Comments Add Comment

सुवास नेम्वाङको प्रश्नः नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ?

Subas-Nemwang

७ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अविश्वासको प्रस्तावलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम साह्रै नकारात्मक नहोस् भनेर सचेततापूर्वक लागौं

ओली प्रधानमन्त्री हुँदा देशमा नाकाबन्दी रहेको भन्दै उनले भने, ‘अहिले नाकाबन्दी हट्यो । नाकाबन्दीको देश केपी ओलीलाई सुम्पने स्वयम् त्यो नाकाबन्दीलाई भूमिका खेल्ने पक्षसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ । नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’

प्रचण्ड ओली सरकारको सञ्चालनसम्वन्धी राजनीतिक संयन्त्रको संयोजक रहेको भन्दै उनले माओवादी अध्यक्ष प्रचण्डले कतै आफ्नैविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको त होइनन् भनेर प्रश्न गरेका छन् । उनले भने, ‘अचम्मको कुरा त के छ भन्दा सरकार चलाउन निर्देशन ठीक ढंगले सञ्चालन गरेन । तर, राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’

राजनीतिक संयन्त्रले सरकारले गलत काम गर्दा सच्याउन के-के निर्देशन दियो भन्दै उनले अघि भने, ‘आफ्नोविरुद्ध आफैंले अविश्वास राखेको जस्तो भो ।’

पूर्व सभामुख समेत रहेका एमाले नेता नेम्वाङले अघि भने, ‘कसको विरुद्धमा ल्याएको ? शान्ति सुरक्षा कायम भएन भनिएको छ । सरकारमा संयुक्तरुपमा काम गर्ने र भोलिपल्ट प्रश्न उठाएर सरकारमाथि विश्वास छैन भन्ने के यो ठीक हो ?’

सकिन्छ भने यसलाई सच्याऔं

उनले अविश्वासको प्रस्ताव स्वाभाविक प्रक्रिया भएको बताए । तर, संविधान कार्यान्वयनका लागि एकजुट भएर अघि बढ्ने दलहरुको प्रतिवद्धतालाई अघि राखेर हेर्दा दुर्भाग्यपूर्ण भएको उनले बताए । उनले भने, ‘खुसी मानौ कि दुःखी हुँ थाहा छैन । नेताहरु हासिरहेकै देख्दा खुसी हुनु पर्ने हो कि ?’

अविश्वासको प्रस्तावकले यो राष्ट्रिय एकता र सहमतिका लागि भएको भनेको भन्दै उनले व्यंग्यात्मक रुपमा भने, ‘म त ढिलो बुझ्ने मान्छे । तर, यो एकता प्राप्त गर्ने कस्तो अभूतपूर्व प्रक्रिया हो ?’

संविधान जारी गर्ने बेलामा नै आफूले अर्को चुनौती सुरु भएको र जस्तोसुकै राम्रो संविधान आएपनि बुद्धि र विवेक दिँदैन भनेको स्मरण गर्दै उनले भने, ‘यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम साह्रै नकारात्मक नहोस् भनेर सचेततापूर्वक लागौं ।’

अविश्वासको प्रस्ताव दुर्भाग्यपूर्ण

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव नआउँदा उपयुक्त बाटोको विचार गरिरहेको र २९ गते बजेटसँग सम्वन्धित आश्रित विधेयकहरु पाएपछि ३० गते राजीनामाको बारेमा सल्लाह गरिरहेको भनेको भन्दै उनले राजीनामा दिएपछि नयाँ सरकार के हुन्छ भन्नेबारे संविधान विदहरुले व्याख्या गर्ने बताएको सुनाए ।

उनले संविधानमा नयाँ सरकार गठनबारे संवैधानिक जटिलता रहेको बताए । यो जानजानी राखेको भन्दै संविधानसभा पूर्वअध्यक्ष समेत रहेका नेम्वाङले भने, ‘संविधान जारी भएपछि अर्को संसदको चुनाव नहुँदासम्म दलहरु सरकार परिवर्तन होइन, संविधान कार्यान्वयनको दिशामा लागुन् गरेर व्यवस्था गरिएको हो ।’

संविधान कार्यान्वयनमा लाग्नु पर्नेमा त्यसो नभएको र दलहरुबीच तिक्तता बढेको भन्दै उनले भने, ‘हामी जे गरिरहेका छौं, यी सबै कुराले राष्ट्रिय एकताको भावनालाई उत्प्रेरित गर्छ त ? यो ठीक भएन ।’ प्रधानमन्त्रीले जे काम गरिरहेका छन्, त्यस आधारमा अविश्वासको प्रस्ताव दुर्भाग्यपूर्ण भएको उनले बताए ।

अविश्वासको प्रस्ताव प्रस्तुतकर्ताले शान्ति प्रक्रियाको प्रश्न उठाएको भन्दै उनले यसमा अहिलेसम्मकै धेरै काम भएको बताए । यो असार २८ गतेसम्म अविश्वासको प्रस्ताव प्रस्तुतकर्ताको पनि जिम्मेवारी होइन भन्दै उनले अघि भने, ‘शान्ति प्रक्रियाका महत्वपूर्ण काम सम्पन्न भएको छ र आधार भएको छ । कानुनमन्त्री जुत्ता यति खिइयो भनेर देखाउँदै हुनुहुन्थ्यो । राष्ट्रसंघदेखि सबैसँग कुरा भएर टुंगोमा पुर्‍याउने डकुमेन्ट तयार भएको छ । निष्कर्षमा पुर्‍याउन मात्र बाँकी छ ।’

अविश्वासको प्रस्तावले संविधान बनेकोमा खुसी मान्नेहरु, सरकारले नीति तथा कार्यक्रम ल्याएपछि खुसी मान्नेहरु दुखित रहेको उनले बताए । उनले भने, ‘संविधान कार्यान्वयनमा अप्ठ्यारोमा त पर्ने होइन भनेर जनता चिन्तित छन् । यो अविश्वास ल्याउँदा यसतर्फ ध्यान पुर्‍यायौं कि पुर्‍याएनौं ?’

एमाले संसदीय दलका उपनेता नेम्वाङले हिजो संविधान अपुरो छ भन्नेहरु अविश्वासको प्रस्ताव गरेको भन्दै उनले संविधानलाई सर्वस्वीकार्य बनाएको भन्दै प्रस्तावकर्तालाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment