Comments Add Comment

बैंकमा निक्षेप राख्दै हुनुहुन्छ ? पख्नोस्, व्याजदर बढ्दैछ

के हो व्याजदर करिडोर ? यसले जनतालाई के फाइदा हुन्छ ?

bank (1)७ साउन, काठमाडौं । के तपाई आफुले दुख गरेर कमाएको पैसा तत्कालै बैंकमा मुद्दति निक्षेप राखेर व्याज खाएर बस्ने तयारी गर्दै हुनुहुन्छ ? त्यसोभए केही महिना पर्खिनुहोस् । किनभने बैंकहरुले निक्षेपमा दिने व्याजदर बढाउँदैछन् ।

अहिले तपाईले बैंकमा मुद्दति निक्षेप राख्न जानुभयो भने बढीमा साढे ४ देखि साढे ५ प्रतिशतसम्म पाउनुहुन्छ । तर, केही महिना पर्खिनुभयो भने यो दर ७ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

त्यसो त अहिले नै बैंकहरुले व्याजदर बढाउन थालिसकेका छन् । ‘महिना दिनजति भयो हामीले व्याजदर बढाउन थालेका छौं,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने- ‘राष्ट्र बैंकले तरलताको सही व्यवस्थापन गर्‍यो भने व्याजदर बढ्छ ।’

नेपाल राष्ट्र बैंकले व्याजदरलाई स्थिर राख्न र मुल्यवृद्धिभन्दा बढी व्याजदर पुर्‍याउने उद्देश्यले नयाँ मौद्रिक नीतिमार्फत व्याजदर करिडोर लागु गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरण जारी गरी तरलताको व्यवस्थापन गर्ने राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई बताए ।

व्याजदर करिडोर कार्यान्वयनमा आएपछि बैंकहरुले निक्षेपमा दिने व्याजदर बढाउन दबाब पर्ने श्रेष्ठको भनाई छ । ‘व्याजदर करिडोर कार्यान्वयन ल्याउनुको अर्थ व्याजदरलाई स्थिरता कायम गर्दै दीर्घकालीन निक्षेप (एक वर्षभन्दा बढीको मुद्दति निक्षेप) को व्याजदर मुल्यवृद्धिभन्दा बढी पुर्‍याउनु हो,’ उनले भने ।

राष्ट्र बैंकका अनुसार गत जेठ महिनाको मुल्यवृद्धिदर ११ प्रतिशत छ भने सोही महिना बैंकहरुले निक्षेपमा दिने औषत व्याजदर ३ प्रतिशत छ । यस्तो अवस्थामा निक्षेपकर्ताहरुले बैंकमा निक्षेप राख्दा ८ प्रतिशत घाटा व्यहोर्दै आएका छन् ।

निक्षेपको व्याजदरभन्दा मुल्यवृद्धि बढी भएकाले राष्ट्र बैंक चन्तित भएको भन्दै चालू आवभित्रै व्याजदरलाई मुल्यवृद्धिको हाराहारीमा पुर्‍याउने केन्द्रिय बैंकको सोच कार्यकारी निर्देशक श्रेष्ठले सुनाए ।

‘हामी चाहन्छौं, यो आर्थिक वर्षमै मुल्यवृद्धिको हाराहारीमा व्याजदर पुगोस्, नियामकको दाबाब त्यसतर्फ नै रहन्छ’ उनले भने- ‘तर, खुल्ला बजार नीति भएकाले हामीले हस्तक्षेप गर्न मिल्दैन । बजारले सहयोग गर्‍यो भने उद्देश्यप्राप्तिमा कठिनाइ छैन ।’

यद्यपि आगामी पुस मसान्तसम्ममा अहिलेको भन्दा व्याजदर धेरै माथि जाने संभावना रहेको श्रेष्ठको भनाई छ ।

के हो व्याजदर करिडोर ?

करिडोरको अर्थ बाटो हो । जसअनुसार व्याजदर करिडोरको अर्थ व्याजदर हिँड्ने बाटो भनेर बुझ्नुपर्छ । यसअर्थमा व्याजको न्यूनतम र अधिकतम दरको सीमा व्याजदर करिडोर हो ।

‘करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ,’ श्रेष्ठले भने- ‘व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा स्थायीत्व हुन्छ र त्यसले अर्थतन्त्रमा बहुआयामिक सकरात्मक प्रभाव पार्छ ।’

अहिले बैंकहरुले राष्ट्रबैंकमा पैसा राख्दा औसतमा २ प्रतिशत व्याज पाउँछन् भने राष्ट्र बैंकबाट लिँदा ७ प्रतिशत व्याज तिर्नुपर्छ । राष्ट्र बैंकले यसरी बैंकहरुलाई उपलब्ध गराउने रकमलाई स्थायी तरलता सुविधा (एसएलएफ) हो ।

ब्याजदर करिडोर कार्यान्वयनको लागि राष्ट्र बैंकले बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोवारको दुई अगाडिको ब्याजदरमा ०.१० प्रतिशतले घटाएर दुई साताको निक्षेप बोलकवोलको ब्याजदर निर्धारण गर्ने श्रेष्ठले बताए । बैंकहरुबीच दुई दिन अगाडि २ प्रतिशतमा अन्तर बैंक कारोवार भएको थियो यसमा ०.१० प्रतिशत घटाउदा १.९ प्रतिशत हुन्छ । यो ब्याजदर करिडोरमा न्यूनतम सीमा हो । करिडोर लागू भएपछि अहिलेको अवस्थामा व्याजदर २ प्रतिशतभन्दा तल र ७ प्रतिशतभन्दा माथि जाँदैन भन्ने ग्यारेन्टी हुन्छ ।

राष्ट्र बैंकले करिडोर कार्यान्वयनमा आएपछि बैंकहरुमा भएको अधिक तरलता खिच्नको लागि जारी गर्ने निक्षेपक बोलकबोलमा ब्याजदर निर्धारण अहिलेको अवस्थामा १.९ प्रतिशतभन्दा कम गर्ने छैन । अहिले बैंकहरुले राष्ट्र बैंकमा निक्षेप राख्दा पाउने ब्याजदर १ प्रतिशतभन्दा कम छ । करिडोर कार्यान्वयनमा आएपछि यो बढ्ने विश्लेषण गरिएको छ । श्रेष्ठकाअनुसार जब राष्ट्र बैंकले बैंकहरुलाई बढी व्याज दिन्छ, तब उनीहरुले सर्वसाधारणको निक्षेपको व्याज पनि बाध्य भएर बढाउनुपर्ने हुन्छ ।

करिडोरले जनतालाई के फाइदा गर्छ ?

निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् । तर, ऋणीले सँधै न्यून व्याज खोज्छन् । त्यसैले व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले नीति अबलम्बन गर्नुपर्छ । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् ।

यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ, जो हामीले विगतदेखि भोग्दै आएका छौं,’ उनले भने- ‘करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्छ ।’

बैंकरद्धारा स्वागत

त्यसो त, व्याजदर करिडोर मौद्रिक नीतिको सबैभन्दा राम्रो पक्ष भनेर बैंकरहरुले प्रतिक्रिया पनि दिइसकेका छन् । ‘यो मौद्रिक नीतिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको व्याजदर करिडोर हो,’ बैंकस संघका पूर्वअध्यक्षसमेत रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले प्रतिक्रिया दिए- ‘गभर्नरले आँट गरेरै व्याजदर करिडोर ल्याउनुभएको छ ।’

यसअघि कार्यान्वयन नै भएन

तत्कालीन गभर्नर डा. युवराज खतिवडाले पहिलोपटक आर्थिक वर्ष २०६९/७० मा ब्याजदर करिडोरको अवधारणा सार्वजनिक गरेका थिए । तर, मौद्रिक उपकरण नहुँदा घोषणमा मात्र सिमित भएको थियो ।

तर, अहिलेका गभर्नर डा. चिरञ्जीबी नेपालले भने कार्यान्वयनमा ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अहिले सरकारी ऋणपत्र नभएपनि राष्ट्रबैंकले तरलता व्यवस्थापनको लागि निक्षेप बोलकबोल तथा राष्ट्रबैंक ऋणपत्र जारी गरेर तरलतालाई नियन्त्रणमा लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment