Comments Add Comment

व्यवस्थापिका संसदमा रोमाञ्चक बहसका क्षण !

प्रचण्डको एक घण्टा, सुवास नेम्वाङको आधा घण्टा !

Parliament-Meeting८ साउन, काठमाडौं । विद्यालयमा भए यसलाई वादविवाद प्रतियोगिता भनिन्थ्यो, शुक्रबार व्यवस्थापिका संसदमा भएको वादविवादलाई त्यस्तो कुनै ‘प्रतियोगिता’ भन्न मिल्दैन । तर, यो बहसको सौन्दर्य विद्यार्थीहरुको वाकपटुता परीक्षण भन्दा कम रोचक छैन ।

शुक्रबार संसदमा माओवादी नेता कृष्णबहादुर महराले बोलेपछि सुरु भएको घोटपेचले राति सुवास नेम्वाङले बोल्दासम्म संसदभित्र र बाहिर एकतमासको रौनक सिर्जना गरिसकेको थियो । र, आज शनिबार पनि संसद यसै गरी तातिने छ ।

Prachand-in-Parliament-meetingव्यवस्थापिका संसदमा एक घण्टासम्म बोलेका माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीको खोइरो खने । तर, २० मिनेटमात्रै बोल्ने समय पाएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले करिब आधा घण्टामै प्रचण्डलाई गतिलो जवाफ फर्काउन भ्याए । नेम्वाङले संसदमा बोलिनसक्दै सामाजिक सञ्जालमा उनका समर्थक र माओवादीका आलोचकहरु छाइसकेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड वाकपटु नेता मानिन्छन् । उनी आफ्नो मनमा लागेका र भन्न चाहेका कुराहरु दह्रैसँग राख्न सक्ने नेता हुन् । एमालेका उपनेता नेम्वाङ पनि बोल्न र तर्क गर्नमा प्रचण्डभन्दा कम छैनन् ।

प्रचण्डले २४ वर्ष भूमिगत राजनीति गरेकैजति नै अवधि नेम्वाङले वकालती पेशामा बिताएका छन् । यस्ता कैयौं माथापच्चसी र बहसमा नेम्वाङले भाग लिएका छन् । दशकौंको संसदीय अनुभवमा पनि उनले धेरै भोटा फटाएका छन् । त्यसैले उनी संसदमा अब्बल बहसकर्ता बन्न सफल भएका हुन् ।

subash nemwang_1

संसदीय व्यवस्थाको सुन्दरता के हो भने यसले राम्रो भाषण गर्न सक्ने, वादविवाद गर्न सक्ने अनि आफ्ना कुराहरु तर्कसम्मत ढंगले राख्न सक्ने नेता र भाषणवाजहरुको जन्म गराउँछ ।

अविश्वासको प्रस्ताव र आर्थिक विधेयकमाथि छलफल सुरु हुँदा शुक्रबार साँझ व्यवस्थापिका संसदमा यसैगरी क्षमता र योग्यताको प्रतिस्पर्धा चल्यो । यस्तो दृश्य विद्यालय र कलेजका विद्यार्थीहरुका लागि पनि निकै रोचक र ज्ञानवर्धक हुन सक्छ ।

शुक्रबारको बैठकमा माओवादी नेता कृष्णबहादुर महराले आर्थिक विधेयकमाथि आफ्नो पार्टीले समर्थन नगर्ने र सरकारको समर्थन फिर्ता लिइसकेको भन्दै बहसको ‘फायर’ खोले । एमाले नेता एवं अर्थमन्त्री सेता दन्तलहर देखाउँदै हँसिलो रुपमा रोष्टममा चढे र महरालाई गतिलै जवाफ दिए ।

अर्का कांग्रेस नेता डा. मीनेन्द्र रिजाल पनि विद्वान एवं पढेलेेखेका नेता हुन् । उनले राजनीतिको सन्दर्भ फेरिएको बताउँदै राष्ट्रवादको कुरा गर्ने सरकारले वैदेशिक ऋण ल्याएर देश चलाउन लागेको टिप्पणी गरे । तर, अर्थमन्त्री पौडेलले रिजाललाई दह्रैसँग जवाफ दिए । देशभक्तिको कुरा गर्दा किन चित्त दुखेको भन्ने जवाफ पौडेलले  दिए ।

प्रायः राजनीतिका भित्री खेलमा मात्रै बढी सक्रिय हुने तर सार्वजनिक मञ्चमा खासै नजम्ने नेताको परिचय बनाएका विष्णु पौडेल अर्थमन्त्री बनेपछि निकै फेरिएका छन् भन्ने शुक्रबारको उनको प्रस्तुतिले स्पष्ट पारेको महसुस गर्न सकिन्छ ।

Bishnu-and-minendra

संसदमा एमाले नेता पौडेलको प्रस्तुती कृष्णबहादुर महरा, मिनेन्द्र रिजाल र विमलेन्द्र निधीको भन्दा निकै दमदार देखिन्थ्यो ।
संसदमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवाले बोल्ने धेरैले अपेक्षा गरेका थिए, तर बोलेनन् ।  देउवाले विमलेन्द्र निधीलाई बोल्न लगाए । तर, निधी उति साह्रो जम्न सकेनन् ।

संसदमा बोल्ने क्रममा थरुहट नेता गोपाल दहितले वर्तमान संविधानलाई ‘राष्ट्रघाती संविधान’ भने, जसको जवाफमा पछि सुवासचन्द्र नेम्वाङ ‘मेरा कानले के सुन्नुपर्‍यो’ भन्दै दहितको नाम नलिइकन झाँटे ।

शुक्रबार संसदमा नेताहरुले उठाएका विषयवस्तु के-कस्ता थिए भन्ने छु्ट्टै चर्चाको विषय हो । तर, भाषण कला र बहसको सौन्दर्यात्मक पाटोबाट भने संसद बैठक निकै रोमाञ्चक देखियो ।

आज शनिबार पनि ११ बजेदेखि अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ । आज पनि संसदमा बोल्ने नेताहरुले पक्कै पनि रोचक बहस गर्ने छन् । शुक्रबार सुवास नेम्वाङले माओवादी नेता प्रचण्ड र मधेसी नेता उपेन्द्र यादव अनि अशोक राईको नामै लिएर उडाएका छन् । आज पक्कै पनि उनीहरुको जवाफ सुन्न पाइएला । उपेन्द्र यादव पनि ‘टिट फर ट्याट’ जवाफ दिन कम सिपालु छैनन् । त्यस्तै, अशोक राईले पनि सुवास नेम्वाङलाई जवाफ दिन्छन्, दिँदैनन्, हेर्नुछ । एमाले नेताहरुले मधेसी नेतालाई गरेको व्यंग्यको पनि पक्कै जवाफ आउने छ ।

Sherbahadur-Deuba_1

वाकपटुताको हिसाबले एमाले सबैभन्दा सबल पार्टी मानिन्छ । कांग्रेस नेता शेरबहादुर देउवालाई खासै बोल्न आउँछैन । कांग्रेसका गगन थापाहरु नै संसदको रोष्टममा गएनन् भने अरु नेताहरु खासै नजम्लान् कि ? तर, शुक्रबारको बहसमा एमाले नेताहरुले कांग्रेसलाई गाली गरेका छैनन्, उनीहरु सबैको तारो बनेका छन् माओवादी अध्यक्ष प्रचण्ड र मधेसवादी नेताहरु ।

कांग्रेस नेता रामचन्द्र पौडेल अरुभन्दा अपेक्षाकृत रुपमा दमदार बोल्न सक्छन् । तर, उनी आफैं यतिबेला केपी ओलीको नजिकमा रहेकाकारण एमालेलाई उनले खासै जवाफ दिने अनुमान लगाउन सकिँदैन ।

माओवादीमा प्रचण्डपछि कडारुपमा बोल्न सक्ने र एमालेको खरो प्रतिवाद गर्न सक्ने वाकपटु नेता खासै छैनन् । वा संसदीय राजनीतिले माओवादीमा कोही त्यस्ता नेता जन्मेका छन् कि ? सायद आज र भोलिसम्म हुने भनिएको अविश्वासको प्रस्तावमाथिको छलफलबाट यो प्रष्ट हुनेछ ।

Kp-oli

व्यवस्थापिका संसदमा अझै रोचक त त्यसबेला हुनेछ, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिनेछन् ।

व्यवस्थापिका संसदको कार्यसूची अनुसार शुक्रबारबाट शुरु भएको अविश्वासको प्रस्ताव तीन दिनमा अर्थात आइतबारसम्म टुंगो लाग्नेछ । तर, संसदमा बोल्ने नेताहरुको संख्या बढेन भने आजै साँझसम्म पनि टुंगो लाग्न सक्छ । अन्यथा, संसदमा बोल्ने नेताहरुको भीड थपियो र आजको छलफल लम्बियो भने प्रधानमन्त्रीले आइतबार संसदमा बोल्नेछन् र मतदानको प्रक्रिया सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment