Comments Add Comment

लगातारको बर्षाले सप्तरीका आधा दर्जन गाविस डुबानमा

कोशी व्यारेजमा पानीको बहाब बढ्यो

badhi-flood-2
८ साउन, सप्तरी । शुक्रबार साँझदेखिको लगातारको बर्षाले सप्तरीको आधा दर्जन गाविस डुबानमा परेको छ । एक गाविस पूर्ण रुपमा डुबानमा परेको छ ।

लगातारको बर्षासँगै विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले गाविसहरु जलमग्न भएको छ । स्थानीय खाँडो खोलामा आएको बाढीले सकरपुरा गाविस पूर्ण रुपमा डुबानमा परेको छ । वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण घरमा पानी पसेको घट्नास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच सयभन्दा बढी घर पूर्ण रुपमा डुबानमा परेको छ ।

२ देखि ३ फिटसम्म पानी घरमा पस्दा सकरपुराबासीको घरभित्र रहेका सम्पूर्ण सरसामान भिजेको छ भने बस्न, सुत्न र खाना पकाउन समस्या भएको छ । खाना नपाक्दा अधिकांस व्यक्ति भोकभोकै रहेको बताउँदै उनले सकरपुरामा तत्कालै खाजाको व्यवस्था गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

लगातारको बर्षाले सकरपुरा नजिकैको तिलाठी, रम्पुरा मल्हनियाँ, लौनियाँ गाविसमा पनि खाँडो नदीको बाढी पसेको छ । तिलाठी गाविसको वडा नम्बर ८ र ९ का करिब ८० घरमा पानी पसेको छ । रम्पुरा मल्हनियाँ र लौनियाँ गाविसमा पनि खाँडो नदीकै बाढी पसेको र केहि घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।

बषर्ाले सुन्दरी खोलामा आएको बाढीले कंचनरुप नगरपालिकाको बरमझियामा पस्दा १० वटा घर डुबानमा परेको स्थानीय नरेश यादवले जानकारी दिए । उनका अनुसार सुन्दरी खोलाको बाढी पूरा गाउँमा पस्दा आवतजावतमा समस्या भएको छ । घरभित्रका बासिन्दाहरु बाहिर निस्किन पाएका छैनन् ।

स्थानीय खोलामा आएको बाढी मधवापुर गाविस ७ अर्जी टोलमा पस्दा एक दर्जन घरमा पानी पसेको छ । स्थानीय दीपु कर्णले पूरै गाउँमा बाढी पसेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बभनगामाकट्टी गाविसको वडा नम्बर १, २ र ३ मा पनि बाढी पसेको छ । खाँडो खोलामा आएको बाढी यो वडाहरुमा पसेको प्रहरीको भनाई छ ।

यसैबीच भारतले एकपक्षीय रुपमा निर्माण गरेको बाँध भत्केपछि सप्तरीको तिलाठी गाविसका बासिन्दाले केहि राहत पाएका छन् । केहि बर्षअघि सिमावर्ती भारतको कुनौलीमा बाँध बनाएपछि नेपालको तिलाठीका बासिन्दाको घर घरमा पानी पस्दै आएको थियो । भारततर्फको बाँध भत्केपछि भारतको कुनौली पनि डुबानमा परेको छ ।

कोशी नदीमा पानीको बहाब अत्याधिक
लगातारको बषर्ाले कोशी नदीमा पानीको बहाब बढेको छ । शनिबार मध्यान्हको मापन अनुसार दुई लाख २२ हजार क्यूसेक पानीको बहाब रहेको छ । पानीको बहाब बढेसँगै व्यारेजको ५६ ढोकामध्ये २५ वटा ढोका खोलिएको कोशी व्यारेज कन्ट्रोल कक्षले जनाएको छ ।

पानीको बहाब बढे लगत्तै खतराको सूचक रातो बत्ती बालिएको छ । एक लाख क्यूसेक बढेसँगै रातो बत्ती बालिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment