Comments Add Comment

महावीरको घरमा महाविपत्ति

पुस्तक अंश : कहर

Kahar

म स्कुल पढ्दाताक प्रत्येक दिन बुबा भाले पनि नबास्दै उठ्नुहुन्थ्यो । गोठको पालीमा झुन्डिएको फुच्चे रेडियो घन्काएर उहाँ गोबर फ्याँक्ने, कुँडो पकाएर गाईवस्तुलाई खुवाउने र दूध दुहुने काममा लाग्नुहुन्थ्यो । त्यतिबेला समाचार बज्नुभन्दा अगाडि रेडियोमा लामो समय भजन बज्थे । भजन बजेपछि बग्रेल्ती विज्ञापन बज्थे । यस्तो लाग्थ्यो, धेरै विज्ञापन बजेपछि थाहा पाउनुपर्छ, अब समाचार आउँदै छ ।

२०५८/५९  सालताक  चितवनमा  धेरै  एफएम  रेडियो  थिएनन्  र रेडियोमा बज्ने विज्ञापन पनि । एकाध ठूला दोकानका, एकाध बोर्डिङ स्कुलका र केही चाउचाउ, साबुनका विज्ञापन । बस्, तिनै थिए चल्तीका विज्ञापन । सयौं पटक सुन्दासुन्दा ती रस न रहस्यका विज्ञापन सबै कण्ठ भइसक्थे । बेलाबखत भैंसी हराएका, तेह्रौं दिनको पुण्यतिथिमा गहुात ग्रहण गर्न आउनुहोला भन्ने अनुरोधका विज्ञापन भने पृथक् कोटिका हुन्थे ।

मैले क्याम्पसको पढाइ सकिसक्दा पनि बुबाको बिहानी ठ्याक्कै उस्तै छ । पुरानै बिहानको पुनरागमन जस्तो । बुबाको उमेर, अनुहारमा देखा पर्न लागेका चाउरीबाहेक एउटै कुरा फेरिएको छ, रेडियोमा बज्ने विज्ञापनको भाका ।

घर पुगेका बेला एक बिहान ध्यान दिएर सुनेँ रेडियो । (२३ वैशाख २०७२ ।) रेडियोमा भजन बज्ने समय छोटिएछ । तर, विज्ञापन बज्ने समय तन्किएछ । अनि फेरिएछ, पुरानो विज्ञापनको भाका पनि ।

पहिलो विज्ञापन कानमा गुन्जियो :

‘कतार, साउदी अरब र मलेसियाका कम्पनीहरूमा मजदुरहरूको माग भई आएको हुँदा इच्छुक महानुभावहरुले पासपोर्टसहित तुरून्त सम्पर्क गर्नुहोला । सिट सीमित छ ।’

त्यसलगत्तै ‘नारायणगढ बजारको फलानो कन्सल्टेन्सीमा सम्पर्क राख्नुस् ।

सजिलैसँग अस्ट्रेलिया र अमेरिका जाने सपना साकार पार्नुस्’ भन्ने खालका विज्ञापन बजे । पछिल्लो छिमलका विज्ञापनमा केही अङ्ग्रेजी भाषा पनि मिसाइएको थियो । कतार र साउदी अरबवाला विज्ञापन भने शुद्ध र सरल नेपाली भाषामा थियो । राम्रा रेस्टुरेन्ट, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रका विज्ञापन पनि रेडियोमा पालैपालो बजे । तर, सबैभन्दा धेरै भने खाडी देशमा कामदार पुर्‍याउने म्यानपावर एजेन्सीका विज्ञापन नै बजे । यस्तो लाग्यो, केटाकेटी छँदा मैले बाँचेको समय फेरियो । किनभने विज्ञापनहरू फेरिए । मान्छेहरू फेरिए ।

धेरैबेर विज्ञापन बजेपछि समाचार बज्न सुरू भयो । तर, मेरो मनमा भने भाजुनारायण चौधरीले सुनाएको पीरको कथा पो बज्न थाल्यो । मैले गाउँघरमै केही गरी खान्छु भनेर लागेका भाजुलाई ठग्ने अनाम मान्छेहरुलाई सम्झेँ । भाजुका बाका अनगिन्ती सपना र उनैका अहिलेका अप्ठ्याराहरू सबैलाई पालैपालो सम्झेँ ।

०००

अनि  भाजुनारायण  चौधरीले  कम्पनीका  म्यानेजर,  सुपरभाइजर  र

अरु कामदार साथीहरूका अघि भनेँ – “बर्बादै भो, उता गाउँमा मेरी श्रीमती मरिछ ।”

भाजुको कुरा सुनेर कम्पनीका सबैले दुःखमनाउ गरे । चिन्ता भने सबैभन्दा धेरै उनले नै गरेका थिए । तर, पीर गरेर मात्रै केही हुनेवाला थिएन । अब के गर्ने, कसो गर्ने, कसलाई भन्ने, उनले त्यतिबेला केही सोच्न सकिरहेका थिएनन् । उनको दिमाग रन्थनिरहेको थियो । रिङ्गटा लागेर ढल्छु कि झैं भइरहेको थियो ।

यता गाउँमा पञ्चायत बस्यो । गाउँ अर्थात् बारा जिल्लाको डुमरवाना

गाविस । राजघट्ट । थारु टोला ।

यस्तो घटना गाउँमा कहिल्यै भएको थिएन । सुनिएको पनि थिएन ।

घरछेवैको स्कुलमा पञ्चायत बस्यो । गाउँका बुज्रुकहरुका माझमा जुम्सा महावीर चौधरी देखिए । महावीर अर्थात् भाजुनारायणका बाबु ।

नामअनुसारको जिन्दगी हुन्थ्यो भने महावीर सबै गाउँलेका अघि जुम्सो बन्नुपर्ने थिएन । चिन्ता र छटपटीले रन्थनिनुपर्ने थिएन । छोराको भविष्यले भन्दा दुई नातिनातिनाको चिन्ताले उनी गलेका थिए । के गर्ने र के नगर्ने अन्योलले उनी इन्तु न चिन्तु बनेका थिए ।

महावीरको घरको समस्या सल्टाउन बसेको पञ्चायतले समस्याको कुनै

समाधान दिएन । बरू उल्टै भाजु आफैं गाउँमा आएर पञ्चायतमा नबसेसम्म कुनै निर्णय लिन नसकिने निष्कर्ष निकाल्यो ।

०००

महावीरको गाउँ छिर्ने कुनै सुगम बाटो छैन । बाटोले नै गाउँलाई दुर्गम बनाइदिएपछि विकास छिर्ने कुरा भएन । बाटो भनेको वर्षामा आहाल जम्ने, हिउँदमा बेपत्तासँग धूलो उड्ने र छेउकुनाका जग्गावालले मिचेर बाँकी रहेको खण्ड मात्रै हो । त्यही भएर गाउँलेहरू बाटोबाट भन्दा खेतका आलीबाट हिँड्न रूचाउँछन् । यस्तो लाग्छ, उनीहरूलाई न सहर छिर्नेको चटारो छ, न सडक बनाउने हतारो ।

त्यसो त गाउँ पस्ने सडकमा प्रत्येक वर्ष कागजी विकास नभएको होइन । एक-दुई टिपर गिटी बिछ्याएपछि बाटो भइहाल्यो । वर्षामा दुधौरा खोलाले सडक नकाटेको कुनै साल हुँदैन । यसरी बाटो कटान भएपछि सालिन्दा जिविसले कुनै ठेकेदारलाई बाटो बनाउने ठेक्का दिन्थ्यो । फेरि दुई टिपर गिटी झर्थ्यो र गाउँलेले त्यसैलाई विकास ठान्थे ।

साइकल गुड्न पनि मुस्किल हुने भएर के भो र, सिमरा बजार हुँदै राजघट्ट जाने बस त्यही बाटोमा उफ्रिँदै गुडिहाल्छन् । घण्टैपिच्छे छुट्ने त्यस्ता बसका सिटमा यात्रु भने मुस्किलले बस्न पाउँछन् । किनकि अधिकांश समय मान्छे बस्ने सिट सामलतामलको भारीले भरिन्छ र यात्रु भेटेसम्म बसको डन्डी पक्रिएर झुन्डिन्छन्, नभए भुइँमै थचक्क पुट्ठो बिसाउँछन् ।

बस चल्नुअघि गाउँमा सामान लादिएको जिप मात्रै चल्थ्यो । बस सेवा सुरू हुनुलाई गाउँलेले ठूलै विकास भित्रिएको ठानेका छन् । जिपमा कोचिएर, निसासिएर यात्रा गर्नुभन्दा बसमा झुन्डिएर धूलो खाँदै यात्रा गर्नुलाई उनीहरु बढी सुखकर ठान्छन् ।

०००

झलक्क हेर्दा गाउँमा सब ठीकठाक छ । नियाल्दै गएपछि मात्र थाहा हुन्छ, यो गाउँमा कुनै कुरा ठीक ढङ्गले चलेकै छैन । गाउँ छिर्ने प्रत्येक बस मान्छेसँगै अन्याय बोकेर छिर्छ । सिमरा बजारदेखि राजघट्टसम्मको दूरी चार किलोमिटर हो । त्यसका निम्ति प्रत्येक यात्रुले २५ रूपियाँ भाडा तिर्नुपर्छ । यो भाडा सरकारले तोकेभन्दा असाध्यै चर्को भए पनि यस विषयमा गाउँलेहरू कुनै सिकायत गर्दैनन् ।

आफू ठगिएको छु भन्नेसम्म पनि धेरैलाई थाहा छैन । जसलाई थाहा छ, उनीहरु कि त बोल्दैनन्, कि कहाँ गएर उजुरबाजुर गर्ने हो, थाहा नपाएर मौन छन् । प्रत्येक यात्रुसँग खलासी झर्केर भाडा असुल्छ । मानौं कि, बसमा सवारहरु मान्छे नभएर अरु नै कुनै ग्रहबाट झरेका निम्छरा जीव हुन् ।

राजघट्टको दूरवस्था जान्न सडकको हालत र बस सेवाको चर्को शुल्क बुझेर मात्रै हुँदैन । राज्यको उपेक्षा र गाउँलेको विकासमाथिको चिन्तन दुवै बुझ्न जरूरी हुन्छ । बाटोमै पर्ने दुधौरा खोलामाथि ठडिएको पुलको कङ्काल र यसभित्रको अनौठो कथा बुझे धेरै कुरा थाहा पाइन्छ । भलै त्यसलाई गाउँलेहरु कुनै अनौठो घटनाका रुपमा लिँदैनन् ।

पत्रकारिता, साहित्य र अनुसन्धानमा क्रियाशील जनकराज सापकोटाले दोस्रो कृति कहरको अंश को । ‘कहर’ – वैदेशिक रोजगारीले बिथोलिँदो समाज नामक कृतिमा विभिन्न १२ जिल्लाका वैदेशिक रोजगारीका अँध्यारा कथाहरू छन् । जसलाई नौ अध्यायमा समेटिएको छ । वैदेशिक रोजगारीले समाजका विविध पाटोमा पारेको प्रभावमाथि पुस्तक केन्द्रित छ ।

वि रिडले प्रकाशन गरेको यो पुस्तक साउन १५ गतेबाट बजारमा आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment