलफलको आधार बन्न सक्छ ।’

यसको विकल्प बजेट आश्रित विधेयक पास गरेर अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भएको नेम्वाङले बताए । यस बाहेक अन्य विकल्पमा जान नसकिने उनले बताए ।

यसअघि कांग्रेस र माओवादी नेताहरुले अविश्वासको प्रस्ताव दर्तापछि ओलीलाई राजीनामा गर्न नसुझाएका होइनन् । तर, उनले संसदको सामना गर्छु, तर राजीनामा दिन्न भन्दै बैठकहरुमा र सार्वजनिक मञ्चहरुबाटै च्यालेन्ज गरेका थिए ।

गलेकै हुन् त ओली ?

माओवादीका एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री केपी ओली र एमाले नेताहरुले संसदमा विश्वासको मत लिन सकिन्छ कि भनेर प्रयास नगरेका होइनन् । त्यसका लागि कांग्रेस र माओवादीभित्र खेल्ने प्रयास ओलीले गरेका थिए ।

कहिले रामचन्द्र पौडेल त कहिले शेरबहादुर देउवालाई ‘माओवादीलाई किन प्रधानमन्त्री दिनुहुन्छ ? एमालेको समर्थनमा तपाई नै प्रधानमन्त्री बन्नुस्’ भन्ने प्रस्ताव राखेका थिए । तर, पौडेल र देउवा दुबैले त्यो प्रस्ताव अस्वीकार गरे ।

स्रोतहरुका अनुसार ओलीले बुधबार साँझ देउवा र प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिनुस्, म केही समयपछि राजीनामा दिन्छु भन्ने प्रस्ताव राखेका थिए । तर, त्यसमा पनि सहमति जुटेन । एक नेताले भने, ‘ओलीले अविश्वासको प्रस्ताव फेल गराउन सकिन्छ कि भनेर प्रयास नगरेका होइनन् । तर, अहिले केही गलेका छन् ।’

तर, ओली अझै राजीनामा दिन तयार भइसकेका छैनन् । बिहीबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र ओलीले राजीनामा दिने प्रस्ताव राखे पनि ओलीले यसलाई मानेका छैनन् । यसबारे पार्टीमा छलफल गर्छु भनेका छन् ।

बैठकमा सहभागी स्रोत भन्छ, ‘कांग्रेस र माओवादी यसमा सकारात्मक छ । तर, ओलीले त्यसो हो भने त अविश्वासको प्रस्ताव पास गरे भइहाल्यो नि त भन्ने जवाफ दिएका छन् ।’

सहमति भएको २४ घन्टाभित्र राजीनामा देऊ नभन्न भन्दै ओलीले केही समय सहमतीय सरकारको नेतृत्व गर्ने इच्छासमेत देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment