Comments Add Comment

भूकम्पमा छोरी गुमाउँदा पनि नेपाल मोह राख्ने स्पेनिस जोडी

Mariya and jordi (rosheb Parents)

हो, म एक्लै छु, तर, मेरो साथ दिने

मसँगै सिङ्गै, अँध्यारो रात छ,

झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु

त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

हो, म एक्लै छु………

आकाशको बादल नबर्स व्यर्थै

मेरो आफ्नै आँखामा बर्षात् छ ।

चटयाङ् सित्तैमा नझर तिमी

मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु……….

मलाई दयाले नहेर बाबु सा’बहरू

तिम्रोभन्दा मेरो क्या ठाँट छ ।

बाँचून्जेल आकाशको नीलो छानो छ,

मरेपछि आर्यको घाट छ ।

हो, म एक्लै छु, तर मेरो साथ दिने

सिङ्गै अँध्यारो रात छ ।

भूपि शेरचनका यी हरफहरुसँगै आज यो पङतिकारका आँखाहरु रसाएका छन् ।  “आकाशको बादल नबर्स व्यर्थै मेरो आफ्नै आँखामा बर्षात् छ । चटयाङ् सित्तैमा नझर तिमी मेरै मुटुभरि बज्राघात छ ।” भूपिका यी हरफले त मन झनै चसक्क चसक्क पारिदिएको छ ।

६२ वर्षिय स्पेनिस महिला मारिया टेनेताका आँखाहरु त झन् यसरी रसाए,लाग्दथ्यो ठूलै बर्षात् छ। धेरै पटक चश्मा निकालेर आँशु पुछिन् । उनलाई सम्हालिन गाह्रो भएको थियो। आकाशको बादल नबर्सदै उनका आँखामा ठूलो बर्षात् थियो ।

कारण  त्यहिँ “ बैशाख १२”  उनको मनलाई अझै पनि विक्षिप्त पारिरहेको छ। लाङ्टाङ् घुम्न गएकी उनकी ३७ वर्षिय छोरी रोसेब पलाउ नेपालमा बिनाशकारी भूकम्पमा  ज्यान गुमाईन् । उनकै याद र सम्झनामा एउटी ममतामयी आमाको आँखामा बर्षात् रोकिएको छैन ।  उनी आज पनि त्यत्तिकै भक्कानिएर रोएकी छिन् भाबबिहोल बनेकी छिन् ।  लाङ्टाङ् घुम्न जाँदा भूकम्पमा ज्यान गुमाएकी स्पेनिस चेली रोसेब अबिबाहित थिईन् ।

२३ बर्षको उमेर हुँदा उनकी एक्ली सन्तान रोसेब अध्ययनका लागि लण्डन पुगेकी रहिछिन्। ६ बर्षमा अध्ययन सकाए पछि अग्रेजी,स्पेनिस भाषाको शिक्षिकाको रुपमा पनि काम गरिन् ।  रोसेबमा अलि फरक विचार थियो। बिशेष गरी कुलतमा लागेका वा फसेका युबाहरुलाई त्यहाँबाट बाहिर ल्याउँन उनि सामाजिक भावले काम गर्थिन्।

नेपाल घुम्न जानु अघि रोसेब केहिँ महिना थाईल्याण्डमा बसेकी रहिछन् । त्यहिँ बाट नै घुम्नका लागि नेपाल पुगिन्। लाङ्टाङ्मा पुग्दा बिनाशकारी भूकम्प गयो। त्यसपछि उनि स्पेन कहिल्यै फर्किनन् ।  तर आमाछोरीको मिलन मे ६ तारिख स्पेनमा नै भयो। काठको बाकसमा आएकी छोरी कहिल्यै नबोल्ने गरी फर्केकी थिईन् ।  मारियाले धेरै पटक बोलाईन् तर रोसेबले सुनिनन्।

Rosheb 37 yrs ladyलाङटाङ डिजास्टर रिलिफ फण्ड लेखिएको स्टलमा बसेकी मारियासँग कुराकानी हुँदा उनले बिस्तारमा सबै  कुरा खोलेकी हुन् । जुलाईको पहिलो साता स्पेनको बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा नेपाल प्रवद्वन बिशेष कार्यक्रम भईरहँदा उनीसँग भेट भयो ।

मलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एक राज गिरीले भेट गराईदिएका हुन् । लाङ्टाङ्लाई सहयोग जुटाउँन होस् वा नेपाल प्रतिको मायाले होस् कार्यक्रममा उनको सहभागिता देखियो। यसअघि नेपालका लागि गरिएका थुप्रै कार्यक्रमहरुमा पनि उनको सहभागिता रहेको थाहा पाएँ।

मन मनै सोच्न थाले, नेपालमा आफ्नी छोरी गुमाईन् , अझै पनि नेपाल प्रतिको यति धेरै माया किन ?  नेपाली समाजको प्रतिनिधित्व गर्दै सोच्ने हो भने त हामीले कतै आफ्नो आँफन्त वा परिबारलाई गुमाएका छौ भने साहेद त्यता तिर फर्केर पनि सोच्न चाहादैनौ । तर उनि त “नेपाल घुम्नलाई सुरक्षित छ” भन्ने अभियानमा छोरी गुमाउँनुको पीडा बोकेरै भए पनि सहभागि बनिरहेकी छन् । आखिर उनको मनमा के रहेछ नेपाल प्रतिको धाराणा ?  मैले सोधी हाले।

पटक पटक उनको आँखामा देखिएको बर्षाद भने कत्ति पनि रोक्किएन। फेरि चश्मा निकालिन् र आँशु पुछिन्। मेरो नजिकै रहेका गैर आबासीय नेपाली संघका निबर्तमान आईसीसी सदस्य दीपक खरेलले हातले थपथमाउँदै उनलाई सम्झाएँ। मलाई लाग्यो खरेलले पनि आफ्नो आँखाको कालो चश्मा निकाले र आँशु पुछे।

मारियाको उत्तरले झनै भाबुक बनायो। “यो त एउटा प्राकृतिक प्रकोप थियो नेपालको के नै दोष छ र ? त्यो त संसारको कुनै पनि देशमा हुन सक्छ। मैले जस्तै हजारौले आफ्ना सन्तान गुमाएका छन्। कोहिँ घाईते होलान्।

म ६२ बर्षकी भएँ अर्को बर्ष तिर मलाई पनि नेपाल पुग्ने धोको छ। एक महिना नै  किन न लागोस् एक पटक म लाङ्टाङ् पुग्छु। जहाँ मेरी छोरीको मन लोभिएर पाईला परेको थियो

टेलिभिजनको दृश्य हेर्दा हजारौ सडकमा देखिएका थिए ,सबैलाई आ -आफ्नै पिडा भएकै होला। संसारको एउटा सुन्दर देश नेपाल हो,थुप्रै हेर्न लायक हिमालहरु छन् ,सुन्दर ठाउँहरु छन् बिश्वका नौजवानहरुको मन तानिरहेको छ त्यसैले त मेरी छोरी पनि पुगीन्।तर दुर्भाग्य बश भूकम्पका कारण ज्यान गुमाउँनु पर्यो। यसमा कसैको दोष छैन।

आज म ६२ बर्षकी भएँ अर्को बर्ष तिर मलाई पनि नेपाल पुग्ने धोको छ। एक महिना नै  किन न लागोस् एक पटक म लाङ्टाङ् पुग्छु। जहाँ मेरी छोरीको मन लोभिएर पाईला परेको थियो ,यही ठाउँमा एक पटक पुग्ने मन छ।  मेरी छोरीले हेरेको नेपाललाई म पनि आफ्नै आँखाले हेर्न चाहान्छु।”

यसै क्रममा रोसेवका ७० बर्षिय  पिता जोर्दी पलाउ पनि टुप्लुक्क छेउमैआईपुगे। छोरी गुमाउँनुको पिडा एउटा पितालाई सोध्नुको कुनै अर्थ थिएन। उनको हाउभाउ र चेहेरा आँफै बोलिरहेको थियो।त्यसैले मैले उनलाई धेरै प्रश्न गरिन।  एउटा बितेको घटनाको पछि लागेर पटक पटक आँफैलाई रुवाउँनु भन्दा सम्हालेर अघि बढ्नु पर्ने जोर्दीको भावाना थियो। मारियालाई पनि उनले त्यही भनेर हाम्रै अगाडी सम्झाएँ। नेपाल प्रति उनलाई पनि त्यत्तिकै माया रहेछ।

basanta Ranabhat
वसन्त रानाभाट

मैले जुलाई दोस्रो सातामा हुने अर्को कार्यक्रमको लागि पनि यो जोडीलाई निम्तो दिए। एउटा डायरी निकालेर जोर्दीले कार्यक्रको जानकारी लिए। जुलाई ११ मा उनि  समयमा नै आई पुगे। नेपाली गीत, संगीत नृत्यहरु हेरे।अझ बिशेष त “नेपाल घुम्नलाई सुरक्षित छ” भनेर देखाईएको भिडियोलाई पनि गहन रुपमा हेरे।मारियले भने समय अभावले पहिले नै आउँन नसक्ने जानकारी गराएकी थिईन्।

आफ्नो सन्तानलाई गुमाउँदा पनि नेपाल प्रतिको मायाले लिप्त छ यो जोडी। सन्तानको यादमा रातदिन भौतारिदा पनि नेपाल भनेर सुन्ने बित्तिकै एउटा छुट्टै उल्लास देखिन्छ यो जोडीमा। सम्भवत:  देशका लागि  यति धेरै माया,सद्भाब र प्रेम दिन हामी चुकेका हौला। तर देश प्रेमी नै हौ भने पनि हाम्रा भन्दा कम “नेपाल प्रेम” भेटिदैन यो जोडीमा। सारा नेपालीको तर्फबाट  सलाम छ मारिया ! सलाम छ जोर्दी ! नेपाल मोह सदैब रहीरहोस्। सबैको  यस्तै माया र सद्भाव  पाउँन सके हामी एक दिन अबश्य उठ्ने छौ।

… तर पनि ति ममतामयी आमाको आँखामा देखिएको आँशु देख्दा भूपिका यी हरफ उनकै लागि नै हुन् जस्तो लागिरह्यो।

आकाशको बादल नबर्स व्यर्थै

मेरो आफ्नै आँखामा बर्षात् छ ।

चटयाङ् सित्तैमा नझर तिमी

मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु……….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment