Comments Add Comment

पूर्वमा अझै तीन दिन वर्षा हुने

badhi_jhapa1 (3)
फाइल फोटो

९ साउन, झापा । पूर्वी जिल्लाहरुमा अझै ३ दिनसम्म मनसुन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सुवास रिमालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार झापासहित पूर्वका केही जिल्लाहरुमा मंगलबार साँझसम्म वर्षा भइरहने छ । त्यसपछि क्रमशः वर्षा कमजोर हुँदै जानेछ ।

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङ्गमा मंगलबार दिउँसोसम्म हल्का र साँझदेखि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै भैरवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा मंगलबार मध्यान्हसम्म वर्षा सक्रिय हुने बताइएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष मनसुन अलि लामो समय सक्रिय हुने मौसमविद्हरुको भनाइ छ ।

कति पानी पर्‍यो ?

पूर्वी जिल्लाहरु झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङ्गसहित भैरवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा केही दिन यता भारी वर्षा भइरहेको छ ।

नदीनालाहरुमा पानीको सतह बढ्दा दजनौं वस्तीहरु डुबानमा छन् । सयौं परिवार विस्थापित भइसकेका छन् ।

केही दिनअघि देखि सक्रिय रहेको मनसुन निष्क्रिय हुन नसक्दा पूर्ण रुपमा जमिन भिजेकाले पानीको सतह धेरै देखिएको जल तथा मौसम बाढी पूर्वानुमान शाखाका जलविज्ञ निराकार थापाले जानकारी दिए ।

शनिबार मापन गरिएको रेकर्ड अनुसार इलामको मैनाचुलीमा ९४.० मिलिलिटर पानी परेको थियो ।  यस्तै, कन्याम टि स्टेटमा २८.०६ मिलिलिटर पानी परेको रेकर्ड बाढी पूर्वानुमान शाखाले दिएको छ ।

ईलाम टि स्टेटमा २३.८ मिलिलिटर पानी पर्‍यो । ‘यो वर्षाको मात्रा थोरै हो’, जलविज्ञ थापाले भने, ‘तर, असर चाहिँ धेरै देखियो ।’

झापामा विस्थापितको सङ्ख्या बढ्यो

विभिन्न नदीनालाहरुमा पानीको बहाव बढ्दा भङ्गालो मानववस्तीमा पसी विस्थापित हुनेहरुको सङ्ख्या झापामा बढिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाए अनुसार शनिबार मात्र कनकाई नदीमा आएको बाढीले कुमरखोदमा १४ परिवार विस्थापित भएका छन् ।

योसँगै झापामा विस्थापित हुनेहरुको सङ्ख्या ९६ पुगेको छ । यसअघि शुक्रबार साँझसम्म अनलाइनखबरलाई प्राप्त रेकर्ड अुनसार झापामा ८२ घर परिवार विस्थापित भएका थिए ।

शनिबार कुमारखोद गाविस-३ र ४ मा कनकाई नदीको भङ्गालो गाउँ पसेर १४ परिवार विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

त्यहाँका विस्थापित परिवारलाई लसुनगञ्जको मदर्शामा राखिएको छ । विस्थापित परिवारका सरसामान तथा पशुचौपाया भने सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment